ad ad

अन्तर्वार्ता


सरकारबाट बाहिरिने अवस्था आउँछ भन्ने अनुमान नहुँदा कांग्रेसलाई ठूलो क्षति भयो : प्रदीप पौडेल (अन्तर्वार्ता)

‘प्रतिपक्षीय भूमिका कांग्रेसका लागि अवसर हो, निराश हुनु पर्दैन ’
सरकारबाट बाहिरिने अवस्था आउँछ भन्ने अनुमान नहुँदा कांग्रेसलाई ठूलो क्षति भयो : प्रदीप पौडेल (अन्तर्वार्ता)

केशव सावद
पुस १९, २०७९ मंगलबार १८:४२, काठमाडौँ

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव पहिलो दल बनेको नेपाली कांग्रेस सरकार गठनको बेला गठबन्धन विभक्त हुँदा प्रतिपक्षमा पुगेको छ। संघदेखि प्रदेशसम्मका दर्जनौँ पद गुमेपछि कांग्रेस नेताकार्यकर्ता स्तब्ध छन्। धेरैले सभापति शेरबहादुर देउवाको चतुर्याइँ नपुग्दा यो असफलता हात लागेको तर्क गरेका छन्।

सभापति देउवा हाल पार्टीभित्रै घेराबन्दीमा परेका छन्। संस्थापन इतर समूहका केही नेताहरुले विशेष महाधिवशेन बोलाएर नेतृत्व परिवर्तनदेखि राजीनामासम्मका माग गरिरहेका छन्। 

पार्टीभित्रै अन्तर्विरोध बढेपछि सभापति देउवाले पुस २२ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। बैठकका लागि ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को समीक्षा सम्बन्धमा’, ‘समसामयिक राजनीतिका सन्दर्भमा’ र विविध गरी तीन वटा एजेन्डाहरु तय गरिएको छ।

पुस २२ गते बस्न गइरहेको केन्द्रीय कार्यसमिति बैठकमा हुने छलफल, कांग्रेस कार्यकर्तामा व्याप्त निराशा र पार्टीले अबका दिनमा अपनाउनुपर्ने रणनीतिलगायतका विषयमा नेपालखबरले काठमाडौं–५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा केन्द्रीय सदस्य प्रदीप पौडेलसँग गरेको कुराकानी :

सरकारको नेतृत्व गरिरहेको र जनमतबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस एकाएक प्रतिपक्षमा बस्नु पर्यो। यो घटनालाई कसरी विश्लेषण गरिरहनुभएको छ?
यो घटनालाई हामीले गहिरिएर समीक्षा गर्न जरुरी छ। के कारणले यस्तो भयो? यसमा कमीकमजोरी क–कसको हो, त्यसलाई ‘रियलाइज’ गरेर आगामी दिनमा त्यसको पुनरावृत्ति हुन नदिने गरी अब हामीले आफ्नो भूमिका बदल्न सक्नु पर्छ। 

सत्ताको मनोविज्ञान त्यागेर प्रतिपक्षीय भूमिका प्रभावकारी बनाउने गरी हामी अगाडि जानुपर्छ। जेजस्तो भयो त्यसअनुसार अब हामीले आफूलाई फेरि सक्रिय बनाउने, राष्ट्रिय भूमिकामा प्रभावकारी देखाउने, तमाम बेथितिका विरुद्ध प्रहार गर्ने, जनताका आवाजहरुलाई बुलन्द गर्ने गरी हाम्रो संगठन संरचनालाई क्रियाशील बनाउन सक्नुपर्छ। त्यसअनुसारको अभियान सञ्चालन गर्न सक्नुपर्छ। संसदमा पार्टीको उपस्थिति अत्यन्तै प्रभावकारी बनाउनुपर्छ।

नेकपा माओवादी केन्द्रलगायतका अन्य दलहरुसँगको १५–२० वर्षसम्म टिक्ने भनिएको गठबन्धन अचानक भत्कियो। यसको मुख्य दोषी को हो? 
यो कुरा हामीेभन्दा पनि माओवादीहरुले नै गर्नुभएको हो। उहाँहरुले त्यसो भन्नुभयो तर इमान्दारी कायम राख्नुभएन। अब दोषीको कुरा गर्दा, गठबन्धनमा भएका कांग्रेस र माओवादी दुवैको त्रुटि देखिन्छ। तर, कुरा के हो भने अहिले प्राप्ति त माओवादीले गरेको छ, प्राप्ति हुँदा त बेइमानी गर्न पनि तयार भएको जस्तो देखियो। 

अब मानिलिउँ, कांग्रेससँगको छलफलमा कुरा नमिलेको हुन सक्छ, तर त्यो गठबन्धनको सीमारेखा तोडेर गठबन्धनमा नभएकाहरुसँग मिलेर सरकार बनाइसकेपछि त माओवादीले त्यो कुरा स्वीकार गर्नुपर्यो। त्यसो हुनाले नेपाली कांग्रेस सबैभन्दा ठूलो दल थियो, त्यो दलले नेतृत्व गर्न पाउनुपर्छ भनेर छलफलका क्रममा भन्ने कुरा त्यति अस्वाभाविक होइन। 

त्यसमा हामीले विचार पुर्याउनुपर्ने कुरा के थियो भने आफूले नेतृत्व गर्न नपाएको अवस्थामा सरकारबाट नै बाहिरिने स्थिति बन्छ भन्ने अनुमान पनि भएन। तर, हामीले हाम्रो तर्फबाट के सुविचार गरिनुपर्थ्यो भने– सकेसम्म सरकारको नेतृत्व गर्ने, त्यो गर्न सकिएन भने अरुको नेतृत्वमा अहिलेका उपलब्धिहरुलाई जोगाएर गठबन्धन कायम गरेर अगाडि जाने कुरामा हाम्रो पनि सावधानीपूर्वक भूमिका हुनुपर्थ्यो।

सँगसँगै माओवादीले पनि गठबन्धन जोगाएर यही गठबन्धनबाटै अगाडि बढ्ने कोसिस गर्नुपर्थ्यो। गठबन्धनभन्दा बाहिरका दलहरुसँग गएर सरकार बनाएर गइसकेपछि माओवादीको पनि त्रुटि भयो। हामीले त्यसअनुसार सावधानी अपनाउन नसक्नुलाई कमजोरीका रुपमा स्वीकार गर्नुपर्छ। 

गठबन्धन टुट्दा संघदेखि प्रदेशसम्म एकै पटक नेपाली कांग्रेस प्रतिपक्षमा पुग्यो। नेपाली कांग्रेसको अबको ‘मुभ’ के हुन्छ? 
यसमा एकदमै ठूलो भुइँचालो आएको जस्तो, भयंकरै ठूलो क्षति भएको जस्तो जुन ढंगले बुझिएको छ, त्यस्तो हुँदै होइन। मलाई त सत्तामा भन्दा बढी भूमिका प्रतिपक्षमै हुन्छ जस्तो लाग्छ। किनभने हामी सानो संख्यामा छैनौँ। देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस हो। सबैभन्दा ठूलो पार्टीको संस्कारको हिसाबले हेर्दा सत्ताको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने हो। तर, हामीविरुद्ध संगठित भएर अरुले सत्ताको नेतृत्व गरिरहनुभएको छ। 

हामी एक्लै जसो प्रतिपक्षमा छौँ। प्रतिपक्षको सत्तालाई हामीले प्रभावकारी ढंगबाट बेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, प्रशासनिक अल्झनहरुलाई अन्त्य गर्ने हिसाबले, सरकारको कमी–कमजोरीमाथि खबरदारी गर्ने गरी हामी अगाडि बढ्न सक्नुपर्छ। 

अब प्रतिपक्षीय भूमिका निर्वाह नै गर्न सक्दैनौं भनेर डराएको हो भने एउटा कुरा। होइन भने प्रतिपक्षीय भूमिका प्रभावकारी ढंगले गर्न सक्ने स्थिति हो भने हामीलाई त यो अवसर हो। यसलाई अवसर मानेर हामी अगाडि बढ्नुपर्छ। 

सत्ता भनेको केही पनि होइन, प्रतिपक्षीय भूमिका नै ठूलो भूमिका हो भन्नुभयो। तर, एक प्रकारले हेर्दा त यो कांग्रेसका लागि ठूलो झड्का नै हो नि। यसले आन्तरिक कलह पनि त बढाएको छ नि कांग्रेसभित्र?
मैले सत्ता केही होइन भनिनँ। पाएसम्म सत्तामै रहेर जनताको पक्षमा लोकप्रिय काम गरेर पार्टीलाई लोकप्रिय बनाउन, काम गरेको हो भन्ने म्यासेज दिने मौका हामीले खोजेका थियौँ। त्यो मौका प्राप्त नभइसकेपछि जे प्राप्त भइसकेको छ, त्यसलाई अधिकतम उपयोग गर्ने कुरा महत्वपूर्ण हो। 

त्यसैले आजको दिनमा नेपाली कांग्रेसका देशभरका आम कार्यकर्ता, शुभेच्छुकहरुसँग म के आग्रह गर्न चाहन्छु भने हाम्रो सबैथोक गुमेको होइन। नयाँ अवसर हामीलाई प्राप्त भएको छ। यो अवसरलाई हामीले सशक्त र प्रभावकारी ढंगबाट उपयोग गर्ने कोसिस गरौं। 

हामीलाई सत्तामा बस्न बानी परेको जस्तो, पानीबिनाको माछा छटपटाए जस्तो गरी छटपटाउनु पर्ने कुनै आवश्यकता छैन। त्यो खासगरी सत्ताले भन्दा बढी प्रतिपक्षले ‘डेलिभर’ गर्ने स्थिति निर्माण गर्न सक्छ। खबरदारी गर्न सक्छ। बेथितिका विरुद्ध सशक्त ढंगले लड्न सक्छ। तमाम समस्या हल गर्ने कुरामा अगुवाइ गर्न सक्छ। त्यसैले त्यो पाटोबाट हामी अगाडि बढ्नु पर्छ। अब त्यो नै हाम्रो बाटो हो। त्यसलाई नै प्रभावकारी बनाउनुपर्छ भन्ने निष्कर्ष बन्यो र त्यसअनुसारको रणनीति तयार गर्यौँ भने कलह हुनुपर्ने केही कारण छैन। 

पुस २२ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। बैठकमा मंसिर ४ मा सम्पन्न चुनाव र पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा कसरी हुनपर्छ जस्तो लाग्छ? 
मलाई सोध्नुभयो, मेरो भनाइ के छ भने पछिल्लो घटनालाई गहिरिएर निर्मम ढंगबाट समीक्षा गर्न जरुरी छ। के कमजोरीका कारणले यस्तो भयो? संस्थागत ढंगबाट चल्ने अभ्यास हामीमा अझै विकसित भएको छैन। त्यसैले संस्थागत ढंगबाट चल्ने अभ्यास भएको भए एक–दुई जनाले निर्णय गर्नुको साटो सबैजना बसेर निर्णय गरेको भए बाहिर के भइरहेको छ भन्ने सूचना पनि ज्यादा प्राप्त हुने स्थिति हुन्थ्यो। वैकल्पिक कुराको तयारी भएको जानकारी हुने अवस्था हुन्थ्यो।   

त्यसैले पार्टीभित्र संस्थागत निर्णय गर्ने प्रक्रियालाई अब सधैँ अवलम्बन गरिनुपर्छ। यो घटनाबाट हामीले यही सिक्ने हो। त्यो कुरा सभापतिज्यूले पनि ‘रियलाइज’ गर्नुपर्यो। अरुले पनि ‘रियलाइज’ गर्नुपर्यो। अब कमी–कमजोरी भएको कुरालाई महसुस गरेर हामीले हाम्रो गतिविधि प्रतिपक्षीय भूमिका प्रभावकारी बनाउने गरी तय गर्नुपर्छ। 

यसका लागि पदाधिकारीहरुले अबका कार्यक्रमहरु के–के हुन्, कसरी अगाडि बढ्ने भन्ने प्रस्ताव प्रस्ताव ल्याउनुपर्यो। त्यो प्रस्ताव कस्तो हुनपर्छ भने प्रतिपक्षीय भूमिका प्रभावकारी बनाउने खालको हुनपर्छ, बेथितिविरुद्धको हुनपर्छ, भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा, सरकारका कमी–कमजोरी औँल्याउने खालको हुनपर्छ।

सबैलाई सच्चिनका लागि व्यापक दबाब सिर्जना गर्ने गरी हामीले ‘मुभमेन्ट’ सिर्जना गर्न सक्नुपर्छ। त्यस्तो भयो भने जनताको समर्थन पनि प्राप्त हुन्छ, हाम्रो भूमिका पनि देखिन्छ अनि पार्टीभित्रको अन्तर्विरोध पनि समाप्त भएर जान्छ। पार्टीभित्र एकता कायम गर्ने अवस्था पनि बन्छ। सत्तामा नरहेर अर्को ढंगले लोकप्रिय बन्ने परिस्थिति पनि बन्छ। 

त्यसैले २२ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा पहिलो कुरा पछिल्लो घटनाक्रमको समीक्षा गर्ने, समीक्षा गर्दा आएका त्रुटि, कमजोरीलाई स्वीकार्न सक्नुपर्यो। त्यसलाई आलोचना भयो भनेर दुःख मान्नु भएन। किनकि भएको कुरा त गर्नुपर्ने भइनै हाल्छ। त्यसैले निर्मम ढंगले समीक्षा गरेर नयाँ बाटो तय गर्ने कुरा नै यो पटकको केन्द्रीय कार्यसमिति बैठकको मुख्य विषय हुनुपर्छ। 

केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन इतर समूहले पार्टी सभापतिविरुद्ध घेराबन्दी गर्ने संकेतहरु देखिन्छन्। केही नेताहरुले सार्वजनिक रुपमै विशेष महाधिवेशन बोलाएर नेतृत्व नै परिवर्तन गर्नुपर्छ भनिरहनुभएको छ। यो सम्भव छ? 
मुख्य नेतृत्वमा सभापतिज्यू नै हुनुहुन्छ। धेरै कुराहरु उहाँसँग नै ठोक्किन्छन्। जस–अपजसको भागिदार त प्रतिशतको हिसाबले बढी उहाँ नै हुनुहुन्छ। त्यसकारण घटना के भएको हो, कसरी भएको हो, कहाँ त्रुटि भएको हो, त्यसलाई महसुस गर्ने ढंगबाट अगाडि जाने हो भने वातावरण संग्लिन्छ भन्ने मलाई लाग्छ। 

होइन, यो केही पनि भएको होइन, सामान्य कुरा हो भन्ने ढंगबाट जान खोजियो भने अन्तरविरोध बढ्न सक्छ। त्यसैले अहिले त हामीले त्यसको समीक्षा गर्ने, समीक्षा गरेर अगाडि बढ्ने भनेको हो। समीक्षा गर्न तयार हुनुपर्यो। काम गर्दा भएका त्रुटि, कमजोरी अरुले औँल्याइदियो भनेर अन्यथा लिनुभएन। त्रुटि भयो, अब त्यस्तो हुँदैन सच्याएर अगाडि बढ्छौं भन्ने प्रतिबद्धता आउनुपर्यो। त्यो भइसकेपछि नयाँ बाटो तय गर्ने, अबका दिनमा हामी कसरी अगाडि बढ्ने भन्नेबारेमा साझा अवधारणा बनाएर संस्थागत निर्णयका साथ अगाडि जाँदा खासै समस्या हुँदैन। 

कांग्रेस जसरी अचानक प्रतिपक्षमा पुग्यो, त्यसैगरी फेरि सत्तामा आउने कुनै सम्भावना छ?
यो सम्भावना त हुन्छ नै। यो गठबन्धन सरकार हो। संसदमा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो। एउटै पार्टीले सरकार बनाउने स्थिति छैन। त्यसैले अन्तर्विरोधहरु उहाँहरुका बीचमा पनि पर्छ नै। अहिलेको सरकार जगबिनाको घर जस्तो छ। सैद्धान्तिक हिसाबबाट उत्तर र दक्षिण फर्किएका मान्छेहरु सरकाररुपी घरमा सँगै बस्नुभएको छ। उहाँहरु कुन कुरामा मिल्नु हुन्छ होला र? 

केपी ओलीले प्रतिगमन गरेकाले हामी उहाँविरुद्ध संगठित भएर लडेका हौं भनेर निर्वाचन लड्नुभएको हो। अहिले केपी ओलीसँगै मिलेर उहाँहरुले सरकार बनाउनुभएको छ। विगतमा उहाँहरुले मिलेर दुई तिहाइ सरकारको नेतृत्व गर्नुभएको हो। सफल नेतृत्व गर्न नसकेर संसद् नै दुई पटक भंग हुने स्थिति बनेको थियो। 

त्यसैले अहिले पनि यी बहुरुपी मान्छेहरु एकै ठाउँमा बसेर बनेको सरकार लामो समय जान सक्छ भन्ने मलाई लाग्दैन। तर, पनि कांग्रेसले सरकार कसरी भत्काउने, नयाँ सरकार कसरी बनाउने, आफू सरकारमा कसरी सामेल हुने भन्ने कुरामा केन्द्रित हुनु स्वाभाविक होइन। उहाँहरु नै नमिलेर सरकार ढल्छ। हामीले त्यस्तो गर्नै पर्दैन। हामीले प्रतिपक्षीय भूमिका कसरी प्रभावकारी बनाउने भन्ने बाटोबाटै जानुपर्छ।   

कांग्रेसले संघदेखि प्रदेशसम्म थुप्रै पदहरु गुमाउँदा कार्यकर्तामाझ व्यापक निराशा छाएको जस्तो पनि देखिन्छ। यसलाई अब तपाईंहरुले कसरी व्यवस्थापन गरेर जानुहुन्छ?
कांग्रेस रणनीतिक हिसाबबाट सत्तामा गएर जनताको पक्षमा काम गर्ने र काम गरेर देखाउने, लोकप्रिय बन्ने भन्ने उदेश्यसँग जोडेर पछिल्लो घटनालाई हेर्ने हो भने धेरै ठूलो क्षति भएको छ। एउटा मुख्य पद हामीले छोड्दा धेरै कुरा प्राप्ति हुन्थ्यो भन्ने आममनोविज्ञान बनेको छ। तर, अब त्यो त भइसक्यो। त्यो त्रुटि हो भन्ने कुरा स्वीकार गरेर अहिले हामी जहाँ छौँ, त्यहाँ कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने हो। त्यसैले निराश हुनुपर्ने, यसले धेरै ठूलो क्षति गर्यो, अब उठ्नै सकिन्न भन्नुपर्ने त्यस्तो केही छैन। हामी प्रतिपक्षमै बसेर झन् लोकप्रिय हुने, झन् बढी जनताको पक्षमा काम गर्ने, झन् बढी भूमिका देखाउने अवस्था हुन्छ। त्यो कुरा हामीले साथीहरुलाई बुझाउन सक्नुपर्छ।     

कांग्रेसमा नीति महाधिवेशनको माग उठिरहेको छ। यसबारे तपाईंको धारणा के छ? 
नीति र नेतृत्व छुट्टयाउने कुरै हुँदैन। नीति नभएको नेतृत्व पनि हुन्छ त? हामीले महाधिवेशनमा नेतृत्व छनौट गर्दा व्यक्ति रोज्ने होइन। व्यक्तिले कस्तो नीति ल्याएको छ त्यस आधारमा महाधिवेशनमा प्रतिस्पर्धा गर्ने हो। मै महामन्त्रीको उम्मेदवार हुँदा मैले पनि डकुमेन्ट ल्याएको छु। मेरो डकुमेन्टको आधारमा मलाई हुन्छ र हुन्न भन्ने हो। मलाई भोट हाल्नु पर्छ र पर्दैन भन्ने कुरा निर्धारण हुनुपर्छ भन्ने मेरो कुरा हो। 

त्यसैले नीतिबिना नेतृत्व छनौट गर्ने कुरै हुँदैन। नेतृत्व छनौट गर्ने अनि बल्ल नीतिका बारेमा छलफल गर्ने कुरा पनि कहीँ डेमोक्र्याटिक हुन सक्छ? नीति सहितको नेतृत्व हामीले खोजेको हो। 

त्यसकारण नीति महाधिवेशन प्रासंगिक हो भन्ने मलाई लाग्दैन। छलफल गर्ने फोरम त बनाउन सकिन्छ। तर, खास आधिकारिक हिसाबबाट हामीले छलफल गर्ने हो भने महासमितिको बैठक बोलाउनु पर्छ। हरेक वर्ष महासमितिको बैठक बोलाउनु पर्छ भन्ने हाम्रो विधानमा व्यवस्था छ। 

महासमितिको बैठक बोलाएर नीतिका बारेमा छलफल गरौँ न। विधानका बारेमा छलफल गरौँ न। संगठनका बारेमा छलफल गरौँ न। महासमितिले सबै कुरा गर्नसक्छ, नेतृत्व परिवर्तनबाहेक। त्यसलै नीति अधिवेशन जे भनिएको छ, जे गर्न त्यो भनिएको छ, त्यो काम महासमितिको बैठकले गर्न सक्छ। आधिकारिक रुपमा विधानमा व्यवस्था भएको समितिको बैठक नगरेर अन्य कुरा गर्नु उपयुक्त हुँदैन।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .