अन्तर्वार्ता


वाणिज्य बैंकको अबको योजना कृषिमा सबैभन्दा बढी लगानीः सीईओ श्रेष्ठ (अन्तर्वार्ता)

वाणिज्य बैंकको अबको योजना कृषिमा सबैभन्दा बढी लगानीः सीईओ श्रेष्ठ (अन्तर्वार्ता)

दीपक भट्ट
बैशाख १, २०७७ सोमबार १५:५५,

नेपाल बैंक लिमिटेडमा ३० वर्ष काम गरेर सेवानिवृत्त भएका किरणकुमार श्रेष्ठ ४ वर्षअघि राष्ट्रिय वाणिज्य बैंकको सीईओमा नियुक्त भए। राष्ट्रिय वाणिज्य बैंक सबैको पहुँचमा छैन, निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्न सकेन भन्ने आरोप लागिरहेका बेला श्रेष्ठले चार वर्षमै सबैभन्दा क्षमतावान् बैंक बनाएर देखाए। 

उनको यो क्षमताको मूल्यांकन गर्दै सरकारले ४ वर्षका लागि उनलाई सीईओमा पुनः नियुक्ति दिएको छ। उनीसँग वाणिज्य बैंकको आगामी योजनामा केन्द्रित रहेर गरिएको वार्ताः

दोस्रो कार्यकालका लागि वाणिज्य बैंकको नियुक्ति पाउनुभएको छ। पहिलो कार्यकालमा तपाईंले खास के काम गर्नुभयो?
वास्तवमा ४ वर्षको कार्यकाललाई मैले धेरै नीतिगत सुधार गरेँ। व्यवसाय कम भइरहेको अवस्था थियो, त्यसलाई बढाएँ। राष्ट्रिय वाणिज्य बैंकप्रति अन्य बैंकको तुलनामा नकारात्मक धारणा थियो। त्यसलाई सुधार गरेर लानुपर्छ भन्ने मनसायको साथ काम गरेँ। त्यसको परिणाम सबैले मूल्याङ्कन गरिरहेकै छन्।

आगामी योजना चाहिँ के छन्?
यसभन्दा अघि मैले जेजस्ता सुधार गरेँ, त्यसलाई अघि बढाउने छु। अहिले पनि राष्ट्रिय वाणिज्य बैंक प्रविधिमा चाहिँ कमजोर नै छ। त्यसलाई हामीले स्वीकार गर्नुपर्छ। त्यसैले बैंकलाई अब प्रविधिमैत्री बनाउन योजनाबद्ध रुपमा काम गर्नेछु।

अन्य बैंकसँग हाम्रो तुलना हुने भनेको प्रविधिमा मात्रै हो। त्यसबाहेकका विषयमा कुनै तुलनै हुन सक्दैन। प्रविधिलाई पनि अब सुधार गरेर जाने हो।

तेस्रो पक्ष, ‘कम्प्लायन्स’ र जोखिमका विषयलाई बलियो बनाउनुपर्ने छ। चौथौ, वाणिज्य बैंकको क्षमता विस्तार गर्ने पक्षलाई जोड दिनुपर्ने छ। १४ स्थानमा वाणिज्य बैंकले आफ्नै भवन बनाउने र बढी सक्षम बनाउने योजना छ।

पाँचौ, कर्मचारीको क्षमता वृद्धि। कर्मचारी नयाँ छन्। अहिले उनीहरुको औसत उमेर ३६ वर्ष छ। त्यसकारण उनीहरुलाई अलिकति तालिम दिने योजना बनाएको छ। यी काम चाँडै सुरु हुन्छन्।

तपाईंले आगामी योजना बनाइरहँदा कोरोना भाइरस महामारीका कारण विश्वमा वित्तीय क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ। नेपालमा कस्तो प्रभाव पर्ने आकलन गर्नुभएको छ?
कोरोना विश्वव्यापी महासंकटको रुपमा आएको छ। नेपालमा यसले कति प्रभाव पार्छ भन्ने विषय महत्वपूर्ण हुन्छ। अझैपनि अन्य मुलुकको तुलनामा नेपाल कम प्रभावित रहला भन्ने आशा छ। यसले पार्ने प्रभावको ठोस मूल्यांकन त यो महासंकट हटेपछि मात्रै गर्न सकिन्छ।

6Rastra_banijya_bank.jpg

आगामी दिनमा निक्षेप र लगानीलाई कसरी व्यवस्थापन गर्ने सोच बनाउनुभएको छ?
तरलताको समस्या आउने नै छ। लगानीको क्षेत्र पनि खुम्चिन सक्ने देखिन्छ। सिमित क्षेत्रबाट मात्रै बढी लगानी माग हुन पनि सक्छ। नियमित क्षेत्रमा अब काम गर्न निकै अफ्ठ्यारो पर्ने हुनाले यसको समाधान वित्तीय संस्थाहरुले खोज्नै पर्छ। नेपालको सन्दर्भमा त्यो भनेको साना र मझौला किसिमका उद्योगमा केन्द्रित भएर जानु हो। यसमा पनि कृषि क्षेत्र मुख्य हो। जुन नेपालको हकमा बढी प्रभावकारी देखिनसक्छ। यसलाई अन्य क्षेत्रको पनि विकल्पको रुपमा लिएर बैंकहरुले लगानी गर्नुपर्छ।

कृषिमा सहुलियत ब्याजदरको विषय थालनी भइसकेको छ। तथापि यसलाई अझ सरल र प्रभावकारी बनाएर लैजानुपर्छ। यसले कस्तो प्रभाव पार्छ, त्यो अहिले नै स्पष्ट भइसकेको छैन। त्यसैले अहिले हामीले सम्भावनाको कुरा गर्ने हो। सम्भावनाको हिसाबले हेर्दा रोजगारीलाई सरकारले प्राथमिकतामा राख्न सक्छ। हामी पनि त्यही अनुसार अघि बढ्नुपर्ने हुन्छ। वैदेशिक रोजगारीको अवस्था कमजोर हुनसक्छ। त्यसकारणले कृषिमा आधारित रोजगारीलाई ध्यान दिएर वित्तीय क्षेत्र पनि अघि बढ्नु पर्ने हुनसक्छ।

वाणिज्य बैंकको मुख्य लगानीको क्षेत्र अब कृषि नै हो त?
हामीले योभन्दा अघि पनि कृषिमा राम्रो लगानी गरेका छौँ। आगामी दिनमा अझ यसलाई प्राथमकिता दिएर काम गर्ने हो। मैले सोचेको चाहिँ कृषिमा लगानी गर्नेलाई बढी सुविधा दिनुपर्छ।

खासमा कोरोनाले अहिलेसम्म खास असर गरेको क्षेत्र चाहिँ कुन हो? त्यो असरलाई न्यूनीकरण गर्न के गर्नुपर्छ?
अहिले कोरोनाले सबै क्षेत्रलाई प्रभव पारेको छ। तर सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको छ। त्यसपछि यातायत क्षेत्रमा असर पुगेको छ। उद्योग धन्दा र निर्माण क्षेत्र पनि प्रभावित बनेको छ। यी सबै क्षेत्रमा बैंकको लगानी छ। त्यसकारणले बैंकिङ क्षेत्रमा पनि चरम असर पर्‍यो।

कुनै क्षेत्र तुरुन्तै माथि आउन नसक्नेगरी फसेका छन्। त्यसबाट धेरै बेरोजगार बन्न सक्छन्। प्रभावित बनेका क्षेत्रबाट रोजगारी गुमाएकालाई पनि रोजगारी दिलाउने गरी वैकल्पिक क्षेत्रमा लगानी विस्तार गर्नुपर्छ। वैकल्पिक क्षेत्रको कुरा गर्दा फेरि कृषिकै कुरा आउँछ। त्यो सम्भावनालाई हामीले भरपुर रुपमा उपयोग गर्नुपर्छ।

9Rastra_banijya_bank.jpg

अहिले पुनर्कर्जाको माग पनि सबैले गरिरहेका छन्। उनीहरुलाई सहजीकरण गर्न कत्तिको सम्भव छ?
पुनकर्जाको मागलाई स्वभाविक रुपमा लिनुपर्छ। अहिले आर्थिक गतिविधि नै भएको छैन। उद्योग धन्दाहरु सबै बन्द छन्। उत्पादन हुन सकिरहेको छैन। उनीहरुले आफ्नो आम्दानी गरेर पैसा बुझाउन नसकेपछि बैंकबाट पुनर्कर्जाको माग गरेका हुन्। तर बैंकलाई पनि केही उपाय त चाहियो।

उपाय भन्नेबित्तिकै स्रोत व्यवस्थापनको कुरा आउँछ। स्रोत परिचालनका लागि आन्तरिक स्रोत र बाह्य स्रोत दुवै हेर्नु पर्ने हुन्छ। माग भएका पुनर्कर्जालाई प्राथमिकीकरण गरी अर्थात् अफ्ठ्यारोको मूल्याङ्कन गरी काम गर्नु पर्ने देखिन्छ। आन्तरिक स्रोत चाहिँ सबै भन्दा बढी भरपर्दो हुन्छ त्यसकारणले हाम्रो स्रोतले भ्याएसम्म दिनै पर्ने स्थिति छ।

निजी क्षेत्रबाट सीसीडी रेसियो फराकिलो पार्ने र स्प्रेडदर घटाउने माग आइरहेको छ। उनीहरुले कर्जाको ब्याजदर कम गर्नु पर्छ भनिरहेका हुन्। यो काम गर्न बैंकहरु तयार हुन्छन्?
पक्कै पनि सीसीडी रेसियो बढाउनु पर्छ भनेर उनीहरुले लगानीको दायरा पनि बढाउन भनेका हुन्। त्यस्तै स्प्रेडदरको कुरा पनि स्वभाविक नै हो। तर त्यसलाई पनि लगानीको मागका आधारमा हेर्नुपर्ने हुन्छ। माग कम भए त ब्याजदर आफैँ घटिहाल्छ। अत्याधिक माग आइहाल्यो भने उनीहरुलाई मर्का नपर्नेगरी सहमतिमा अघि बढ्नुपर्छ। विगतमा पनि यस्तो भइरहेकै हो।

मलाई लाग्छ, आगामी आर्थिक वर्षदेखि स्प्रेडदर ४ दशमलव ४ प्रतिशत हुने नै छ। यो सँगै दुई वटा कुरा चाहिँ ब्यालेन्स गरेर जानुपर्ने हुन्छ। उद्योगीहरुलाई सहज वातावरणमा उद्यम व्यवसाय सञ्चालन गर्न दिनु पर्ने हुनसक्छ। त्यस्तै बैंकहरुलाई कसरी सर्भाइभ गर्ने भन्ने कुरा पनि आउँछ। निक्षेपकर्ताहरुलाई पनि मुनाफा दिनु पर्ने हुन्छ। त्यसैले अहिले निजी क्षेत्रको मागलाई मात्र हेरेर निर्णय गर्नु उचित हुँदैन। दुवै पक्षको अध्ययन गरी समग्र वित्तीय क्षेत्रले नै निर्णय गर्ने हो।

बैंकहरुको सूचकांकमा महामारीले कस्तो असर गर्ला?
अहिले सबै क्षेत्र ठप्प छ। हाम्रो लगानी भएको सबै क्षेत्र बन्द छ। हामीले लगानीलाई आधार मानेर रिटर्न हुने पैसाको लेखाजोखा समेत गरिसकेका थियौँ। तर अब रिटर्नमा समस्या भइरहेको छ। बैंकको नियमित आम्दानी स्वभाविक रुपमा घटिहाल्यो। त्यसले गर्दा निक्षेपको ब्याज हामीले घटाइरहेका छौं।

अब हामी कर्जाको दर पनि घटाउने छौँ। जसले गर्दा हाम्रो नाफामा त ठूलो ह्रास आउने नै भयो। त्यसैले कर्जाको समयतालिका नै परिवर्तन गर्ने कुरा भइरहेको छ।

2Rastra_banijya_bank.jpg

आगामी बजेटको मौद्रिक नीतिप्रति तपाईंको के अपेक्षा छ?
आगामी मौद्रिक नीति पहिलेको भन्दा धेरै फरक हुन्छ होला। कर्जालाई कसरी विस्तार गर्ने भन्ने नै मुख्य चुनौती छ। सम्भावना देखिएको एउटा कृषि क्षेत्र छ। उत्पादनमूलक उद्योगहरु छन्। तिनलाई आकर्षित गर्ने हिसाबले नीति तयार गर्नुपर्छ। लगानीको दायरा बढाउनुका साथै ब्याजदरलगायतका विषय पनि आकर्षक बनाउनुपर्ने हुन्छ।

अन्त्यमा, लकडाउनकै अवधिमा तपाईंको दोस्रो कार्यकाल सुरु भयो। राष्ट्रिय वाणिज्य बैंकले चाहिँ यो समयमा कसरी काम गरिरहेको छ?
अहिले हाम्रो २ सय ४० वटा शाखा छन्। रोटेसनको विधि अपनाएर हामीले ५० प्रतिशत शाखा संचालन गरिरहेका छौं। कुनै सहरमा धेरै शाखा छन् भने त्यसमा एउटा मात्रै सञ्चालन गरेका छौँ। कर्मचारीको सुरक्षाको विधि पनि अपनाएका छौँ।

सामाजिक दूरी लगायत सबै उपाय पालना गरेका छौँ। शाखाको स्तर हेरेर एउटा शाखामा ३ देखि ७ जना कर्मचारीलाई मात्रै काम लगाएका छौं। घरबाट गर्न सकिने काम घरमै बसेर गर्न लगाएका छौँ। विशेष गरी विभागीय काम घरबाट हुँदैछन्। बैठक पनि भिडियो कन्फ्रेन्समार्फत भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .