नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री महेन्द्र यादव ४७ वर्षको राजनीतिक जीवनमा एकपटक पनि जनताबाट निर्वाचित हुन सकेका छैनन्। २०३५ सालमा कांग्रेसबाट राजनीति थालेका यादव समानुपातिक सांसद मात्र होइन, मन्त्रीसमेत बने तर जननिर्वाचित हुने सपना अहिलेसम्म अधुरै छ।
पार्टी राजनीतिमा सफलताको सिँढी चढिरहेका यादवले १ वर्ष बन्दी र ३ महिना भूमिगत जीवन बिताएका थिए। उनी कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदै नेपाल तरुण दलबाट कांग्रेसमा स्थापित नेता हुन्। नेपाल तरुण दलको केन्द्रीय सदस्य, महासचिव, उपाध्यक्ष र अध्यक्ष भएका यादव पार्टीको १२औँ र १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए। १४औँ महाधिवेशनबाट उनी सहमहामन्त्री बन्न सफल भएका थिए।
२०६४ र २०७० सालमा भएका संविधान सभा निर्वाचनमा समानुपातिक सांसद भएका उनी खानेपानी मन्त्रीसमेत बने। पछिल्लो समय पार्टीमा नियमति महाधिवेशनका खरो पक्षधर महेन्द्र यादव विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि टिकट गुम्ने डरमा थिए। तर सभापति थापाले धनुषा ४ को टिकट थमाएपछि उनी ‘यूटर्न’ भएको देखिन्छ। पार्टीमा विशेष महाधिवेशन पक्षधरको मन जित्न महेन्द्र सभापति थापाको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।
पार्टीले सम्भावित प्रधानमन्त्रीको उम्मेदवार बनाएका सभापति थापा सर्लाही-४ मा चुनाव लड्नु मधेसकै सौभाग्य भएको नेपालखबरको इलेक्सन एक्सप्रेस टोलीसँगको संवादमा यादवले बताए। कांग्रेस सभापति थापालाई मधेसले सबैभन्दा बढी विश्वास गरेको उनको भनाइ छ।

निर्वाचन नजिकै आइसक्यो, धनुषा ४ मा कस्तो छ चुनावी तयारी?
वडा र पालिकास्तरमा हाम्रो चुनावी अभियान सुरु भएको छ। मतदाता, कार्यकर्ता, साथीहरूमाझ गइरहेका छौँ। गत निर्वाचनमा अन्तिममा थोरै मतले हारेका कारण मप्रति मतदाताहरूको सहानुभूति राम्रो छ। मतदाताहरूले यसपालि तपाईंलाई जिताउँछु भनिरहनुभएको छ।
अघिल्लो निर्वाचनमा गठबन्धनबाट उम्मेदवार हुनुहुन्थ्यो। त्यस्तो बेला त जित्न सक्नु भएन। अहिले झन् एक्लै चुनाव लड्दा जित्नुहोला र?
अहिले पनि चारवटा पालिका हामीले जितेका छौँ। धेरै वडा हामीले जितेका छौँ। नेपाली कांग्रेस विकासमा अग्रगामी भूमिकामा छ यो क्षेत्रमा। सडक, पुल, बाटो, समाजिक कुरा, स्वास्थ्य संस्था र अहिले सिँचाइका पनि धेरै काम हामीले गरेका छौँ। यो भन्दा पहिला प्रदेश सरकारमा हाम्रै क्षेत्रबाट मन्त्री पनि हुनुहुन्थ्यो। उहाँले पनि धेरै राम्रो काम गर्नुभएको छ। विकासको अत्यधिक बजेट हामीले त्यो क्षेत्रमा लगाएका कारण नेपाली कांग्रेले विकास गर्न सक्छ भन्ने देखिएको छ।
खासगरी विद्यार्थीकालदेखि नै राजनीतिमा लागेको मेरो संघर्ष यहाँका मतदाताहरूले साक्षात् देखेका छन्। मेरो दुःख मतदाताले देखेका कारण मलाई जिताउनेमा विश्वस्त छु। यसअघि झिनो मतले पराजित भएका कारण यसपटक तपाईँंलाई जिताउँछु भनेर मतदाताहरू लागिपरेका छन्।

गत निर्वाचनमा पार्टीभित्रको बेमेलले झिनो मतले पराजित भएको बताउनुभयो। अहिले त झन् चुनावको मुखमै कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने कुराले ठुलो विवाद सिर्जना भयो। केन्द्रको त्यो विवाद धनुषा-४ मा मिलिसक्यो र?
हाम्रो क्षेत्रमा एकताबद्ध छ। त्यो विवाद हाम्रो क्षेत्रमा केही छैन। हामी सबै मिलेर अहिले निर्वाचन अभियानमा रुख छापलाई भोट माग्न अगाडि बढिरहेका छौँ। आजै हाम्रो क्षेत्रमा भएको कार्यक्रममा केन्द्रीय सभापति गगन थापा सहभागी हुनुभयो। सबै मतदाताका बिचमा महेन्द्र यादवको जित मेरो जित हुन्छ भनेर उहाँले भन्नुभयो।
महेन्द्र यादवलाई जिताएर काठमाडौँ पठाउनूस् भनेर आदरणीय केन्द्रीय सभापतिले भन्नुभएकाले हाम्रो क्षेत्र एकताबद्ध छ। माथिको बेमेलको केही प्रभाव छैन। एकताबद्ध रूपमा हामी अगाडि बढेका छौँ।
पार्टी एकताबद्ध भएपछि अब धनुषा-४ मा तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग होला? यहाँ त नयाँ पार्टीको पनि एकदमै चर्चा सुनिन्छ नि?
मेरो प्रतिस्पर्धा कोसँग भन्ने कुरा केही दिनपछि थाहा हुन्छ। केही नयाँ पार्टीहरू पनि अहिले आइराखेका छन्। जेनजी आन्दोलनमा भएको क्षतिको दोषी तत्कालीन प्रधानमन्त्री केपी ओली भएका कारण एमालेलाई त्यही ढंगले हेरिएको छ। कांग्रेस त जेनजीको पक्षमा थियो। सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइँदा हामीले तत्काल खोल्न भनेका थियौँ। जेनजीको सुशासनको मागमा हाम्रो साथ छ। त्यसैले मतदाता हामीसँग रिसाएका छैनन्, बरु अरू पार्टीसँग रिसाएजस्तो देखिन्छ।
धनुषा-४ मा आफूले २०७० सालदेखि धेरै विकास गरेको भन्दै एमाले उम्मेदवार रघुवीर महासेठले जित निश्चित छ भनिरहनुभएको छ। उहाँसँग अब हुने तेस्रो प्रतिस्पर्धा कतिको सहज ठानिरहनुभएको छ?
निवर्तमान सांसदज्यूले यस क्षेत्रमा विकास गरेको कहीँ देखिया छैन। उहाँले कागजमा र बोलीमा मात्रै विकास गर्नुभएको होला। विकास त देखिन्छ नि फलानो ठाउँमा, फलानो स्थानमा। अलिअलि उहाँले पनि गर्नुभएको होला। तर नेपाली कांग्रेसले उहाँको भन्दा धेरै बढी विकास गरेको छ। त्यो जनताले देखेका छन्। अहिले मैले भनेँ नि- पुरानो अनुहारलाई अलिकता मन पनि नपराएको वा दुईचोटि उहाँलाई जिताइसकियो। उहाँको क्षमता पनि देखिसकियो। उहाँ मिलनसार पनि नदेखिएका कारण मतदाताहरूले उहाँलाई रुचाउनुभएको छैन यसपालि।
यसपटक मधेसमा प्रधानमन्त्रीकै उम्मेदवारहरू चुनाव लड्न आएका छन्। तपाईंकै पार्टी सभापति काठमाडौँबाट सर्लाही-४ मा झर्नुभएको छ।रास्वपाले पनि मधेसी मूलकै बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेको छ। यस्तो अवस्थामा मधेसको मुड कस्तो पाउनुभएको छ? घरदैलोमा जाँदा मतदाताले के भनिहेका छन्?
मधेसमा केन्द्रीय सभापति गगनकुमार थापा नै जसरी चुनाव लड्न आउनुभएको छ, त्यो मधेसको सौभाग्य हो। हाम्रो पार्टी सभापति गगन थापाजीलाई मधेसका मान्छेहरूले विश्वास पनि गरेका छन्। पहिला पनि उहाँ मधेसी जनताका बिचमा आइसक्नुभएको छ। त्यसैले मधेसमा अरूभन्दा हाम्रै पार्टी सभापति गगन थापालाई मधेसी जनताहरूले विश्वास गर्छन् भन्ने विश्वास मैले लिएको छु।
तपाईं मधेसमा कांग्रेसको शीर्ष नेतामध्ये एक हुनुहुन्छ। मधेस प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमा यसपटक कांग्रेससले कति सिट जित्ने आकलन गर्नुभएको छ?
यसपालि मलाई लाग्छ- कांग्रेसले दुईतिहाइ सिट जित्छ मधेसमा।
भिडिओ :
Shares

प्रतिक्रिया