NepalKhabar NepalKhabar

अन्तर्वार्ता


२० वर्षभित्रै मध्यपहाडी लोकमार्ग वरिपरि ठूलो कायापलट हुनेछ : डा. भट्टराई (अन्तर्वार्ता)

२० वर्षभित्रै मध्यपहाडी लोकमार्ग वरिपरि ठूलो कायापलट हुनेछ : डा. भट्टराई (अन्तर्वार्ता)

सीताराम बराल
चैत ३, २०७९, शुक्रबार , काठमाडौँ

पुष्पकमल दाहाल (प्रचण्ड) पहिलो पटक प्रधानमन्त्री छँदा उनी नेतृत्वको सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण सम्बन्धी आयोजना अघि सारेको थियो। यो लोकमार्ग निर्माण आयोजनाको परिकल्पनाकार खासमा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराई थिए।

चिवाभन्ज्याङ (ताप्लेजुङ) बाट झुलाघाट (बैतडी) सम्म पुग्ने १ हजार ८ सय ७९ किलोमिटर लम्बाइको यो लोकमार्गको १ हजार २ सय ८७ किलोमिटर कालोपत्रे भइसकेको छ। ४ सय ६२ किलोमिटर पुराना मार्गहरु पनि यही लोकमार्गको खण्डका रुपमा छन्। 

२०६८–६९ मा जब डा. भट्टराई प्रधानमन्त्री बने, आफू अर्थमन्त्री छँदा सुरुवात भएको यो परियोजनालाई उनले राष्ट्रिय गौरवको परियोजनामा पारे। जब यसको सम्पूर्ण खण्डको निर्माण पुरा हुनेछ, साँच्चिकै यो मार्गको यात्रा गर्ने नेपालीहरुले गौरव महसुस गर्नेछन्। 

निर्माणाधीन अवस्थामै रहेको बेला डा. भट्टराईले यो लोकमार्गको राजनीतिक यात्रा पनि गरे। त्यतिबेला उनी माओवादी परित्याग गरेपछि आफ्नै नेतृत्वमा स्थापना गरेको ‘नयाँशक्ति नेपाल’ पार्टीको अध्यक्ष थिए।

यो लोकमार्ग निर्माण गर्ने अवधारणाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक पृष्ठभूमि के थियो, यसको निर्माणबाट डा. भट्टराईले के लाभको परिकल्पना गरेका थिए? के एक महिना लामो यात्रा (१५ माघ–१५ फागुन २०७५) को क्रममा उनले यसको सुरुवात गर्दा परिकल्पना गरिएका उदेश्य पुरा हुने सम्भावना देखे? 

प्रस्तुत छ– मध्यपहाडी लोकमार्गसँग सम्बन्धित यिनै विषयमा केन्द्रित रहेर डा. भट्टराईसँग नेपालखबरले गरेको कुराकानीः

तपाईं अर्थमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको अवधारणा ल्याउनु भयो। त्यसको प्रस्थानविन्दु बताइदिनुस् न।
मेरो पढाइको विषय नै रिजनल डेभलपमेन्ट प्लानिङ (क्षेत्रीय विकास योजना) हो। देशभरिकै विकासको नक्साङ्कन गरेर विकासको योजना बनाउने। पीएचडीमा पनि नेपालका तत्कालीन ७५ वटा जिल्लाहरुको अध्ययन गरेर थेसिस प्रस्तुत गरेको छु। 

मलाई लाग्छ, नेपालजस्तो कृषिप्रधान देशलाई औद्योगिक र नयाँ अर्थतन्त्रमा रुपान्तरण गर्ने हो भने पहिलो चरणमा हामीले पूर्वाधारमा जोड गर्नुपर्छ। 

पूर्वाधार अन्तर्गत पहिलो नम्बरमा सडक नै पर्न आउँछ। नेपाल भौगोलिक हिसाबले हिमाल, पहाड तराई, अनि कोशी, गण्डकी र कर्णालीगरी तीन वटा करिडोरमा विभाजित छ। 

यस आधारमा विद्यार्थीकालदेखि नै पूर्व–पश्चिम र उत्तर–दक्षिण सडकहरुको सञ्जाल बनाउनु पर्छ भन्ने मेरो धारणा थियो। तर, हाम्रो आर्थिक क्षमताका कारण एकैपटकमा सबैतिर बनाउन सकिँदैन। त्यही कारण राष्ट्रिय गौरवको योजना अन्तर्गत केही पूर्व–पश्चिम, केही उत्तर–दक्षिण बनाउनु पर्छ भनेर योजना सुरु गरिएको हो।   

पूर्व–पश्चिम जोड्ने गरी तराई–मधेश हुँदै जाने हुलाकी मार्ग र राजा महेन्द्रको पालामा बनेको पूर्व–पश्चिम राजमार्ग छन्। अहिले जुन मध्यपहाडी लोकमार्ग छ, त्यो पनि पहाडी हुलाकी मार्ग नै हो। त्यो ऐतिहासिक मार्ग हो, जुन राज्य विस्तारको अभियानकालदेखि अस्तित्वमा थियो। त्यो मार्ग डोटी–जुम्ला–काठमाडौँ हुँदै धनकुटा–इलामसम्म जान्थ्यो। त्यही पहाडी हुलाकी मार्गलाई हामीले पुष्पलाल लोकमार्ग वा मध्यपहाडी लोकमार्ग भनेका हौँ। 

राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्गको शिलान्यास गर्नुअगावै हेटौँडा–नारायणगढ लगायत कतिपय स्थानमा सडक निर्माण भइसकेका थिए। मध्य पहाडी लोकमार्ग अन्तर्गतका सडक खण्डहरुको अवस्था कस्तो थियो? 
महेन्द्रको मृत्यु भइसक्यो। उनको बारेमा धेरै टिप्पणी गर्नु उपयुक्त छैन। उनले चुरेको फेदीबाट जानेगरी भन्दा हुलाकी मार्गलाई राजमार्ग निर्माण गरेको भए हुन्थ्यो। किनकि मधेशको मुख्य बस्ती रहेको दक्षिण हुँदै पूर्व–पश्चिम जाने हुलाकी राजमार्गले मधेशका सबै बस्तीलाई जोडेको थियो। हुलाकी मार्गलाई उनले पहिले बनाउनु पथ्र्याे। तर, के कारणले हो, हुलाकी मार्गको साटो राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग बनाए। 

जहाँसम्म पहाडी हुलाकी मार्गको कुरा हो, यो मार्ग पहाडको मुख्य बस्ती हुँदै पूर्वदेखि पश्चिमसम्म गएको थियो। बीचमा चुरेको जंगल थियो। मधेशमा बस्ती खुलेको र आप्रवासन हुन थालेको पछि मात्र हो। सन् १९५०–६० को दशकसम्म पनि नेपालको मुख्य जनसंख्या पहाडमा नै बस्थ्यो। त्यसलाई नजोडेसम्म अन्य कुराको विकास हुँदैन भनेर मैले त्यो अवधारणा ल्याएको हो। 

मैदानमा हाम्रो जम्मा २१ प्रतिशत मात्र भूगोल छ। ७९ प्रतिशत भूगोल पहाडमा छ। पहाडको जनसंख्या जम्मै मधेशतिर झर्यो भने त्यसले धान्नै सक्दैन। जनसंख्या एकातिर मात्र केन्द्रित हुँदा सन्तुलित विकास पनि हुन सक्दैन। मध्यपहाडी लोकमार्गलाई जोड गर्नुको अर्काे कारण यो पनि हो।  

हुलाकी मार्ग भनेको हुलाक बोक्ने मार्ग हो, हुलाकीहरुले प्रयोग गर्ने बाटो हो। फाट्टफुट्ट ट्रयाक त पहिल्यै थियो, हुलाकी मार्ग थियो। त्यो मार्ग इलाम, धनकुटा, भोजपुर, ओखलढुङ्गा, रामेछाप हुँदै काठमाडौँ आउँथ्यो। अर्काे हुलाक मार्ग डोटी, जुम्लाबाट बाग्लुङ, पाल्पा हुँदै गोर्खा र नुवाकोट भएर काठमाडौँ आउँथ्यो। त्यही मार्गबाटै जाने गरी निर्माण गरिएको आधुनिक मार्गलाई हामीले पुष्पलाल लोकमार्ग भनेका हौँ।

हिमाल–पहाडबाट मधेश र राजधानीतिर बसाइँ सर्ने क्रम तीव्र छ। यस्तो स्थितिमा २०–३० वर्षपछि मध्यपहाडी लोकमार्गको उपादेयता रहला र? 
विकासको क्रममा सुरुमा कृषि प्रधान अर्थतन्त्र हुन्छ। पछि कृषिले मात्रै धान्न सक्दैन। त्यसपछि जनसंख्याको ठूलो हिस्सा उद्योगतिर, उद्योगबाट सेवा क्षेत्रतिर जान्छ। कृषिप्रधान अर्थतन्त्रको चरणमा पहाडबाट तराई–मधेशतिर मानिसहरु झर्नुको कारण यो हो, किनकि उब्जाउयोग्य जमिन तराई–मधेशमा थियो। 

अब कृषिप्रधान अर्थतन्त्र होइन, उद्योग र सेवामूलक अर्थतन्त्र अगाडि बढ्दैछ। पर्यटन, सेवा, सूचना–प्रविधि र अन्य क्षेत्रका अर्थतन्त्रहरु अगाडि आउँदैछन्। यो अवस्थामा अब मानिसहरु पहाड छाडेर मधेशतिर गइराख्नु पर्दैन। 

अर्काे कुरा, गाउँ–पहाडको वातावरण–हावापानी रमाइलो र स्वस्थ छ। पहाडको तुलनामा मधेशमा निकै गर्मी हावापानी छ। त्यसैले, हामीले पहाडमा राम्रोसँग पूर्वाधार विस्तार गर्यौँ, उद्योग र सेवा क्षेत्रमा विकास गर्यौँ, बिजुली, शिक्षा, स्वास्थ्यको उचित व्यवस्था गर्यौँ भने जनसंख्या मधेशबाट पहाडतिर उक्लने परिस्थिति सिर्जना हुन्छजस्तो मलाई लाग्छ। 

मध्यपहाडी लोकमार्गको अवधारणा जुन समय अघि सारियो, त्यो बेला मधेश आन्दोलित थियो, पूर्व–पश्चिम राजमार्ग, काठमाडौँ–रक्सौल राजमार्गपनि अवरुद्ध थिए। कतै मध्यपहाडी राजमार्ग राजनीतिक हिसाबले अभिप्रेरित भएर त निर्माण भएको थिएन? 
त्यो होइन। मैले सँगसँगै हुलाकी राजमार्गलाई पनि प्राथमिकता दिएको छु। यदि मधेशको डर थियो भने हुलाकी राजमार्ग बनाउँ किन भन्थेँ? मेरो सुरुदेखिको विचार नै हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिनुपर्छ भन्ने हो। 

क्षेत्रीय विकास योजनाको विद्यार्थी हुनुको नाताले विकास कसरी हुन्छ भन्ने कुरा त म बुझ्छु नि! विकास भनेको जनताले गर्ने हो, मान्छेले गर्ने हो। जहाँ मान्छे छन्, त्यहाँ पूर्वाधार बनाउने हो। हिजोका राजा– महाराजाले मान्छे नभएको ठाउँमा पूर्वाधार बनाए। 

म अहिले पनि भन्छु, मधेशमा हुलाकी राजमार्गलाई छिटो पुरा गर्नुपर्छ, किनकि त्यसले तराई–मधेशका घना बस्तीहरु रहेका सहर र गाउँहरुलाई जोड्छ। पहाडमा मध्यपहाडी लोकमार्गलाई छिटो पुरा गर्नुपर्छ। 

र, यी दुई मार्गलाई कोशी, गण्डकी र कर्णाली कोरिडोरबाट उत्तर–दक्षिण जोड्नुपर्छ भन्ने मेरो सुविचारित नक्साङ्कन हो। त्यो सही छ, वैज्ञानिक छ भन्ने मलाई लाग्छ।  

नयाँशक्ति गठनपछि तपाईंले मध्यपहाडी लोकमार्ग सुरु हुने चिवा भन्ज्याङदेखि झुलाघाटसम्मको यात्रा पनि गर्नुभयो। आफूले अघि सारेको अवधारणा अनुसार निर्मित लोकमार्गको राजनीतिक भ्रमणमा जाँदा कस्तो अनुभूति भयो? 
त्यो यात्रा मेरो जीवनको अविस्मरणीय मध्येको एउटा यात्रा हो। २०७५ माघ १५ देखि फागुन १५ सम्म हामी त्यो यात्रामा थियौँ। १५ माघमा ताप्लेजुङको चिवाभन्ज्याङबाट सुरु भएको यात्राको समापन १५ फागुनमा बैतडीको झुलाघाटमा भएको थियो। त्यसक्रममा हामी २८ वटा जिल्ला पुग्यौँ। १ सय ४४ स्थानमा भेटघाट र सभा गर्यौँ। 

स्व–अध्ययनको निम्ति आफूलाई बुझ्ने प्रक्रियामा मेरा लागि त्यो ठूलो उपलब्धि थियो। मलाई त्यसले आफ्नो देशलाई थप बुझ्न, आगामी दिनमा योजना बनाउन मद्दत पुर्याएको छ।  

मध्यपहाडी लोकमार्गमा पर्ने भेगमा जातीय विविधता भेटिन्छ। पूर्वी मधेशमा मधेशी समुदाय र पश्चिमी मधेशमा थारुको जनसंख्या ठूलो छ। यिनीहरु तै तराई–मधेशमा मुख्य जाति हुन्।  

तर, पहाडमा हेर्यौँ भने पूर्वमा लिम्बु, बीचमा राई, त्यसपछि तामाङ, नेवार, गुरुङ, मगर र पश्चिममा खसहरुको बसोबास छ। यस्तो विविधता भएको ठाउँ हो पहाड। तर सडकको अभावमा पूर्व–पश्चिमबीच अन्तरघुलन हुन पाएन। कर्णालीको खस पूर्वको लिम्बुसँग सिधै जोडिन पाएन।

त्यसैले, जातीय र राष्ट्रिय एकता कायम गर्न पनि मध्यपहाडी लोकमार्गको ठूलो भूमिका हुन्छ भन्ने बोध मलाई त्यो यात्राका क्रममा भयो। यात्राको क्रममा मैले विविध संस्कृतिहरु देख्ने र बुझ्ने अवसर पाएँ। यसबाट मलाई नेपाल साँच्चिकै रमणीय फूलबारी रहेछ भन्ने बोध पनि भयो। त्यो फूलबारी मैले प्रत्यक्ष आँखाले देखेँ। 

सबैलाई मेरो आग्रह छ, सबै नेपालीहरुले चिवाभन्ज्याङदेखि झुलाघाटसम्मको यात्रा गर्नुपर्छ।

आगामी एक सय वर्षमा मध्यपहाडी लोकमार्गको यात्रा गर्दा त्यहाँ कस्तो दृष्य देखिएला भन्ने लाग्छ? 
एक त देशभित्र सबैभन्दा पहिले राजनीतिक स्थिरता हुनुपर्यो। हाम्रो देशमा हिमाल, पहाड र तराईका आ–आफ्ना विशेषता छन्। जातीय, भौगोलिक विशेषता सम्पदाहरु छन्। मधेशको जमिन, हिमाल र पहाडका खनिज पदार्थ र जंगल सबैलाई मिलाएर हामीले देशको विकास र योजना बनाउने हो। 

यसका लागि सबैभन्दा पहिले राष्ट्रिय स्थायित्व हुनुपर्छ। सँगसँगै विविध जातिहरुको बीचमा एकता पनि कायम हुनुपर्छ। त्यसपछि दुरदृष्टियुक्त नेतृत्वले १०–२० वर्षको योजना बनाएर देशको आर्थिक रुपान्तरण गर्ने योजना कार्यान्वयन गर्नुपर्छ।   

मेरो सय वर्ष बाँच्ने आकांक्षा छैन। त्यति लामो समय बाँच्न आवश्यक पनि छैन। तर, माथि मैले भने अनुसार आर्थिक रुपान्तरणको योजना निर्माण र त्यसको कार्यान्वयन हुन सक्यो भने आगामी २० वर्षभित्रै अर्थात् सन् २०४२–४३ ताका मध्य पहाडी राजमार्ग वरिपरि निकै ठूलो कायापलट भएको हुनेछ। बाँचेछु भने त्यो बेला म ८८–८९ वर्षको हुनेछु। 

त्यतिबेलासम्म विश्वमा ठूलो परिवर्तन आउँछ। विश्वको सबैभन्दा ठूलो शक्ति चीन भइसकेको हुनेछ। भारत पनि तेस्रो ठूलो शक्ति भइसकेको हुनेछ। दुवै छिमेकीसँग हाम्रो सम्बन्ध घनिष्ठ, नजिक भइसकेको हुनेछ। हिमाल वारपार गर्ने रेल पनि बनिसकेको हुनेछ। यस हिसाबले भारत र चीनको गतिशील पुलको रुपमा नेपाल बनेको हुनेछ। 

जसरी संसारभरिका ठूला व्यवसायीहरुले आफ्नो व्यापारिक हेडक्वार्टर सिंगापुरमा राखेका हुन्छन्, त्यसैगरी २० वर्षपछि चिनियाँ, भारतीय र अमेरिकीहरु पनि यहाँ व्यापारिक केन्द्र राख्न आउनेछन्। अर्थात् यदि राजनीतिक स्थायित्व प्राप्त गरी योजनाबद्ध विकासको योजना कार्यान्वयन गर्न सक्यौँ भने नेपाल पनि सिंगापुरजस्तै विश्वको औद्योगिक विकासको, शैक्षिक विकासको केन्द्र बन्न सक्नेछ। 

पहाडी क्षेत्रलाई यस्तो कायापलट गर्ने भूमिका पूर्व–पश्चिम लोकमार्गले खेल्न सक्ला र? 
सक्छ। किनभने, यो लोकमार्गले पूर्वको लिम्बुवानदेखि लिएर पश्चिमको खसानसम्मको बस्तीलाई जोड्छ। त्यसले गर्दा हामी नेपालीहरुको बीचमा जातीय सद्भाव निर्माण गर्न त्यसले गजबको भूमिका खेल्छ। 

यो लोकमार्गवरिपरि पर्यटकीय र विभिन्न सेवा क्षेत्र, सूचना प्रविधि, स्वास्थ्य र शिक्षाका ठुल्ठूला केन्द्रहरु निर्माण गर्न सकिन्छ। हामीले जुन बुढीगण्डकी जस्ता जलाशययुक्त परियोजनाहरु परिकल्पना गरेका छौँ, तिनका वरिपरि रमणीय पर्यटकीय केन्द्रहरु बनाउन सकिन्छ। हाम्रा धार्मिक स्थलहरु पूर्वको पाथिभरादेखि पश्चिमको राराको लेकमा पर्ने खप्तडसम्म छन्। यी धार्मिक केन्द्रहरुलाई पनि यही लोकमार्गले जोड्छ।

हाम्रो पहाडी क्षेत्रसँग दक्षिण एसियाको अत्यन्त गर्मी क्षेत्रका पर्यटकहरुलाई आकर्षित गर्नसक्ने खुबी छ। त्यसबाहेक लाखौँ चिनियाँ पर्यटकहरुलाई पनि यसले आकर्षित गर्न सक्छ। त्यसैले, पहाडी–हिमाली क्षेत्र नेपालको विकासको मेरुदण्ड बन्न सक्छन् र त्यसमा मध्यपहाडी लोकमार्गले भूमिका खेल्छ भन्ने मलाई लाग्छ।

चैत ३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .