ad ad

अन्तर्वार्ता


बुटवलका मेयर भन्छन्– मेरो जीवन सादगी नै हुन्छ (अन्तर्वार्ता)

बुटवल पाँच वर्षमा ठूलो फड्को मारेर समृद्ध बन्छ
बुटवलका मेयर भन्छन्– मेरो जीवन सादगी नै हुन्छ (अन्तर्वार्ता)

सुदीप भण्डारी
भदौ ७, २०७९ मंगलबार ११:१३, बुटवल

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको कार्यकक्षमा निकै भिडभाड देखिन्छ। उनलाई भेट्न सर्वसाधारणदेखि विभिन्न संघसंस्थाका पदाधिकारी पालो कुरेर बसेका छन्। उनको सचिवालयका एक सदस्यका अनुसार कार्यकक्षमा मात्र होइन, निवासमा समेत सबेरै भिड जम्मा हुने गर्दछ।  

खेलराज पाण्डे बुटवल उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएको तीन महिना पुग्दै छ। गत वैशाख ३० को निर्वाचनमा कांग्रेसका उम्मेदवार पाण्डे साढे ७ हजारको फराकिलो मत अन्तरले एमालेका बाबुराम भट्टराईलाई हराउँदै बुटवलको मेयरमा निर्वाचित भएका थिए। 

मेयर मात्र होइन, उपमहानगरका बहुमत वडा समेत उनले कांग्रेसलाई जिताए। निर्वाचित भएपछि जेठ ९ गते पाण्डेले कार्यभार सम्हालेका थिए। बुटवलको अस्तव्यस्त सडक, सुकुम्बासी समस्या, ज्योति नगरको पहिरो, खानेपानी लगायतका समस्या, छाडा चौपाया, आदि गत स्थानीय चुनावका एजेन्डा बनेका थिए। यी समस्या समाधानमा विभिन्न चुनौती पनि छन्।

पाण्डे मेयर बनेपछिको पहिलो बजेट र नीति कार्यक्रम आइसकेको छ। जिल्लाका अन्य केही पालिकामा विवाद देखिँदा बुटवलमा पाण्डेले सहजै पारित गराए। 

तर पाण्डेले ल्याएको नीति कार्यक्रमको एउटा बुँदामा नगरसभा बाहिर भने विरोध भयो। नीति कार्यक्रम मार्फत बुटवल मण्डपको नामकरण गिरिजाप्रसाद कोइरालाको नामबाट गरियो। हाल अन्तर्राष्ट्रिय सभाहल र प्रदर्शनी केन्द्र निर्माण भइरहेको ठाउँलाई ‘गिरिजाप्रसाद कोइराला बुटवल मण्डप’ नाम राखेपछि एमालेले विरोध गरेको थियो। बुटवल मण्डपलाई त्यसरी नामकरण गर्दा उपमहानगर गलत तरिकाले हिँड्न लाग्यो कि जस्तो लागेको एमालेका जिल्ला सचिवालय सदस्य तथा पूर्व नगर अध्यक्ष बाबुराम पन्थीले बताए। 

‘बुटवल आफैँमा ऐतिहासिक र सांस्कृतिक नाम हो। यसरी नाम राखेर सम्मानित मान्छेलाई विवादमा ल्याउन हुँदैन,’ उनले भने।

एमाले निकट उद्योगी व्यवसायीहरुले पनि विज्ञप्ति निकालेर बुटवल मण्डपको नामकरणको विरोध गरेका थिए। तर नगरप्रमुख पाण्डेले भने गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा बुटवल मण्डपको लागि जग्गा प्राप्त भएकाले नाम राखिएको बताउँदै आएका थिए। 

यसबाहेक एमालेबाट उपमहानगर प्रमुख पाण्डेले सार्वजनिक रुपमा विरोध तथा आलोचना खेप्नु परेको छैन।  

एमालेका जिल्ला सचिवालय सदस्य बाबुराम पन्थीले उपमहानगरमा नयाँ नेतृत्व आएको  सय दिन पनि नपुगेकाले आफूहरु पर्ख र हेरेको अवस्थामा रहेको बताए। 

‘भर्खर निर्वाचन जितेर आएको अवस्थामा काम भएन भनेर टिप्पणी गर्ने कुरा हुँदैन। सय दिनसम्म पर्ख र हेरको अवस्थामा छौँ,’ उनले भने ‘तर, कामको गति जस्तो हुनुपथ्र्यो, भएन कि भन्ने संकेत पाएका छौँ। सय दिनपछि उपमहानगरबाट जहाँजहाँ कमजोरी, हुन्छ त्यहाँ आवाज उठाउँछौँ।’   

बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेले बुटवलका समस्याबारे आफू गम्भीर भएर लागेको बताए। 

बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक लामो समयदेखि अस्तव्यस्त छ। २०७३ साल चैतमा सडक विस्तारको ठेक्का सम्झौता भएको थियो। घर भत्काउन खोज्दा अदालतमा मुद्दा परेकाले केही समय अलपत्र परेको थियो। अदालतले घर भत्काउने बाटो खोले पनि लामो समयसम्म विस्तारको काम अघि नबढ्दा र खाल्डाखुल्डी हुँदा यात्रुले सास्ती पाएका छन्। 

पूर्वमेयर शिवराज सुवेदीको यही सडकका कारण आलोचना भएको थियो। चुनावपछि नगरप्रमुख बनेका खेलराज पाण्डेले सडक विस्तारको लागि प्रमुखताका साथ चासो दिइरहेको दाबी गरे।
 
गत शनिबार बुटवल उपमहानगरपालिकाको कार्यालयमा सडक विभागका उपमहानिर्देशकसँग छलफल गरी पाण्डेले सडक विस्तार अघि नबढे आमरण अनशन बस्ने चेतावनी दिएका थिए। उनले अहिलेको निर्माण व्यवसायीको ठेक्का रद्द गर्न विभागलाई भनेका थिए। सडक विस्तारको काम छिटो सक्ने पाण्डेले पहल कदमी गरेको देखाएका छन्। तर विस्तारको कामले गति लिन्छ कि लिन्न भन्ने टुंगो छैन। 

यस्तै सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यामा संघीय सरकारले काम गरेन भने उपमहानगरले मात्र केही गर्न नसक्ने अवस्था रहेको उनी बताउँछन्। तथापि, पाण्डेले तत्काललाई अस्थायी बसोबासको प्रमाणपत्र दिएर राहत उपलब्ध गराउने बताउँदै आएका छन्। 

बुटवल उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि समस्याहरूबारे छलफल र चासो दिएको देखिन्छ। यसअघि लिँदै आएको करमा उपमहानगरको कार्यपालिकाको बैठकले केही छुट दिएको छ। भूमि कर, सम्पत्ति कर, घरबहाल कर, पेसा व्यवसाय करमा समयावधि तोकेर छुट दिएको छ। गत आइतबार बसेको कार्यपालिका बैठकले कर्मचारीको मोबाइल र इन्धन खर्च कटौती गरेको छ। 

मेयर पाण्डेसँग उपमहानगरको काम र बुटवलको समस्याबारे नेपालखबरले गरेको कुराकानीः 

तपाईंले बुटवल उपमहानगरपालिकाको मेयरको कार्यभार सम्हालेको तीन महिना हुन लागिसक्यो। के काममा व्यस्त हुनुहुन्छ?
जनचाहना अनुसारका कामहरु छन्। बुटवलमा मानिसको आशा, महत्वाकांक्षा धेरै छ। यस कारणले पनि अलि बढी व्यस्त हुन परेको छ। चुनावताका यो बीचमा केही समय यहाँका कामहरु रोकिएका थिए। ती कामहरु अघि बढाउन पर्ने थियो। लगत्तै बजेटका काम भए।

मेयरमा निर्वाचित भएर आइसकेपछि कसरी काम सुरु गर्नुभयो? अहिलेसम्म मुख्य मुख्य के के काम भएका छन्?  
बजेटको काम पुरा भएको छ। बजेट पुस्तिका केही दिनमा सार्वजनिक हुन्छ। धेरै महत्वपूर्ण कुराहरु त्यसमा समेटिएको छ। अहिले बुटवलको राजमार्ग चौराहदेखि चिडियाखोलासम्मको सडक, ज्योतिनगरको पहिरो, तिनाउ तटबन्धका समस्याहरु, सुकुम्बासी र अव्यवस्थित बसोबासका समस्याहरु, मोतीपुर औद्योगिक क्षेत्रका जग्गाको समस्या, बुटवल १६ मा कृषिमण्डीको जग्गाको व्यवस्थापन, छाडा चौपायाको समस्या, थप अटोभिलेज, व्यवसायिक कृषिका समस्या, नयाँ बसपार्कका समस्या लगायत धेरै चुनौती छन्। यीमध्ये कतिपय कामहरुको लागि हामीले पहल थालेका छौँ। 

बर्षातको समय छ। सडकमा खाल्डाखुल्डी धेरै छन्। सडक व्यवस्थापनको चुनौती बढी छ। 

कार्यभार सम्हालेलगत्तै बजेट, नीति तथा कार्यक्रम आयो। तपाईंको कार्यकालको नीति कार्यक्रम र बजेटको विशेषता के के छ? 
हामीले केही फरक मोडलको नीति कार्यक्रम ल्याएका छौँ। मेलमिलाप मैत्री बुटवल, सहमति सहकार्य र एकताका आधारमा बुटवलको रुपमा नीति कार्यक्रम प्रस्तुत गरेका छौं। केही नयाँ ढंगले जाने कुराहरु ल्याएका छौं। त्यसमा बजेटका सिलिङहरु हामीले प्रस्तावित गरेका छौं। जनचाहना अनुसार बुटवललाई देशकै सबल आर्थिक केन्द्र कसरी बनाउने, समृद्ध बुटवल कसरी बनाउने, ऐतिहासिक हिसाबले तिनाउपारि बुटवलमा पर्यटकीय स्थल कसरी विकास गर्ने र हरेक वडाको पहिचान सहितको बुटवल कसरी स्थापित गर्ने भन्नेमा ध्यान दिएका छौँ।

तिनाउ पारी पुरानो बुटवलको कुरा गर्नुभयो, पुरानो बुटवल अर्थात् बटौलीले मौलिकता गुमाउँदै गएको छ। त्यसको संरक्षण र पहिचानलाई बचाउन कस्तो पहल गर्नुभएको छ?
त्यसको लागि हामीले डीपीआरको तयारी गर्दै छौँ। डीपीआर तयार भएपछि त्यसको लागत इस्टिमेट, कसरी जाने भन्ने बारेमा कार्यपालिकाको बैठकमा छलफल गरेर त्यो कुरा अगाडि बढाउँछौँ। तिनाउ पारीको जीतगढी, फूलबारीलाई समेटेर बटौली बजारलाई पर्यटकीय स्थल बनाउन अघि बढ्ने छौं। 

बुटवल मण्डपलाई गिरिजाप्रसाद कोइरालाको नामबाट नामकरण गर्नुभयो। त्यसको आलोचना भयो। किन त्यसो गर्नुभयो?
केही आलोचना त भयो। यसलाई मिलाएर लैजान्छौँ। यसमा सहमति हुन्छ भन्ने मलाई विश्वास छ। 

राजमार्ग चौराहदेखि गोलपार्क चिडियाखोलासम्मको सडकको दुरावस्था छ। हुन त यो संघीय सरकार मातहतको हो। तर नागरिकले उपमहानगरतिरै फर्केर प्रश्न गरिरहेका छन्। यात्रुहरु सडकको सास्तीबाट कहिले मुक्त हुन्छन् भनेर।

६ लेन सडक आयोजना कार्यालयलाई पनि मैले बारम्बार छलफलमा ल्याइरहेको छु। केन्द्रमा सडक विभागमा गएर पनि यसका लागि आवश्यक पहल गरेको छु। मलाई लाग्छ, अब यो सुधार हुँदै जान्छ। टुंगो लाग्न सकेन भने यसका विकल्पहरु सडक विभाग डिभिजनसँग सल्लाह गरेर टुंगो लाग्छ। 

हाम्रो आशय ठेक्का तोडिँदा राम्रो हुन्छ। निर्माण व्यवसायीले समयमा काम गरेनन्। यसरी कहीँ नभएको जात्रा देखाएर अलमल गराएर राखे। सडक विभागसँग पनि असन्तुष्टि व्यक्त गरेका छौं। सडक विभागले वैकल्पिक व्यवस्था गरेर काम गर्दा हुन्छ भनेर हामीले आफ्ना कुरा राखेका छौँ। हामी निर्णय गर्न सक्ने अवस्थामा छैनौँ। तर बारम्बार असन्तुष्टि सडक विभागमा जाहेर गराइरहेका छौँ। 

सुकुम्बासी तथा व्यवस्थित बसोबास वर्षौंदेखि बुटवलको मुख्य समस्या बनेको छ। यो समस्या समाधान गर्छु भनेर चुनावमा भोट माग्नुभयो। कसरी समाधान गर्नुहुन्छ? 
सुकुम्बासी समस्या समाधानको लागि राष्ट्रिय भूमि आयोगले नापजाँचको काम गरिरहेको छ। त्यसको कर्मचारी व्यवस्थान र नाप्ने सामग्रीको व्यवस्थापन बुटवल उपमहानगरपालिकाले गरिरहेको छ। तर जसरी हुनुपथ्र्यो, त्यसरी हुन सकेको छैन। हामीले दबाब दिइरहेका छौँ। राष्ट्रिय भूमि आयोगलाई समय दिनु पर्यो भनेका छौँ। जति हुन्छ गर्दै जाने हो। तत्काललाई हामीले अस्थायी बसोबासको प्रमाणपत्र दिएर भए पनि उहाँहरुलाई केही राहत हुने काम गर्दै छौँ। 

एक वर्षअघि ज्योतिनगरमा पहिरो गयो। यसपटक ठूलो वर्षा भएको छैन। ठूलो पानी पर्दा डरलाग्दो अवस्था आउने त्रास छ। पहिरोका कारण स्थानीयले उपमहानगरप्रति आक्रोश पनि पोखेका थिए। पहिरो नियन्त्रणका लागि तपाईंहरु आएपछि के गरिरहनुभएको छ?  
ज्योतिनगरमा माथि डाँडाबाट पहिरो आउने भएकाले त्यो पानीलाई डाँडाबाटै सिद्धबाबातिर फर्काउने काम हामी आउनेबित्तिकै गरेका थियौँ। पहिरोका खोल्सीहरू मिलाउने काम पनि गर्यौं, त्यहाँ एउटा कल्भर्ट तोडेर ढुंगा आउँदा बग्ने ठाउँ, पहिरो आउँदा खोल्सीबाट जान सक्ने ठाउँ निर्माण गरेकाले अहिलेसम्म क्षति हुनबाट बचेको छ। तर यो भरपर्दो काम अझै होइन। पहिरो कतिबेला कसरी आउँछ भन्ने कुनै टुंगो छैन। त्यसैले बर्खा सकिएपछि फेरि विज्ञहरुसँग छलफल राखेर बजेटका स्रोतहरु जुटाएर हामी काम गर्छौँ। 

बुटवलमा छाडा चौपायाको समस्या छ, बसपार्कको पनि साँघुरो भइरहेको छ। सडकको यो समस्या समाधानका लागि उपमहानगरको योजना के छ? 
बुटवललाई अहिले भएको बसपार्कले मात्र नपुग्ला। नयाँ ठाउँको खोजी अवश्य गर्नुपर्छ। त्यसको प्रयासमा छौँ। छाडा चौपायाको लागि हामीले लुम्बिनी प्रदेश सरकारसँग पनि अनुरोध गरिरहेका छौँ। सडकमा छाडा चौपायाका कारण धेरै सडक दुर्घटना भएका छन्। यात्रु मात्र नभई चौपायहरु पनि घाइते हुने मर्ने गरेका छन्। 

उता मोतीपुर, सेमलारतिर नीलगाईले सताउने गरेको छ। त्यसैले यसलाई व्यवस्थित रुपमै गरौँ भनेर हामी स्थानीय तहले भनेका छौं। २ हजार बिघा जग्गा कपिलवस्तु जिल्लामा कतै उपलब्ध हुन सक्छ भने प्रदेश सरकारले पहल गर्न पर्यो भनेर हामीले बारम्बार कुरा उठाएका छौँ। अल्पकालीन रुपमा यहाँका गौशालामा केही व्यवस्था गरेका छौँ। यतिले टुंगो लाग्दैन, त्यसैले प्रदेश सरकारसँग सहकार्य गर्न प्रयत्न गर्दै छौं। 

बुटवल पश्चिम नेपालको प्रमुख सहर हो। दिनप्रतिदिन घना हुँदै गएको छ। पूर्वाधार थपिँदै छ। सवारी पार्किङ समस्या पनि उस्तै छ। यसको कसरी व्यवस्थापन गर्नुहुन्छ?  
पार्किङको लागि बसपार्कभित्र साढे २ कट्ठा जग्गामा तीन तले पार्किङ भवन निर्माण गर्ने प्रयास गर्दै छौँ। यसको सम्झौता गर्ने क्रममा छौँ। त्यसबाहेक थप पार्किङको लागि अरु ठाउँहरुको बारेमा छलफल गर्दै छौं। 

चुनाव लड्दै गर्दा तपाईंको सरल र सादा जीवन छ भनेर चर्चा पनि हुने गरेको थियो। यो कार्यकाल सकिँदा तपाईं जीवनशैली यस्तै होला कि फेरिएला?
जीवन सादा नै हुन्छ। फरक तरिकाले कसरी जान सकिन्छ र! मेरो जीवनको लक्ष्य नै सरल राजनीतिक जीवन र व्यवहारिक समाजवाद हो। त्यसैले मलाई तडकभडक र देखावटीमा विश्वास छैन। मेरो जीवन सादगी नै हुन्छ। अहिले कतै कार्यक्रममा जाँदा गाडी चढ्न पर्ने बाध्यता हो। नत्र म रिक्सामा र पैदल नै हिँड्छु। 

तपाईंको यो पाँच वर्षे कार्यकाल सकिँदा बुटवलले कस्तो स्वरुप पाउला? 
ज्योतिनगर पहिरो, तिनाउ दानव नदीको कटान, सुकुम्बासी र अव्यवस्थाको समस्या मुख्य चुनौती हो। यी विषयमा हामी सबैसँग छलफल गरेर सहमति र सहकार्यका साथ अघि बढ्छौँ। यी चुनौती र समस्या केही न केही हल गर्छौंँ। विकासका कुरामा बुटवल देशकै महत्वपूर्ण ठाउँ मान्न सकिन्छ।

शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा बुटवलले ठूलो फड्को मार्छ। यी कुरामा कुनै द्विविधा छैन। हामी सार्वजनिक–निजी साझेदारीको मोडलमा जान चाहन्छौँ, सबैसँग सहकार्य, सहमति र एकता गरेर हिँड्न चाहन्छौँ। मलाई लाग्छ, पाँच वर्षपछि बुटवल देशकै समृद्ध सहर बन्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .