अन्तर्वार्ता


अग्नि खरेल : कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मान्छ कि मान्दैन हेर्दै छौँ (अन्तर्वार्ता)

अग्नि खरेल : कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मान्छ कि मान्दैन हेर्दै छौँ (अन्तर्वार्ता)

एमाले नेता अग्नि खरेल भन्छन्– गठबन्धन नै फेरि सरकार बनाउँछौं भनेर लागेकाले एमाले धेरै अघि बढिसकेको छैन (तस्बिर/भिडिओ: सरोज बैजु)


रुपक चौलागाईं
मंसिर १८ , काठमाडौँ

अग्निप्रसाद खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन्। उनी गत ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित भएका थिए। राजनीतिक दलहरूबीच नयाँ सरकारको गृहकार्य चलिरहँदा खरेल अझै वामपन्थी दलहरूले सोचेर निर्णय लिनपर्ने तर्क गर्छन्। 

कुनै पनि दलको बहुमत नआएकोमा दुःख व्यक्त गर्दै खरेलले आफू अझै वामपन्थी दल मिलेर अघि बढ्नुपर्ने पक्षमा रहेको बताए। नयाँ सरकार, वामपन्थी आन्दोलन र पाँच दलीय गठबन्धनविरुद्धको चुनावी प्रतिस्पर्धा लगायतका विषयमा नेपालखबरले खरेलसँग गरेको कुराकानीः

चुनावको परिणाम लगभग आइसकेको छ। एमालेले चुनावअघि गरेको दाबीजस्तो नतिजा आएन। कसरी मूल्याकंन गर्नुभएको छ?
दाबीजस्तो परिणाम नआउनुलाई अस्वभाविक रुपमा लिन हुँदैन। किनभने हाम्रो विरुद्धमा गठबन्धन थियो, ५ वटा दलहरु हाम्रो विरुद्धमा थिए। हामी त्यसको विरुद्धमा अभियानमा थियौँ। अहिले हामी गठबन्धनको प्रभाव कहाँकहाँ पर्यो भनेर हिसाब गरिरहेका छौँ। हामीले दाबी गरेजस्तो स्थिति नआउनुको पछाडि केही ठाउँमा भएका निर्वाचनका (अनियमितता) पनि भए। कहीँ ९८/९९ प्रतिशत मतदान भएका ठाउँहरु छन्। निर्वाचन आयोगले पनि ती ठाउँहरुमा स्वतः जानकारीमा लिएर पुनः मतदान गराउनपर्ने थिति भयो। अन्य ठाउँमा ६६/६७ प्रतिशत मतदान हुँदा केही क्षेत्रमा ९८/९९ प्रतिशत मतदान भयो भने त्यसको अर्थ के हुन्छ भन्ने आयोग आफैंले बुझेर निर्णय गर्नुपथ्र्यो। त्यहाँ हामीले कुनै दबाब दिइरहनुपर्ने थिएन।

अर्को, हाम्रा प्रक्षेपण कति वस्तुगत थिए भन्ने कुराको पनि समीक्षा होला। तर, गठबन्धन जहाँ धेरै टाइट भएर गयो, त्यहाँ हाम्रा बढी सिटहरु गुमेका छन्। टाइट हुन नसकेका ठाउँहरुमा हाम्रो परिणाम सकारात्मक रुपमा नै आएका छन्। छोटकरीमा भन्दा एमाले एक्लैले चुनाव लडेको हो। त्यसकारण जति सिट प्राप्त गरिएको छ, त्यो नराम्रो छैन। यो सिटलाई एमालेले जुन परिवेशमा निर्वाचन लडेको थियो, समानुपातिकमा सम्मानजनक मत छ, प्रत्यक्ष सिटमा पनि १०/१२ सिटको मात्र अन्तर छ। एकछिनलाई मानौं, गठबन्धन थिएन भने स्थिति के हुन्थ्यो होला? एक्लाएक्लै एमालेसँग चुनाव लड्नसक्ने ठाउँमै उनीहरु थिएनन्। 

विपक्षीहरुले सत्तास्वार्थ पुरा गर्नका लागि जुन गठबन्धन गरे, त्यो असैद्धान्तिक त थियो नै। संसदीय प्रजातन्त्र अघि बढाउन अवरोध पनि थियो र छ। अहिले आएको परिणामले पनि त्यो देखाउँछ। अब कस्तो खालको सरकार बन्छ, स्थिरिता र स्थायित्वतर्फ अहिलेको परिणामले संकेत गर्दैन। यद्यपि दलहरुको कोसिस त्यसतर्फ हुनुपर्छ। हामीले मुलुकलाई निरन्तर अस्थिरतातर्फ लग्यौं भने त्यो राम्रो हुँदैन। संविधानको दीर्घ जीवनको लागि पनि त्यो सोच्नपर्छ। 

अब सरकार बन्ने चरणमा छ, तपाईंले देश अस्थिरतातर्फ जाँदैछ भनेर संकेत गरिरहँदा त्यसबाट रोक्न एमालेले के गर्छ?
अहिले उहाँहरु गठबन्धन गरेर चुनाव लड्नुभएको हुनाले, चुनावअघि नै वाचाबन्धनमा बाँधिनुभएको हुनाले, उहाँहरुसँग सामान्य अवस्थामा कमजोर खालको बहुमत पुग्छ कि जस्तो लाग्छ। १३८ को वरिपरिमा पुगिहालेन भने २/४ सिट स्वतन्त्रहरुबाट तान्ने प्रयास होला। पहिलो कुरा, अहिले उहाँहरु नै हामी बनाउँछौं भनेर लागेपछि नेकपा एमाले धेरै अघि बढिसकेको छैन। अहिले विकसित भइरहेका घटनाक्रमहरुलाई ध्यानपूर्वक हेरिरहेको छ। 

विकसित घटनाक्रमले कसरी अघि बढाउँछ, उहाँहरुकै दलभित्र पनि को प्रधानमन्त्री बन्ने भन्ने कुराको टुंगो लागिसकेको छैन। नेपाली कांग्रेसभित्रै ४/५ जना व्यक्तिहरु संसदीय दलको निम्ति मत मागेर हिँडेको देखिइरहेको छ। निर्वाचनअघि पनि पुष्पकमल दाहाल प्रचण्डले अबको प्रधानमन्त्री जनताले आफूलाई बनाउन चाहेको भाषा बोल्नुभएको छ। गठबन्धनभित्र नै एकभन्दा बढी व्यक्ति प्रधानमन्त्रीको आकांक्षी भएको, गठबन्धन गर्नुपूर्व नै उहाँहरु प्रधानमन्त्री नटुंग्याई निर्वाचनमा जानुभएको, निर्वाचनको परिणाम आइसकेपछि पनि उथलपुथल भइरहेको कारणले कताबाट जान्छ भनेर निश्चित भइसकेको छैन।

भिडिओः

यो परिस्थितिमा सरकार उहाँहरुबीचमै बन्ने प्राथमिकतामा पर्छ भन्ने मलाई लाग्छ। त्यसकारण नेकपा एमाले अघि बढेर यसको बारेमा दृष्टिकोण ल्याएको छैन। उहाँहरुले सरकार बनाएको खण्डमा हामी स्वतः प्रतिपक्षीको भूमिकामा हुन्छौं। संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दलको रुपमा हामी रचनात्मक रुपमा हुन्छौँ।

एमालेले सरकार गठनका लागि अरु दलहरुको साथ लिन प्रयास गरिरहेको छ त? 
अब तुरुन्तै चुनावमा जानसक्ने स्थिति बन्दैन। जान पनि हुँदैन। यदि यो गठबन्धनको सरकार बन्नसक्ने स्थिति बनेन भने सरकार बनाउनबाट नेकपा एमाले पछाडि हट्न हुँदैन। अहिले पनि पहलकदमी हामीले लियौँ भने त्यो अनुचित हुँदैन। समानुपातिकतर्फको हिसाबले ठूलो पार्टी हामी नै छौँ। प्रत्यक्षतर्फ हेर्दा नेपाली कांग्रेस देखिन्छ। दुवै जोड्दा नेपाली कांग्रेस सिटको हिसाबले अलिकति बढी देखिन सक्छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा जोड्दा एकदुई सिट मात्र तलमाथि होला। त्यसकारण हामीले नै पहल गर्यौं भने त्यो अनुचित नहोला। तर, उहाँहरुले निर्वाचनअघि नै हामी गठबन्धनको सरकार बनाउछौं, यो जुनीजुनीको लागि हो भनेर भन्नुभएको कारणले र अहिले पछिल्ला छनक पनि केही नेताको दौडधुप र वार्ता देख्दा स्वाभाविक रुपमा उहाँहरुलाई अघि बढ्न दिँदा केही समस्या हुँदैन।

तर, प्रधानमन्त्री को बन्छ र देशमा सहमति हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छजस्तो मलाई लाग्छ। नेपाली कांग्रेसको तर्फबाट प्रचण्डलाई प्रधानमन्त्री मानिन्छ वा मानिँदैन, अर्कोतर्फबाट प्रचण्डजी आफैं अर्कोलाई प्रधानमन्त्री मान्नुहुन्छ कि हुन्न भन्ने पनि होला। अहिले हामी घटनाक्रम कसरी विकसित हुँदै जान्छ भनेर नजिकबाट हेर्छौं।

बजारमा विभिन्न अनुमानहरु छन्। बजारमा वामपन्थीहरुकै नेतृत्वमा सरकार बन्नपर्छ भन्ने दृष्टिकोणहरु पनि आएका छन्। वामपन्थीहरु मिल्दा सरकार बन्ने स्थिति पनि छ। तर, केलाई प्राथमिकता दिएर अघि बढ्ने भन्ने मुख्य हुन्छ। अहिले पनि वामपन्थीहरुको निकै ठूलो जनमत छ। एमाले र माओवादीले प्राप्त गरेको समानुपातिकको मत प्रतिशत र अरु वामपन्थी दलहरुको प्रतिशत हेर्दा अहिले पनि नेपालमा वामपन्थीको ठूलो जनमत देखिन्छ। 

यो ठूलो जनमत भएको अवस्थामा किन त्यो खालको सरकार निर्माणमा नजाने भन्ने मत पनि जबरजस्त रुपमा अघि बढेको छ। म व्यक्तिगत रुपमा त्यसको पक्षमा छु। 

मतगणना चलिरहँदा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फोन संवाद भयो। तपाईंले भन्न खोज्नुभएको र त्यो संंवादको अन्तर्य एकै हो? 
अध्यक्षसँग मेरो भेट हुन पाएको छैन। कुन आधारमा उहाँहरुबीच कुराकानी भयो भन्ने बुझेको छैन। म आफैंले पनि प्रचण्डले चुनाव जितेपछि बधाई दिएको छु। मैले चुनाव हारेँ तर उहाँले जित्नुभयो। मैले उहाँलाई बधाई त दिएँ। मलाई लाग्छ, पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक बधाई दिनुभएको हो। पार्टीको अध्यक्षले बधाई दिनुपर्छ र दिनुभयो। नेपालको राजनीतिमा त्यो चल्छ, प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि उहाँले बधाई दिनुभयो। त्यसैलाई आधार बनाएर त्यो संवादको अन्तर्य यही हो भन्न सकिँदैन। 

तर, यतिबेला नेपालका वामपन्थीहरुले सोच्नपर्ने बेला भएको छ। यो मेरो नितान्त व्यक्तिगत कुरा हो, मलाई कतै न कतै यत्रो ठूलो वामपन्थी जनमत देशभित्र छ भने यसको कदर गर्ने दायित्व नेताहरुको हो कि होइन? मेरो विचारमा हो। र हुनुपर्छ। 

नेकपा एमाले, माओवादी र अन्य वामपन्थी दलहरूसँग जति सिटहरु छन्, सँगसँगै नेकपा एमालेले तालमेल गरेका विभिन्न राजनीतिक दलहरुसँग भएको मत प्रतिशत र त्यसबाट निर्वाचित भएर आएका प्रतिनिधि सभाका प्रत्यक्ष सिट जोडघटाउ गर्दा त्यो पनि बहुमतमा पुग्छ। त्यसकारण कस्तो सरकार बनाउने भन्नेमा यो कुरा जोडिएको छ। 

दुई वा दुईभन्दा बढी दलको सरकार नबनेको खण्डमा ठूलो पार्टीको अवस्थामा पुग्ने हो। अहिलेसम्म हामी त्यो अवस्थामा पुगेका छैनौं। किनभने, बहुमत कसैको पुगेन, त्यो नहुने बित्तिकै दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनपर्ने हुन्छ। निर्वाचनको मतपरिणाम नआइसकेको कारणले अहिले नै सबै भन्न सान्दर्भिक पनि नहोला। 

वर्तमान अवस्थामा कुनै दलको बहुमत छैन। त्यसमा एउटाले गरेको प्रयत्न उचित, अर्कोले गरेको अनुचित भन्ने नै छैन। किनभने दलहरुको परिणाममा त्यस्तो ठूलो ग्याप नै छैन। खासगरी एमाले र कांग्रेसको बीचमा ठूलो ग्याप नै छैन। त्यो अवस्थामा जुनले पनि प्रयत्न गरेर सरकार बनाउन सक्ने भयो। 

वामपन्थी मत जोगाउने कुरा यहाँले गरिरहँदा १ वर्षअघि मात्र तपाईंहरुसँगै छुटिएर बनेको एकीकृत समाजवादीलाई पनि समेट्ने कुरा गर्नुभएको हो? 
त्यसलाई कसरी हेर्ने भन्ने हो। म चाहिँ फराकिलो क्षितिजबाट यसलाई हेर्नपर्छ भन्ने कित्ताको मान्छे हुँ। मेरो निजी मत हो। पार्टीभित्र त यसबारे छलफल हुनै बाँकी होला। दल त्यतिबेला नै विभाजित भइसक्यो, जुन हुन हुँदैनथ्यो। नेकपा एमालेलाई कमजोर बनाउनका लागि ४० प्रतिशतबाट २० प्रतिशतमा ल्याएर, ‘र’ लाई झिकेर ‘वा’ बनाएर बनेको पार्टी न हो त्यो। जेसुकै भए पनि त्यो पार्टी बनेर निर्वाचनमा गएर त्यसको परिणाम पनि उहाँहरुले भोगिसक्नुभएको छ।

जम्मा १० जना सांसदमा सीमित हुनुभएको छ। त्यो पनि गठबन्धन गर्दाखेरी भएको हो। उहाँहरुको दल राष्ट्रिय पार्टी नै नबन्ने हो कि भन्ने देखिन्छ। ३ प्रतिशत मत नै नपाउने हो कि भन्ने चिन्ता छ। उहाँहरुले पनि पाठ राम्रोसँग पढ्नुभयो होला। त्यो (वाम सरकार बन्ने) परिदृश्य आउँछ वा आउँदैन भन्ने चाहिँ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमा भर पर्छ। उहाँहरु गठबन्धनमै रहन्छौं र हामी त्यताबाटै जान्छौं भन्दा त्यो सक्किगयो। त्यही चलाए भइगयो। तर त्यसले निष्ठापूर्वक मुलुकको वामपन्थी आन्दोलन अघि बढ्छ कि बढ्दैन, हामीले जुन राजनीतिक उदेश्य बोकेका छौं, त्यसतर्फ मुलुक अघि बढ्छ कि बढ्दैन भन्ने कुरा हो। राजनीतिक उदेश्यतिर हामी जाँदैनौं, हाम्रा रणनीति पनि त्यसतर्फ होइनन्। हाम्रो कारणले यति पनि भएको होइन भने भन्नुहुन्छ भने निश्चित रुपमा उहाँहरुले अहिले जता हिँड्नुभएको छ त्यही बाटोतर्फ हिँड्दा पनि भयो। तर, होइन। हामीले अब त सोच्नुपर्ने बेलामा पुगेका छौं भन्ने लाग्छ भने यो सोच्नपर्ने समय हो भनेर म भन्छु।

०७४ सालमा पनि तपाईंहरुले भन्नुभएको त त्यही थियो नि? तर मिल्न सक्नुभएन नि? 
त्यसमा अनेकौं कमजोरीहरु देखा परे। त्यतिबेला हामीले गठबन्धन मात्र नभई पार्टी एकता नै गरेका थियौं। त्यो जोगिएन। त्यो नजोगिनुका पछाडि अनेकौं कारणहरु छन्। ती कारणहरु जोडिएकै कारण अहिले पार्टी विभाजित भएको छ। मुलुकमा विकसित भएका घटनाक्रमहरुबाट जोगिएर अघि बढ्न सबै जिम्मेवार बन्नुपथ्र्यो। प्रधानमन्त्री केपी शर्मा ओली मात्र त्यतिबेला जिम्मेवार हुनुहुँदैनथ्यो। सबै नेताहरु जजसले ती कार्यभारहरु लिएर हिँड्नुभएको थियो, सबैले ती कार्यभारहरु लिएर हिँडियो कि हिँडिएन भन्ने कुराहरु पनि छन्। जनताले आफ्नो ठाउँबाट त्यसलाई समीक्षा गरेका पनि होलान्। 

यी सबै भइसकेपछि आखिर माओवादीले हामीसँग र कांग्रेससँग मिलेर चुनाव लड्दाको परिणाम पनि देखिइसकेको छ। हामीले ५९ वटा सिट उहाँहरुलाई दिँदा ३६ वटा प्रत्यक्षमा नै जितेको थियो। आज ४६ सिटमा तालमेल गर्दा १७ सिटमा खुम्चनुभएको छ। आखिर वामपन्थी भोट जसरी ट्रान्सफर भएको थियो त्यो भोट त ट्रान्सफर भएन। एक ढंगले भन्ने हो भने उहाँहरुको आकार घट्दै गएको छ। त्यो पनि त उहाँहरुले सोच्नपर्ने होला नि। यो मेरो नितान्त निजी र व्यक्तिगत कुरा हो। तर अहिले निर्वाचनको परिणाम आउँदै गरेको, बहुमत कसैको आइनसकेको स्थितिमा मुलुकलाई कसरी अघि लाने भन्ने विषयमा माओवादी केन्द्रले सोच्नपर्ने बेला छ। 

उहाँहरु कांग्रेससँगै मिल्छौं र कांग्रेसले प्रधानमन्त्री दिन्छ, उतै जान्छौं भन्नुहुन्छ भने यो खेलमा लामो लाग्नै परेन। एमाले स्वतः प्रमुख प्रतिपक्षीको भूमिकामा हुन्छ। होइन त्यसरी जान सकिँदैन भन्ने ठाउँमा उहाँहरु पुग्नुभएको छ भने त्यतिबेला अलिकति लामो छलफल गर्नुपर्ने हुन्छ। यो अब केही समयसम्म विकसित हुने घटनाक्रममा भर पर्छ।

पहिलो सरकार बन्नुपूर्व नै एकपटक वामपन्थीहरु मिल्नुपर्छ भन्न खोज्नुभएको हो?
त्यो त कसैको बहुमत नआउनेबित्तिकै, दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार बनाउनपर्नेबित्तिकै र त्यो सम्भभावना दुवैतिर छ, त्यतिबेला सबैले सोच्न त पर्छ नै। र यो विषयमा अलिकति खुला पनि हुनैपर्छ। किनभने, भोलि एउटा सरकार बनिसकेपछि कम्तीमा २ वर्ष त जान्छ नै। यद्यपि २ वर्षको बीचमा विश्वासको मत झिकिदियो भने फेरि सरकार रहिरहन्छ भन्ने होइन। त्यतिबेला अविश्वासको प्रस्ताव पो राख्न सक्दैन त विश्वासको मतबाट हात झिक्न सक्छ। त्यो हुनेबित्तिकै सरकारले विश्वासको मत लिन सकेन भने तुरुन्तै ढल्छ। अहिलेको परिणामले के देखायो भने ५ वर्षसम्म सरकार चलाउन चाहिँ गाह्रो हुन्छ। यद्यपि चलाउनपर्छ। ५ वर्षको बीचमा पटकपटक निर्वाचन गराउने होइन। के गर्दा मुलुकले स्थायित्व र विकास पाउँछ त्यो अनुसार सोच्ने हो। म आफैं कम्युनिस्ट पार्टीको सदस्य भएको हुनाले सम्भावना हुँदाहुँदै कम्युनिस्ट पार्टीको सरकार निर्माण गरेर किन अघि नबढ्ने? त्यसको लाभ कम्युनिस्ट आन्दोलनमा सहभागी भएकाहरुले किन नलिने भन्ने कुरामा विश्वस्त छु। तर मभन्दा बढी पार्टी र नेतृत्व कन्भिन्स हुनुपर्छ। 

वामपन्थी एकीकृत गराउन तपाईंले नेतृत्वसँग कुरा गर्नुभएको छ?
म त भर्खरै चुनाव सकेर आएको छु। चुनाव हारेको छु। त्यसकारण बातचित छलफल त हामीबीच समकालीन साथीहरुबीच हुन्छ नै। तर म आफू चाहिँ यो मामलामा ज्यादा कन्भिन्स्ड छु। म हुनेबित्तिकै अरु सबै हुनुपर्छ र हुन्छन् मैले भन्न खोजेको होइन। म जस्तै साथीहरु धेरै हुँदा हुने हो। तर म मुलुकलाई कसरी अघि बढाउँदा सहज हुन्छ र वामपन्थी आन्दोलनलाई न्याय हुन्छ भनेर यो कुराहरु गरिरहेको छु। 

दल विभाजित हुँदाको असर त हुन्छ नै। अघिल्लो पटकको चुनाव र अहिलेको चुनावलाई कसरी मूल्यांकन गरिरहनुभएको छ?
विभाजनको असर धेरथोर छ। तर एकदमै ज्यादा चाहिँ होइन। एउटा लेभलको असर छ। समानुपातिकमा उहाँहरुले जुन मत प्रतिशत छ, त्यो जोडेर हेर्दा पनि असर त केही देखिन्छ। त्यो नांगो आखाले पनि देखिने कुरा हो। प्रत्यक्ष सिटहरुमा पनि केही असर नपरेको भने होइन। करिबकरिब ३ लाख मत बाहिरिएको देखिन्छ। माधव कमरेडको पार्टीले ल्याएको मत हेर्दा जितेकै ठाउँको हिसाब गर्दा पनि ४/५ लाख मत गठबन्धन गरेर पुर्याउनुभएको छ। तर यता सबै ठाउँको मत जोड्दा पनि ३ लाख मत पुर्याउन कठिन छ। अर्थात् अरु दलबाट मत प्राप्त गरेर उहाँहरुले चुनाव जित्नुभएको रहेछ भन्ने स्वतः देखिन्छ। जहाँ उहाँहरुले चुनाव जित्नुभएको छ, त्यहाँ समानुपातिकको मत हेर्दा एकाध सिटबाहेक उहाँहरुले जित्नुहुने थिएन। यदि पार्टी विभाजन भएको थिएन भने त त्यो मत यता आउँथ्यो नि त। केही असर छैन भन्ने पनि होइन, तर बाहिर भनिएको जस्तो होइन।

मुख्य कुरा के हो भने, जसरी अहिले गठबन्धन भएको छ त्यो मुलुकलाई अघि बढाउनेगरी भएको होइन। यो उपभोक्तावादी र असैद्धान्तिक गठबन्धन हो। यो घनघोर अवसरवादी गठबन्धन हो। निर्वाचन अघि गृहमन्त्रीको रिपोर्ट मैले कतै सुनेको थिएँ, अलगअलग निर्वाचन लड्दापनि ७८ सिट जित्छौं र एमालेले ७२ वटा जित्छ भन्नुभएको थियो। 

तर अहिले गठबन्धन गर्दा नै उहाँहरु जम्मा ५७/५८ मा पुग्नुभयो। गठबन्धन गरेकै कारणले माओवादीले पनि १७ सिट ल्याएको देखिन्छ। यद्यपि त्यो कुरालाई उहाँहरुको समानुपातिक मत घटाएर हेर्ने हो भने ७/८ क्षेत्रभन्दा बढी त चुनाव जित्ने देखिँदैन। तर यसले संसदीय शासन प्रणालीमा दलहरुले निर्वाचनको बेलामा मिलिहाल्ने अरु बेलामा फुट्ने जस्तो अवस्थामा हामी पुग्यौं नि। त्यतिबेला घनघोर सिद्धान्त र आदर्शका कुरा गर्छौं। जब निर्वाचन आउँछ त्यतिबेला हामी फेरि मिल्ने अवस्थामा कसरी पुग्यौं। यो प्रणालीलाई हामीले नबुझी पुग्यौं कि? यो प्रणालीलाई टिकाउन पनि हामी नभई हुँदैन, हामी हुनका लागि पनि गठबन्धन नभई हुँदैन भन्ने अवस्थामा हामी पुग्यौं कि? होइन भने निर्वाचनपछाडि अब बल्ल गठबन्धन हुन सक्थ्यो। निर्वाचन आफ्नो दलबाट लडेपछि मात्र हुन सक्थ्यो। निर्वाचन लड्नकै लागि गठबन्धन हो कि होइन भन्ने बुझ्नपर्छ। 

पहिलो, आदर्शले भन्दा अवसरले बढी काम गर्यो। हामी आदर्शवादी बन्न सकेनौं, अवसरवादी भयौं। दोस्रो, जुन निर्वाचन प्रणालीलाई हामीले राख्यौं, त्यो प्रणाली यो संसदीय प्रणालीलाई अघि बढाउने खालको छ कि छैन त्यो हेर्नुपर्छ। प्रत्यक्ष र समानुपातिकलाई एक ठाउँमा राखेर संविधान सभाको निर्वाचन गर्यौं, त्यो ठिकै थियो। तर यो निर्वाचन डिफेक्टिभ निर्वाचन प्रणाली हो कि होइन? आजकै दिनबाट यो बहस हुन जरुरी छ। 

यसअघि पनि मैले यो कुरा भनेको थिएँ। अहिलेको अहिले नै हुनुपर्छ मैले भनेको होइन, तर बहस त सुरु हुन सक्छ नि। यो निर्वाचन प्रणालीबाट कुनै दलको बहुमत नआउने रैछ भन्ने त देखियो। यसले सिद्ध गरेकै कारणले दलहरु गठबन्धन गर्नतिर अघि बढ्न थाले। त्यही गठबन्धन भएको कारणले घनघोर असैद्धान्तिक कामहरु हुन थाले। तर, आजका दिनमा पनि हामीले सोचेर यो निर्वाचन प्रणाली एकसाथमा राखेर जुन व्यवस्था गरेका छौं यसबारे बहस गर्नपर्ने बेला भएको छ। बहुमत आएर पनि देशमा स्थायित्व आएको छैन। 

फेरि यो अर्को बहसको पाटो छ। ०५१ सालमा कांग्रेसको बहुमत हुँदा पनि देश मध्यावधिमा गयो। ०५६ सालमा कांग्रेसको बहुमत थियो फेरि पनि संसद् विघटन भयो। केही समयअघि हाम्रो पनि बहुमत थियो तर देशको शासन नै अघि बढ्न नसक्ने स्थिति भएपछि संसद् विघटन भयो। अनेक उदाहरण हुँदाहुँदै इमानदारीपूर्वक अघि बढ्दा पनि कुनै एक दलको बहुमत पुर्याउन सम्भव छैन र देखिँदैन। अब हामीले संविधानको अभ्यासलाई विकसित गराउँदै जाँदा यी चिजहरुमा पनि ध्यान दिनुपर्ने हुन्छ। 

अन्तिममा तपाईंको प्रसंग, झापाबाट पराजित भएर आउनुभएको छ। कस्तो लागिरहेको छ?
मेरो निर्वाचन क्षेत्र २ नम्बर थियो। पार्टीले निर्णय गर्दा १ नम्बरमा लड्नुपर्ने भयो। दोस्रो, त्यो निर्वाचन क्षेत्रमा २ पटक पराजित हुनुभएको नेता विश्वप्रकाश शर्मा हुनुहुन्थ्यो। उहाँप्रति जनताको सहानुभूति थियो। त्यसलाई मैले धेरै अस्वाभाविक पनि लिएको छैन। अघिल्लो पटक हामीले निर्वाचन जिताएको सांसद माओवादी केन्द्रको हुनुहुन्थ्यो। उहाँले निर्वाचन जितेपछि निर्वाचन क्षेत्रको विकास, निर्माण र जनतासँगको सम्बन्धमा कमजोर रुपमा प्रस्तुत हुनुभएछ। निर्वाचन जितेपछि जनताले उहाँलाई कहिल्यै पनि भेट्नै पाएनन्। आाफ्नो सांसद चिन्न पनि पाएनन्। त्यसबेला हामीले नै चुनाव जिताएको कारणले असर हामीमाथि पर्ने नै भयो। उम्मेदवार दिएर गएर मान्छे चिन्ने सम्भावना पनि भएन। हरेक मान्छे घरघरमा आउनपर्ने भन्ने ठाउँमा निर्वाचन पुग्यो। र त्यो हामीबीचमा सम्भव थिएन। उता, गठबन्धन थियो त्यसको पनि प्रभाव पर्यो 

अन्तर्घातको पनि असर देखियो भनिन्छ नि?
त्यो चाहिँ हामी समीक्षाको चरणमा छौं। अहिले मैले फ्याट्ट भनिहाल्न पनि हुँदैन। समीक्षा र छलफल गरेर मात्र यो विषयमा बोल्नुपर्छ। हामी त्यसलाई पार्टीकै आन्तरिक जीवनभित्र छलफल गर्छौं। कहीँकतै बेठिक भएको रहेछ भने पनि हामी त्यसलाई ठिक गर्नेतिर लाग्छौं।

भिडिओः

मंसिर १८, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.