नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ यसपटक पनि धनुषा ४ बाट चुनावी मैदानमा छन्। विकासको नभई देशको एजेन्डा बोकेर आफूहरू चुनावमा होमिएको उनको भनाइ छ। जनकपुरमा नेपालखबरको इलेक्सन एक्सप्रेस टिमसँगको संवादमा महासेठ राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आक्रामक सुनिए। रास्वपाले प्रधानमन्त्रीको रूपमा अगाडि सारेका बालेन्द्र (बालेन) शाहलाई कृत्रिम रूपमा उम्मेदवार खडा गरिएको उनको आक्षेप छ।
२०७९ मा विपक्षीको गठबन्धनका बाबजुद धनुषा ४ मा निर्वाचित भएको भन्दै आसन्न चुनाव सहजै जित्ने महासेठको दाबी छ। जनकपुरमा एमालेका उपमहासचिव तथा धनुषा ४ का उम्मेदवार रघुवीर महासेठसँग नेपालखबर ‘तत्कालै’ :
प्रतिनिधिसभा चुनाव नजिक आइपुगेको छ। एमालेका तर्फबाट मधेसको चुनावलाई नेतृत्व गरिरख्नुभाको छ। यहाँ अवस्था के छ?
यो निर्वाचनलाई हामीले गम्भीर रूपमै लिएका छौँ। यो नियमित निर्वाचन भइदिएको भए हामी त्यति चिन्तित हुने थिएनौँ। भदौ २३ र २४ को घटनाले हामी त्रसित छौँ। त्यो घटना मूलतः त्यो बेलामा भएको सरकार, अहिलेको पार्टीहरूले गल्ती गरेर भएको भए एउटा कुरा हुन्थ्यो। तर, त्यो घटनाको दृश्यहरू मैले हेर्दा– प्लानिङ हेर्दा, न हाम्रो पार्टीले सामान्य रूपमा लिएको छ, न मैले सामान्य रूपमा लिएको छु। यो सबै षड्यन्त्रमूलक तरिकाले घटाइएको घटना थियो। सबै दोष नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको थियो। जेनेरेसन जेडको नाममा देशका धरोहरहरू सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय जलाउने काम भयो।
यो सँगसँगै नेकपा एमाले र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको घर र निजी सम्पत्तिमा क्षति पुर्याउने काम भयो। देउवाजस्ता एउटा वृद्ध मान्छेमाथि हातपात र अभद्र व्यवहार गर्ने काम भयो। त्यो बेलाको प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र थियो। उहाँले राजीनामा दिएर त्यहाँबाट हिँड्नु परेको थियो। त्यो घटना मूलतः नेपालीकै प्लानिङबाट नेपालीले गराएका थिए भनेर सोच्नु गलत हो। यसपछाडि धेरै ठूलो गेम खेलिएको थियो। जो अहिले पनि हामी महसुस गरिरहेका छौँ।
त्यो आन्दोलन गराउन गेम खेल्ने व्यक्ति आनन्दले चुनावमा उठेका छन्। यहाँ देशीविदेशी शक्तिको षड्यन्त्र थियो र छ। चुनावको नाममा चुनावै नगराइकन एउटा कृत्रिम सरकारको सिर्जना हुनसक्छ। यी सबै गम्भीरतालाई हेरेर हामी प्रतिनिधिसभा पुनःस्थापनाको लागि अदालत गयौँ। अर्को आन्तरिक तयारीमा हामी लाग्यौँ। चुनाव हुन्छ कि हुँदैन, त्यो अहिले पनि मान्छेमा शंका छ। तर, मलाई के लाग्छ भने चुनाव गराउँछ र चुनाव कृत्रिम रूपले गराउन सक्छ। त्यसकारणले हामी आफ्ना कार्यकर्ताहरू, नेताहरू, शुभचिन्तकहरूलाई अहिलेदेखि नै एलर्ट गराउँदैछौँ।

भदौ २३ र २४ को घटनालाई षड्यन्त्रको रूपमा तपाईंले व्याख्या गर्नुभयो। हाम्रो आफ्नै कमजोरीले गर्दा २०८४ मा हुनुपर्ने चुनाव ०८२ मा हुँदैछ भन्ने कहीँकतै लाग्दैन?
हामीले त्यो बेलामा बुझ्न सकेनौँ कि यसको पछाडि कुनै शक्तिहरू काम गरिरहेका छन्। भदौ २३ गते दिउँसो १ बजेपछि मात्र हामीले महसुस गर्न सक्यौँ। जेनजीको आन्दोलन अराजक व्यक्तित्वहरू, विदेशी शक्तिको इसारामा चल्नेहरूको हातमा गयो। तर, वर्षौँदेखि यो कुरो सरकारका यत्रा निकायले थाहा पाएनन्। हामी सरकारमा बस्नेले त्यो थाहा पाउन सक्नु पर्थ्यो। तर, हामीले थाहा पाएनौँ, त्यो हाम्रो गल्ती हो। सरकार चलाउँदा हामीबाट मिस्टेक भयो।
अहिले चुनावी अभियानमा जनताको घरदैलोमा के एजेन्डा लिएर गइराख्नुभएको छ? जनताको प्रतिक्रिया के–कस्तो छ?
म तपाईंको मिडियामार्फत नै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई भन्न चाहन्छु, यसपालि विकास, समृद्धिको एजेन्डा होइन। हामी विकासको एजेन्डा, समृद्ध नेपाल सुखी नेपालीको एजेन्डा यो इलेक्सनमा लिएर जाने बेला होइन। अहिले त हामी देश चाहिन्छ कि चाहिँदैन भन्ने अवस्थामा छौँ। देश रहे हामी नेपाली हुन्छौँ, नेपाल रहे हामी नेपाली हुन्छौँ। नेपाल नरहे हामी कहाँ जान्छौँ? किनभने यो त्रासको वातावरण छ।
हिजो सिंहदरबार जलाउनेले आज एउटा अर्को पार्टीबाट टिकट पाएको छ। सर्वोच्च अदालत, सिंहदरबार, संसद् भवन जलाउनेले प्रधानमन्त्रीको उम्मेदवार भन्दै टिकट लिएर चुनावमा आइराखेको छ। जेलमा जानुपर्ने व्यक्ति, थुनेर राख्नुपर्ने व्यक्ति देश चलाउने हुँकार गर्दैछ।
मेरो घर जलाइसकेपछि सबभन्दा पहिले नख्खु जेल तोड्न गएका व्यक्तिहरू अहिले उम्मेदवार भएर आएका छन्। यस्ता उम्मेदवारहरूलाई हामीले शंकाको घेराभित्र राखेर हेरिरहेका छौँ। भोलि कहीँ देशको शासन त्यस्ता व्यक्तिको हातमा गयो भने के हुन्छ?
देश बनाउने र देशको रक्षा गर्ने ठेक्का पुराना पार्टीको मात्रै हो भन्ने पनि त होइन होला। नयाँ मान्छे वा नयाँ शक्तिहरूलाई पनि जनताको मत पाएर नेतृत्व गर्ने अधिकार त हाम्रो संविधानले दिएको छैन र?
देशमा स्वतन्त्र नागरिक छन्। तर एउटा रूपमा भन्न चाहन्छु, सिंहदरबार, केपी ओलीजी या देउवाजीको घर त थिएन, राष्ट्रपति भवन, संसद् भवन, ओलीजीको घर थिएन, न देउवाजीको थियो, न मेरो थियो, न प्रचण्डजीको थियो। यो त देशको धरोहर थियो। देशको धरोहर जलाउँदा तीन दिनसम्म देश बनाउने शपथ खाएर बसेका मेयरले एउटा दमकल पठाएनन्। सम्बन्धित महानगरपालिकाका स्टाफहरूमाथि दमकल निकाल्न प्रतिबन्ध लगाइएको थियो। खबरदार त्यो निकाल्ने होइन भनियो।

आफ्नो योजना र भिजनका साथ मैदानमा जाने भन्दा पनि एमाले रास्वपासँग यति त्रसित किन देखिएको?
हामी त्रसित भएका छैनौँ। त्यो शक्तिसँग त्रसित भएको छैन। त्यो शक्तिलाई त जनताले नि एक मिनेटमा चुट्कीमै हटाइदिन्छ। सवाल के छ भने त्यसको पछाडि कुन शक्ति हो? जसले चौबीस घण्टामा सरकारलाई नै फालिदियो, देश जलाइदियो। त्यसैले यसपालिको हाम्रो नारा नै छ– जनताले देश जलाउनेलाई भोट दिने हो कि देश बनाउनेलाई दिने हो?
तपाईंले त्यसो भने पनि गत ३४ वर्षमा तपाईंहरूले बनाएको देश यही होइन? भदौ २३ मा तपाईंहरूले बनाएको देश, तपाईंहरूले चलाएको शासनप्रतिको आक्रोश पोखिएको होइन र?
राजतन्त्र समाप्त भई प्रजातन्त्रको प्राप्तिपछि जनताले देशमा विकास भएको महसुस गरेका थिए। अहिलेको जेनजीको नाममा देश विकास भएन, नेताहरूले भ्रष्टाचार मात्र गरे भन्नु वाहियता कुरा हो। राजतन्त्र समाप्त हुँदा देशको स्थिति यस्तै थियो? बाटाघाटा यस्तै थिए? खास जिल्लाबाहेक त अरू ठाउँमा मोटर चल्दैनथ्यो। एउटा जिल्लामा पाँच वटा मात्र स्कुल थिए। आज एउटा पालिकामा दस वटा स्कुलहरू छन्। आक्कलझुक्कल स्वास्थ्य केन्द्रहरू थिए। टेलिफोनमा कुरा गर्न चार घण्टा लगाएर सदरमुकाममा गएर लाइनमा बस्नु पर्थ्यो। यातायातको क्षेत्रमा, भौतिक विकासको क्षेत्रमा, आईटीको क्षेत्रमा, कृषिको क्षेत्रमा देशले फड्को मारेको छ।
जनताले भन्छ कि नेताहरूले काम गरेन। त्यो होइन, मैले अहिले तपाईंलाई भनिसकेँ, अहिले देशमा कोही धर्मको नाममा म्यानिपुलेसन गरेको छ, खरिद बिक्री गरेर हिन्दुलाई क्रिस्चियन बनाएको छ, हिन्दुलाई मुसलमान बनाएको छ, मुसलमानलाई क्रिस्चियन बनाएको छ। म साउथ एसियाको कुरा गर्दैछु। राष्ट्रिय स्वतन्त्र पार्टीबाट देश जलाउनेहरू उम्मेदवार भएको देख्दा आश्चर्य लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको नेताहरूको इतिहास हेर्नुस्, आज मान्छेले बालेन, बालेन, बालेन भने पनि कहिले गए स्वतन्त्र पार्टीमा? कति दिन भयो, माघ ४ गते होइन?
माघ ४ गते पार्टीमा गएको मान्छे आफूलाई मधेसीको बेटा भन्दैछन्। एउटा भावनात्मक ब्ल्याकमेलिङ गर्नलाई मात्र रास्वपाले अगाडि सारेका हुन्। उनी मधेसीको छोरा चाहिँ हुन्, यसमा शंका छैन। तर, जन्म मधेसमा भएको होइन। माघ ४ गते पार्टीमा लागेको मान्छेले देश चलाउन सक्छ? उहाँहरू नेपालमा प्रजातन्त्रको प्राप्तिमा कहाँ हुनुहुन्थ्यो? यो देशमा उहाँहरूको के योगदान छ?
भिडिओ :
एक जना मधेसी मूलको मान्छे प्रधानमन्त्री बन्ने कुरालाई मधेसीले गर्वको रूपमा पनि त लिएको होलान् नि!
साँच्चिकै उहाँ राजनीतिज्ञ भएको भए तपाईंले भनेको कुरा ठिक हो। तर एउटा कृत्रिम मान्छे प्रधानमन्त्री बन्नु देशका लागि खतरा हुन्छ। उहाँको नाम जनताले २०७९ सालमा थाहा पायो। मधेसी प्रधानमन्त्री भनेर तराई मधेसको भावनासँग खेल्न उहाँलाई पठाइएको छ। त्यो पनि उहाँको आफ्नो सोच होइन। मधेसको भावनालाई क्यास गर्न उहाँले त्यो नारा दिएको हो। उहाँ जहाँबाट चुनाव लड्न जानुभएको छ, रिजल्ट के हुन्छ? रिजल्ट पोजिटिव हुने सम्भावना मैले व्यक्तिगत रूपमा देखेको छैन। तपाईंले लेखेर राख्नू, उहाँलाई जित्न गाह्रो छ।
तर निर्वाचनमा भन्न सकिन्न। आज देशको लागि, जनताको लागि चौधचौध वर्ष जेल जीवन बिताएका केपी शर्मा ओलीको विरुद्धमा जानुभएको छ, पाइन्छ। जित्नुहुन्छ कि जित्नुहुन्न त्यो बेला थाहा हुन्छ। तर, रिजल्ट पोजिटिभ भए पनि त्यो पार्टीले उहाँलाई प्रधानमन्त्री बनाउँछ जस्तो लाग्दैन।
गत निर्वाचनमा एमाले मधेस प्रदेशमा पहिलो पार्टी बनेको थियो। फागुन २१ को निर्वाचनमा एमालेको तयारी कस्तो छ, कसरी अगाडि बढिरहेको छ?
हाम्रो लागि ०७९ को चुनावमा अहिले जतिको प्रभाव थिएन। नेकपा एमाले मधेस विरोधी पार्टी हो भन्ने नारा हाम्रा सबै प्रतिस्पर्धी पार्टीबाट दिइएको थियो। मधेसी जनताले यो कुरालाई पत्याएको छैन। २०७४ भन्दा अघिको विकास र पछिको विकासमा ठूलो फरक छ। अहिले मधेसी जनताको दिमागमा नेकपा एमालेले नै देश बनाउन सक्छ, मधेस बनाउन सक्छ र मधेस बनाएको पनि छ भन्ने परेको छ। यो सात सालको समयमा देशमै भौतिक विकासले फड्को मारेको छ। दोस्रो कुरा एमाले मधेस विरोधी होइन।
तपाईंको पार्टी अध्यक्षले मधेसको भूगोल र समुदायका सन्दर्भमा बेलाबेला अशोभनीय र उत्तेजक टिप्पणी गर्दा एमाले मधेस विरोधी देखिएको हो कि?
टीकाटिप्पणीले मधेस विरोधी देखाउन र भन्न मिल्दैन। मधेस विरोधी भएको भए म नेकपा एमालेको इतिहासमा दुईदुईचोटि उपप्रधानमन्त्री हुन्थेँ? दुईदुईचोटि कार्यवाहक प्रधानमन्त्री मलाई कल्ले बनायो? नेकपा एमालेले बनायो। त्यो बेला अध्यक्ष को हुनुहुन्थ्यो? केपी शर्मा ओली हुनुहुन्थ्यो र अहिले पनि उहाँ हुनुहुन्छ। मधेसको, मधेसीको इतिहासमा नेकपा एमाले मात्रै यस्तो पार्टी हो, जसको कारणले एउटा मधेसको धरतीपुत्र यो देशको कार्यवाहक प्रधानमन्त्रीसम्म बनेको छु। आजसम्मको नेपालको इतिहासमा कुनै पनि मधेसी कार्यवाहक प्रधानमन्त्री बन्न पाएको थिएन। म पहिलो हो इतिहासमा। यो कल्ले बनाको? म आफैँ बनेको त होइन नि त। मेरो पार्टीले, मेरो अध्यक्षले मलाई यहाँ नपठाको भए यो इतिहासको काम हुने थिएन। म नेकपा एमालेलाई कसरी मधेस विरोधी भन्छु? कसरी केपी ओलीलाई म मधेस विरोधी भन्छु?
धनुषा ४ मा तपाईं मुख्य प्रतिस्पर्धा कोसँग हुने देखिराख्नुभएको छ?
हाम्रो अहिले होइन, सधैँ नेकपा एमाले र नेपाली कांग्रेसकै प्रतिस्पर्धा हुन्छ। तर, यसपालि हामीलाई अलिकति सजिलो छ। पहिला महागठबन्धन हुँदा म नेकपा एमालेको बलमा यो ठाउँबाट जितेको छु। आज महागठबन्धन छैन। सबै एक्लैएक्लै छन्। हाम्रो निकट प्रतिद्वन्द्वी भनेको नेपाली कांग्रेस हो। यहाँ अरू कुनै पार्टी छैन।
पछिल्लो तीनचार वटा चुनाव तपाईं यहाँबाट लगातार जितिराख्नुभाको छ। यो पटक मतदाताले नयाँ मान्छे खोजेको भन्ने चर्चा छ। घरदैलो गर्दा के पाउनु भएको छ?
२०७९ को चुनावमा पनि मैले घरदैलो गरेको थिइनँ। भोट माग्न म गाउँगाउँमा, घरघरमा जादिनँ। मैले अब जनताको बीचमा मेरो परिचय दिइराख्नुपर्ने छैन। जनताले पनि अब तपाईं मत माग्न नआउनुहोस्, एमाले जस्तो पार्टी हामीलाई चाहिएको छ भनिराख्नु भएको छ। यसपालि पनि अब घरदैलो गएर त भ्याउँदिनँ। तर मलाई विश्वास के छ भने जसरी ०७९ मा मैले कुनै घरदैलो नगरीकन जनताले मलाई मत दिए, जनताले मलाई चिनेको थिएन नि त। जनताले चिन्ने भनेको त नेकपा एमाले र सूर्यलाई हो। सूर्यको प्रतिनिधि, एमालेको प्रतिनिधि भएर मैले सबै काम गरेको छु। म एउटा माध्यम मात्रै हो, काम गर्ने त पार्टी र पार्टीको सरकार थियो।

तपाईंमाथि परिवारवादको आरोप पनि छ। धनुषा ४ मा तपाईं उठिराख्नुभाको छ, ३ नम्बरमा तपाईंकी धर्मपत्नी चुनावी मैदानमा हुनुहुन्छ। यहाँका मतदाताले परिवारवादलाई स्वीकार गर्लान् र?
यो परिवारवाद होइन। अरू कस्तो छ? नातागोताको हिसाबमा समानुपातिकमा जानुभएको होइन? हामी त जनताको बीचमा चुनावी प्रतिस्पर्धा गरेर आइराखेका छौँ। जुली महतोजीको आफ्नै व्यक्तित्व छ। मधेस प्रदेशमा सबैभन्दा बढी मतले जित्ने उहाँ हो। म त १२४ मतले जितेर आएको हो। उहाँको योगदान छ, उहाँ विद्यार्थी कालदेखि नै नेकपा एमालेसँग आबद्ध हुनुहुन्छ। बहुदल आउने बित्तिकै उहाँ विद्यार्थी राजनीति हुँदै यो ठाउँमा आइपुग्नुभएको छ। जुली महतो कुनै टीका लगाएर गएको होइन, न हाम्रा अध्यक्षले टीका लगाउनुभएको छ, न मैले टीका लगाएको छु। उहाँ लोकप्रिय नेतृ हुनुहुन्छ र लोकप्रिय नेतृ भएको नाताले उहाँले जनताले जिताएर पठाउँछ। जनताको बीच हामी प्रतिस्पर्धा गर्न गएका छौँ, पार्टीले टिकट दिएको छ। राम्रो काम गर्नुभएको छ। उहाँ जितेर आउनुहुन्छ।
त्यसोभए फागुन २१ को निर्वाचनमा धनुषा ४ बाट निर्वाचित हुनेमा ढुक्क हुनुहुन्छ?
म त ढुक्क छु। यो क्षेत्रका जनताले नेकपा एमालेलाई तिरस्कार गर्नुपर्ने कुनै काम गरेको छैन। नेकपा एमालेको बलमा आज मधेसले फड्को मारेको छ।
मधेसमा गरिबी, अशिक्षा र किसानका दुःख त उस्तै छन्। केही ठाउँमा बनेको सडक मात्रै हो विकास एमालेका लागि?
मैले अघि तपाईंलाई भनिसकेको छु, औद्योगिकीकरण पनि हामीले गर्नै पर्छ। कृषि क्षेत्रमा पनि हामीले फड्को मार्नै पर्छ। विकसित कृषि क्षेत्र अर्थात् वैज्ञानिक कृषि क्षेत्रलाई हामीले ल्याउनै पर्छ। हामी सबै क्षेत्रमा काम गर्दैछौँ। हिजो सामान्य सडकहरू थिए। एमालेले नै सबै तराईका सदरमुकामहरूलाई चार लेन, छ लेन सडकले जोडेको हो। त्यो केपी ओलीजीको पालामा भएको हो। म जलस्रोत सिँचाइमन्त्री हुँदा सात वटा बहुउद्देश्यीय ठूला योजनाहरू घोषणा गरेको थिएँ। सुनकोसी कमला डाइभर्सन, सुनकोसी बागमती डाइभर्सन, रानी जमरा बहुउद्देश्यीय योजना, भेरी बबई, बुढीगण्डकी, त्रिशुली र शक्तिखोर, तमोर र मोरङ, कन्काई हाइ ड्याम लगायतका दस वटा परियोजना अगाडि बढाएको थिएँ। तपाईंको कुरासँग म सहमत छु, सडक विकासले मात्रै देश उँभो लाग्दैन। केपी ओली प्रधानमन्त्री हुँदा हाम्रो आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुगेको थियो।
रास्वपाले एउटा पालिकाको मेयरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसक्दा पनि उपप्रधानमन्त्री भइसकेको मान्छे तपाईं किन अगाडि सर्नुभएन? तेस्रो पटक पनि केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्ने ठाउँमा किन पुग्नुभो?
यसको दुइटा कारण छ। हामी कुनै विदेशी शक्तिबाट परिचालित छैनौँ। विदेशी शक्तिलाई थाहा छ, केपी ओली प्रधानमन्त्री हुने हो भने हाम्रो त्यहाँ केही चल्न दिँदैन। केपी ओली एउटा राष्ट्रवादी नेपाली हो, उसले आफ्नो देशको विरुद्धमा केही कुरा सुन्दैन। तर, चार धाम घुम्नेहरू, जो अब यो सरकार चलाउने सपना देखिरहनुभएको छ, उहाँहरूको हातमा गयो भने उहाँहरूलाई सजिलो छ। उदाहरण २३ र २४ घटनाले पनि देखाएको छ।
केपी ओली सत्यसँग नलड्ने, असत्यसामु नझुक्ने, राष्ट्रवादी व्यक्ति हुनुहुन्छ। देशको लागि अड्डी कसेर बस्ने, निडर भएर बस्ने, दीर्घकालीन सोच भएको नेताको रूपमा हामीले उहाँलाई हेरेका छौँ। उहाँमा कमीकमजोरी पनि हुन सक्छ, तर अहिले भएकामध्ये उहाँ नै हो।
भिडिओ :
Shares

प्रतिक्रिया