ad ad

अन्तर्वार्ता


माओवादी सुदूरपश्चिम दलका नेता धामीलाई प्रश्न : खगराज भट्टलाई हटाउने अवस्था किन आयो?

माओवादी सुदूरपश्चिम दलका नेता धामीलाई प्रश्न : खगराज भट्टलाई हटाउने अवस्था किन आयो?

फाइल तस्बिर


गोकुल जोशी
माघ १२, २०८० शुक्रबार १६:५५, कञ्चनपुर

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेताबाट खगराज भट्ट हटाइएका छन्। शुक्रबार बसेको संसदीय दलको बैठकले बहुमत सांसद जुटाएर भट्टलाई दल नेताबाट हटाएका हुन्। 

उनीहरूले दार्चुलाबाट निर्वाचित माओवादी केन्द्रका सांसद मानबहादुर धामीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका छन्। 

धामी यसअघि प्रमुख सचेतक थिए। यस्तै, अघिल्लो पटक उनी सुदूरपश्चिम प्रदेश सरकारमा वनमन्त्री थिए। यो संसदीय दलको बैठकमा खगराज भट्टसहित बहालवाला मन्त्रीद्धय रमेश धामी, झपड बहादुर साउँद र सांसद जानकीदेवी कुँवर उपस्थित थिएनन्। 

भट्टलाई दल नेताबाट हटाउने पक्षमा सांसद मानबहादुर धामी, राज्यमन्त्री गीता माल, सांसदहरु अक्कल रावल, ओमविक्रम भाट, शिवसिंह ओली र लक्ष्मी विक उभिए। 

माओवादी सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता चयन भएका मानबहादुर धामीसँग नेपालखबरले गरेकको संक्षिप्त कुराकानीको सम्पादित अंश :

आजको संसदीय दलको बैठकमा के के निर्णय भयो? 
हामी बहुमत सांसद उपस्थित भएर संसदीय दलको बैठक बस्यौँ। यो बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय गर्‍यो। मलाई संसदीय दलको नेता बनाउने बहुमत सांसदले निर्णय गरेका छन्। मूल निर्णय यही नै हो। अर्को सरकारमा सक्रिय सहभागीताका लागि संसदीय दलको महत्वपूर्ण भूमिका खेल्ने निर्णय गरेका छौँ।

एक्कासी संसदीय दलको नेता फेर्ने निर्णयमा किन पुग्नुभयो? 
हामी एक्कासि यो निर्णयमा पुगेका होइनौँ। एक महिनाअघिबाटै गृहकार्य गरिरहेका थियौँ। प्रदेश सरकार र संसदीय दलको गतिविधिका विषयमा पार्टी केन्द्रलाई लिखित जानकारी गराएका थियौँ।

माओवादी सुदूरपश्चिम प्रदेश सरकारमा अहिले गठबन्धन सरकारमा सामेल छ। तर प्रदेश सरकार र संसदीय दलले प्रभावकारी काम गरेको देखिएन। त्यसैले संसदीय दलको नेता परिवर्तन गरेका हौँ। संसदीय दलको विधानअनुसार नै हामी अगाडि बढेकाले यसमा पार्टी हेडक्वाटरले केही गर्दैन।

भनेको अब मन्त्री फिर्ता बोलाउनुहुन्छ? प्रदेश सभामा तपाई नेतृत्वको संसदीय दल कसरी प्रस्तुत हुन्छ? 
प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदैनौँ। समर्थन यथावत रहन्छ। प्रदेश सरकारबाट हाम्रा मन्त्री पनि फिर्ता बोलाउने विषयमा केही निर्णय भएको छैन। सरकारलाई बलियो र मजबुद बनाउन संसदीय दलले सरकारसँग निकटता बढाउँछ। 

संसदीय दलका नेता खगराज भट्टसहित केही सांसद बैठकमै उपस्थित नभएका रहेछन् नि?
हामीले बैठकमा सबैलाई खबर गरेका हौँ। ४ जना सांसद उपस्थित हुनभएन।

दलको नेताबाट हटाएपछि खगराज भट्टको व्यवस्थापन कसरी गर्नुहुन्छ?
उहाँ हाम्रो आदरणीय नेता हो। नेता नै रहनु हुन्छ। थप उहाँसँग छलफल गरेर अघि बढ्छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .