अन्तर्वार्ता


सीकेले मधेशमा छुट्टै स्पेस बनाए, उपेन्द्र अब आन्दोलनमा जान सक्छन् : तुलानारायण साह (अन्तर्वार्ता)

सीकेले मधेशमा छुट्टै स्पेस बनाए, उपेन्द्र अब आन्दोलनमा जान सक्छन् : तुलानारायण साह (अन्तर्वार्ता)

जेवी पुन मगर
मंसिर ९ , काठमाडौँ

संघीयताको स्तम्भ प्रदेश सभा विघटनको बहस फराकिलो हुँदै गइरहेको बेला देशलाई संघीय संरचनामा लैजान नेतृत्वदायी भूमिका खेल्ने उपेन्द्र यादव यसपालिको निर्वाचनमा नराम्ररी हार्न पुगे। आफ्नो आधार क्षेत्रबाट कहिल्यै नहारेका जनता समाजवादी पार्टीका अध्यक्ष यादवको दल समेत यसपालिको निर्वाचनमा अस्तित्व रक्षार्थ लडिरहेको छ। 

५३ जनाको ज्यान जानेगरी भएका ३ वटा मधेश आन्दोलनको नेतृत्व लिएका र करिब ५ वर्ष मधेश प्रदेश सरकार हाँकेका उपेन्द्रलाई हराएर कुनैबेला स्वतन्त्र मधेशको वकालत गर्ने जनमत पार्टीका अध्यक्ष सीके राउत मधेशी राजनीतिमा उदाउन पुगेका छन्।  

मधेश प्रदेशमा जसपा मात्र होइन, महन्थ ठाकुरको नेतृत्वमा रहेको अर्काे मधेशवादी दल लोकतान्त्रिक समाजवादी दल (लोसपा) पनि अस्तित्व रक्षाका लागि संघर्षरत छ। यो निर्वाचनले जसपा र लोसपाको नेतृत्वमा चलिरहेको मधेश प्रदेश र मधेशी राजनीतिको कमान यादव र ठाकुरबाट खोसेर जनमत पार्टीमा हस्तान्तरण गरिदिएको छ भने एमालेले आफ्नो पुरानो जनाधार फिर्ता गर्न सफल भएको छ। 

जनादेशले मधेश प्रदेशको तालाचाबी कांग्रेस र एमालेकै हातमा सुम्पिदिएको छ। यो परिवर्तनले संघीय राजनीतिमा समेत हस्तक्षेप राख्ने मधेशवादी दल र मधेशी मुद्दाको भविष्य के हुन्छ? अब मधेशमा कस्तो समीकरण बन्ला? त्यसैले सबैको चासो मधेशमा केन्द्रित देखिन्छ। हामीले यसबारेमा मधेश बुझेका अध्येता तुलानारायण साहको विचार बुझ्ने कोसिस गरेका छौँ। राजनीतिक विश्लेषक साहसँग नेपालखबरले गरेको कुराकानीः

मधेशमा विरासत बोकेको दुई वटा दलका नेताहरु पराजित भए। यसले मधेशको राजनीतिलाई दिएको सन्देश के हो?
यसपटकको निर्वाचनमा मधेशकेन्द्रित दलको रुपमा चिनिएका जसपा र लोसपा पार्टीले किन यस्तो पराजय भोग्नुपर्यो भन्ने कुरा खोज्दै जाँदा हामी के देख्छौँ भने मधेश नेताहरुप्रति जनता र कार्यकर्ताको आक्रोश पोखिएको छ। गत चुनावमा मधेशकेन्द्रित दलहरुलाई राम्रो मत दिएका थिए। यी दलहरुले त्यसअघि गरेको ६/७ महिनाको आन्दोलनमा पनि जनताले साथ दिएका थिए। तर, पाँच वर्षको दौरानमा किन यति धेरे नराम्रोसँग पराजय भोग्नुपर्यो भन्दा आम मानिस र मतदाताहरु आक्रोशित भएको पाइयो र आक्रोश पोखेको हो।

आक्रोशित किन भए त? गएको चारपाँच वर्षमा कयौँ पटक मैले मधेशको यात्रा गरेका छु। विभिन्न गाउँदेखि सहरसम्मको। अनि आम मानिससँग कुरा गर्दाखेरी पनि म बुझ्ने कासिस गर्थें– मधेश प्रदेशमा मधेशी जनताको प्रतिनिधिको सरकार बनेको छ। अहिले मधेशी राजनीतिको बारेमा जनधारणा के छ? अधिकांश ठाउँमा के जवाफ पाइन्थ्यो भने यिनीहरु पनि त्यस्तै त रहेछन्। 

लगभग १३६ पालिकामध्ये ५० वटामा मधेशी दलको नेतृत्व थियो। मधेश प्रदेशको सरकार पाँच वर्ष चल्यो, तर कुनै नयाँ काम प्रदेश सरकार र पालिका तहबाट भएन। आम मानिसले कुनै नयाँ खालको राजनीति, नयाँ खालको गतिविधि महसुस गर्न पाएनन्।

आम मानिसको बुझाइमा भ्रष्टाचार बढेको थियो। लथालिंग पहिलेजस्तै थियो। मधेशी दलको नेता भन्ने तर हामीसँग कुरा गर्दा, गाउँपालिका र प्रदेश सरकारसँग कुरा गर्दा उनीहरुको बानी व्यवहारमा कुनै खालको परिवर्तन नआएको महसुस हुन्थ्यो।

दोस्रो कुरा, मधेश प्रदेशबाट जितेर काठमाडौँ जो आएका थिए, प्रतिनिधि सभामा, उहाँहरुको त्यसबेला बाचा के थियो भने हामी संविधान संशोधन गराउँछौँ। त्यसका लागि हामी प्रयास गर्छौं काठमाडौंमा। त्यसको लागि हामी संघर्ष गर्छौं। मधेशी दलहरुले साँच्चिकै संविधान संशोधनको अपेक्षा गरेका थिए भने उनीहरुले काठमाडौँमा राष्ट्रिय सहमतिको एउटा वातावरण बनाउनुपर्ने थियो। तर, उहाँहरुले के गर्नुभयो भने दुई वटा ठूला दलको बीचमा ध्रुवीकरणतिर लाग्नुभयो र पालैपालो एक पटक एउटा एमालेको सरकारमा जानुभयो, अर्काेपटक अर्काे कांग्रेसको सरकारमा जानुभयो। सत्ताको लागि लुछाचुँडी गर्ने र अलिकति घृणित प्रकारले नै उहाँहरु सत्ता गठबन्धनमा सक्रिय हुनुभयो। संविधान संशोधनको सवालमा अप्रत्याशित रुपमा निष्क्रिय रहनुभयो।

उदाहरणका लागि, लोकसेवाले १० हजार सिटको विज्ञापन खुलाएको थियो, साढे २ हजार सीमान्तकृत मधेशी समुदाय, दलित जनजातिको सिटमाथि बेइमानी गरिएकाे थियाे। मधेशी दलका कुनै पनि नेता यसका बारेमा बोलेनन्। न संसदमा न सडकमा। अर्काे, नागरिकतासम्बन्धी विधेयक सत्तापक्ष नेपाली कांगे्रसले दुई पटक पारित गरेर पठायो। त्यतिबेला मधेशी नेताहरुले केपी ओलीसँग लबिइङ गर्नुपथ्र्याे नि त–यो हाम्रो समस्या हो, यसमा तपाईंहरुले साथ दिनुस्, अनि हामी तपाईंलाई साथ दिन्छौँ भनेर। आखिर केपी ओलीसँग सुरुमा उपेन्द्र जी सरकारमा जानुभयो। अहिले चुनावमा पनि उपेन्द्रजी नै जानुभयो। उपेन्द्रजी जानुअगाडि महन्थजी जान खोज्दै हुनुहुन्थ्यो गठबन्धनमा।

यो खालको सत्ताका लागि समर्पणको राजनीति गर्ने तर, संघर्षको राजनीति नगर्ने जुन प्रवृत्ति संघमा मधेशकेन्द्रित दलले देखाए, मलाई लाग्छ, त्यसैको परिणामस्वरुप आम मानिस मधेशी दलप्रति आक्रोशित भए र मत दिएनन्।

मधेशमा एमालेको समानुपातिक मत पनि बढ्यो, प्रत्यक्षको सिट पनि बढ्ने देखिन्छ। एमालेविरोधी धारणा बनाएका मधेशी जनतामा यो परिवर्तन कसरी आयो? 
नेकपा एमाले मधेशमा कहिले कमजोर थियो र? उपेन्द्रजीकै कारण उहाँको यो हालत भएको हो। उहाँले २०७२ को आन्दोलनको बेला ठूलो शत्रुका रुपमा एमालेको चित्रण गर्नुभयो। त्यसबेला उहाँहरुले यो याद गर्नुभएन कि भोलि गएर संविधान संशोधन गर्दा केपी ओलीजीहरुको पनि हामीलाई समर्थन चाहिन्छ।

मैले ०७२ को आन्दोलन चल्दै गर्दा एउटा अन्तर्वार्तामा भनेको थिएँ, केपी ओलीलाई मात्र गाली गरेर मधेशी दलले केही पाउनेवाला छैन। किनभने संसदमा जुनखालको संसदको स्थापना हुनेवाला छ, नेपालको राजनीतिमा एमालेको जुन शक्ति छ, त्यसलाई नजरअन्दाज गरेर कुनै संवैधानिक कुरा परिवर्तन गर्न चाहनुहुन्छ भने त्यो सम्भव छैन। तर, त्यतिबेलाको आन्दोलनमा केपी ओलीलाई मात्र शत्रुका रुपमा व्याख्या गरिएको थियो।

मेरो भनाइ त्यतिखेर पनि के थियो भने तपाईं दुई वटा दलको बीचमा समदुरीमा बस्नुस् र एकखालको स्पष्ट दृष्टिकोण बनाउनुस्। आखिर ०६३ को अन्तरिम संविधान जारी हुँदा तीनवटै दल मिलेर जारी गरेका थिए। तपाईंले त्यसको विरोधमा संघर्ष गर्नुभयो। ०७२ मा १६ बुँदे सहमति तीनवटै दल मिलेर गरेका हुन्। तपाईंले त्यसको विरोधमा संघर्ष गर्नुभयो। अनि तपाईंले गाली गर्दा केपी ओलीलाई मात्र शत्रु भनेपछि ओलीले पनि सहयोग गर्नुभएन। र, आज नागरिकता विधेयक त्यसकारण फेल भएको हो। त्यसैले त्यो एउटा ठूलो भूल थियोजस्तो मलाई लाग्छ। यसको मतलब केपी ओलीको जयजयकार गर्नुपर्छ भन्न खोजेको होइन।

तीनै दलको बारेमा कसले, कतिबेला, कुन संवैधानिक मुद्दामा साथ दियो र दिएन भन्ने कुराको स्पष्ट व्याख्या हुनुपथ्र्याे। मधेशी राजनीतिमा त्यो कहिल्यै पनि भएन। भयो के भन्दा सत्तामा जान कोसँग सहज हुन्छ? खुरुखुरु जाने अनि त्यसपछि निस्कनुपर्यो भने लज्जित भएर निस्कने। 

दोस्रो कुरा, ०७४ को निर्वाचनमा मात्र एमालेको पक्षमा मधेशबाट कम मत खसेको हो। नत्र २०४८ देखि निरन्तर मधेशको प्रमुख शक्ति त कांग्रेस र एमाले त हो नि। ०६४, ०७० मा पनि ठिकठाक मत ल्याएको हो। ०७४ मा उहाँलाई शत्रुको रुपमा चित्रण गरेर एमालेको विपक्षमा मतदान त भयो। तर, फेरि उहाँसँगै सत्तामा गयो, अहिलेको चुनावमा गठबन्धन पनि भयो।

माओवादी र एमालेबीचमा एकीकरण र विभाजन भयो, केही महत्वपूर्ण नेता एमालेतिर बसे। माओवादीमा गएनन्, त्यसकारण एमालेले पहिलेभन्दा अलिकति शक्ति आर्जन गर्यो।

र, आम मानिसमा कस्तो भयो भने, यो आन्दोलन गरेर मधेशी नेताहरुलाई अगाडि बढाइन्छ, तर, मधेशी नेता गएर फेरि एमालेमै मिसिन खोज्छन्। एमालेकै नेतालाई नेता मान्छन्। र, एमालेसँगै सरकारमा जान्छन् भने हामी नै किन नजाने एमालेसँग? आम मानिसमा त्यो छाप पर्यो। त्यसैले स्थानीय तहको निर्वाचनमा पनि एमालेले पहिलाको भन्दा धेरै पालिका जितेको छ, अहिले त्यसलाई टिकाएको हो।

यसपटक जसपा र लोसपासँग जुन आक्रोश छ, त्यो आक्रोश पोख्ने कहाँ त भन्दा कोही सीके राउततिर गए, कोही कांग्रेस, एमालेसँग गए। त्यसकारण अहिलेको राजनीतिमा मतका हिसाबले एमाले बलियो देखिएको हो। उसले तयारी पनि त्यही हिसाबले गरेको थियो। चुनावी राजनीति व्यवस्थापनको पनि कुरा हो, भावनाको मात्र होइन।

सीके राउतको उदय कसरी सम्भव भयो?
हेर्नुस्, सीके राउतको उदय अपेक्षा त गरिएकै थियो तर यो रुपमा यही चुनावमा यसरी मत पाउनुहोला भन्ने मेरो आकलन थिएन। सीके राउतलाई म २०/२२ वर्षदेखि चिन्दछु। अमेरिकाबाट नेपाल आएपछि १२ वर्षजति भयो, एकदम फोकस्ड भएर पुरै समर्पण र पुरै रणनीतिक तरिकाले सीके राउतको राजनीति अघि बढ्यो। सीके राउतले मधेशका पार्टीहरुको त्यो भीडमा त्यत्रो सानो ठाउँमा छुट्टै कहाँनेर स्पेस बनाउन सकिन्छ भनेर आफ्नो जुन टार्गेट ग्रुप सेलेक्ट गर्नुभयो, म त्यहाँनेर उहाँको स्मार्टनेस देखिरहेको छु। 

जस्तो, वैदेशिक रोजगारमा गएका मानिसहरुको परिवारलाई उहाँले आफ्नो पहिलो टार्गेट बनाउनुभयो। वैदेशिक रोजगारीमा गएका मानिसहरुलाई त्यहीँनेर संगठित बनाउनुभयो। वर्षौँदेखि लेवी आइरहेको छ उहाँको पार्टीलाई। उहाँको पार्टीको सबैभन्दा ठूलो एसेट त वैदेशिक रोजगारमा गएका मधेशीहरु भए। त्यसपछि तिनका परिवार। त्यसपछि मधेशका समाजमा वर्गीय र जातीय हिसाबले गरिब र दलित समुदायका मानिसहरु राजनीतिमा नाराजुलुसमा जाने तर राजनीतिमा खासै सोधपुछ हुन्न नि, त्यो तप्कालाई मजदुर र दलित तप्कालाई समुदायलाई लक्षित गरेर उहाँले ५/७/८ वर्षदेखि नेतृत्व विकास तालिमको प्याकेज नै बनाएर प्रशिक्षित गरिरहनुभएको रहेछ। र, गाउँगाउँमा गएर प्रोजेक्टरमार्फत सिनेमा देखाएजस्तो देखाउनुभएछ। 

हामीले त्यो कुरा नोटिस नगरिरहेको, मिडियाले त्यो कुरा नोटिस नगरिरहेको, तर उहाँका साथीहरु, उहाँका नेताहरु एकदम गम्भीरतापूर्वक ५/७ वर्षदेखि त्यो समुदायसँग काम गरिरहेको अहिले आएर खुल्दै छ। त्यसकारण आफ्नो स्पेस बनाउनको लागि उहाँले सही तरिकाले समूह छनोट गर्नुभयो। १०–१२ वर्षमा त्यसका लागि चाहिने आफ्नो गीत बनाउने, आफ्नो नारा बनाउने, आफ्नो कार्यकर्ता बनाउने काम भयो। उहाँले यति स्मार्ट्ली चाहिँ कार्यकर्तालाई प्रशिक्षण दिनुहुने रहेछ कि उहाँको कार्यकर्ता यताउता गर्नै सक्दैनन्। गर्दै गर्दैनन्। 

मैले एक जना मतदान अधिकृतलाई सोधेँ– तपाईंहरुको बुथमा सीके राउतका कार्यकर्ताहरुको के थियो, उहाँले के भन्नुभयो? उहाँका अनुसार जब मतदान सकियो, मतदान सकिसकेपछि बाकस सिल भयो, त्यसलाई लिन प्रहरीको गाडी आयो। सबै पार्टीका प्रतिनिधिहरु गइसके तर सीके राउतका प्रतिनिधि जाँदैनन्। यो सुनसरीको कुरा हो। मैले सोधेँ किन नगएको तिनीहरु? हैन हाम्रो निर्देशन छैन। जबसम्म प्रहरीको गाडीमा बाकस राखिँदैन त्यो ठाउँ नछोड्ने भनेपछि यस्तो खालको मोटिभेसन र डेडिकेसनचाहिँ सीके राउतले आफ्ना कार्यकर्तालाई दिनुभएको छ। त्यसैको प्रतिफल अहिलेको नतिजा हो।

अर्को महत्वपूर्ण कुरा के छ भने उनीहरुको समूहमा खासगरी नेतृत्व समूहमा क्वालिफाइड युवाहरु छन्। अरु पार्टीमा के छ भने पढाइलेखाइमा कमजोर भयो, राजनीतिमा गयो। राजनीति गरेर पेट पाल्ने। त्यहीँबाट आर्जन गरेर पेट पाल्ने। अब सीके राउतको पार्टीमा के छ भने पढाइलेखाइमा ब्रिलियन्ट, देशविदेशमा जागिर गरेको, प्रशस्त पैसा कमाउन सक्ने र आफ्नो जीवनभरिको लागि चाहिने कमाइसकेर अनि त्यसपछि चाहिँ राजनीति गर्न आएको र राजनीति चाहिँ साँच्चिकै सामाजिक रुपान्तरणको लागि गर्ने उदेश्य राखेर। त्यो सीके राउतको समूहमा देखिन्छ। 

कार्यकर्ता तहमा फरकखालको छ। बेरोजगार पनि उहाँका कार्यकर्ता छन्। तर नेतृत्वपंक्तिमा यति सुझबुझ र यति ब्रिलियन्ट विद्यार्थीहरु छन्, धेरैलाई त म व्यक्तिगत रुपमा चिन्छु, पढ्दाखेरीका कलेजका साथीभाइहरु छन्। मलाई लाग्छ उहाँको सफलताको यो पनि आधार हो। लगभग १२ वर्षमा सीके राउत कुनै यस्तो महिना छैन, जुनबेला उहाँ चर्चाभन्दा बाहिर रहनुभयो। त्यसकारण उहाँले समयलाई सही तरिकाले सदुपयोग गर्नुभयोजस्तो लाग्छ। सामाजिक सञ्जाललाई सही तरिकाले उहाँले प्रयोग गरेर आजको अवस्थामा पुगेकोजस्तो मलाई लाग्छ यसको बारेमा थप गहन विश्लेषण, अध्ययन गर्नुपर्छ। 

यो सबै भइसकेपछि अब मधेशको राजनीति कता जान्छ त?
उपेन्द्रजी हार्नुभएको छ, उहाँको पार्टीको अहिले सिट कम आएको छ अपेक्षाभन्दा। ६/७ वटा सिट आउलाजस्तो लागेको थियो, थोरैथोरै भोटले सिट काटेको छ। तर उहाँ गठबन्धनमा त हुनुहुन्छ एमालेसँग। लोसपा पनि कम आएको छ तर गठबन्धनमा त छ, कांग्रेससँग। मलाई लाग्छ, उहाँहरु फेरि सत्ताकै राजनीतिमा जाने हो। यदि आवश्यक पर्यो भने उहाँको संख्या महत्वपूर्ण रह्यो भने सत्ताकै राजनीतिमा जाने हो। 

अर्को चाहिँ म एउटा के सम्भावना देख्दैछु भने संसदमा उहाँहरुको जति प्रतिनिधित्व हुनेवाला छ, उपेन्द्र यादवजीको पार्टीमा अलिकति खिचातानी, आन्तरिक विवाद बढ्नसक्छ। पहिला पनि थियो। र, उहाँ यसपटक संसदमा जाने सम्भावना रहेन। उहाँको पार्टीमा चाहिँ एकखालका साथीहरु हुनुहुन्छ अलिकति सरकारभन्दा पर बसेर के गर्ने भन्ने सोचका साथीहरु। त्यसले गर्दा पार्टीभित्र आन्तरिक विवाद हुनसक्छ। 

उपेन्द्र यादवकै दिमागमा के चलिरहेको होला भन्ने तपाईंको प्रश्न आउँछ भने मलाई के लाग्छ भने अब विस्तारै उपेन्द्र यादवजीले आन्दोलनको कुरा गर्नुहुन्छ। किनभने उपेन्द्र यादव सत्ताभन्दा बाहिर रहन सक्नुहुन्न। आफू सत्तामा नरहँदा पार्टीमा अरु नेता उदाउन् भन्ने उदार दिलको नेता उहाँ होइन। त्यसैले अब उहाँ चाहिँ पार्टी नै सत्तामा नजाओस् र विस्तारै आन्दोलनको कुरा गर्नुपर्छ भन्ने मुडमा हुनुहुन्छ जस्तो लाग्छ। 

अब अरु धेरै कुरा अहिले अनुमानको विषय हुन्छ। अनुमानमा नजाऔँ। मैले जति चिनेको छु उहाँलाई, त्यसका आधारमा भन्दा उहाँ चाहिँ विस्तारै आन्दोलनको कुरा गरेर फेरि अलिकति विस्तार गर्ने र आफू सत्तामा नजाने भएपछि आफ्ना पार्टीका नेताहरु पनि किन जानुपर्यो भनेर क्रान्तिकारी कुरा गर्नपट्टि लाग्न सक्नुहुन्छ।

मंसिर ८, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.