ad ad

अन्तर्वार्ता


म समानुपातिकमा र्‍याल काढेर हिँड्ने मानिस होइन : वीरबहादुर बलायर (अन्तर्वार्ता)

‘गठबन्धनको बाधक बन्दिनँ, फेरि एमाले नै जिताउने हो भने गठबन्धन चाहिँदैन ’
म समानुपातिकमा र्‍याल काढेर हिँड्ने मानिस होइन : वीरबहादुर बलायर (अन्तर्वार्ता)

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर। तस्बिर : नेपालखबर


केशव सावद
साउन ३०, २०७९ सोमबार १८:३६, काठमाडौँ

नेपाली कांग्रेसले माओवादी सहितका कम्युनिष्ट दलहरूसँग आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेको छ। गत वैशाख ३० गतेको निर्वाचनमा पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनका कारण उत्साहजनक परिणाम आएको भन्दै कांग्रेसले यसलाई सफलता मानेको छ।

२०७४ को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई दोस्रो दलका रुपमा झार्न सकेपछि कांग्रेसले यो गठबन्धनलाई चुनावसम्म लैजाने निर्णय गरेको छ। तर कांग्रेसका सुदूरपश्चिम प्रदेश कार्य समितिका सभापति वीरबहादुर बलायर गठबन्धनका नाममा यसअघि पार्टीले धोका पाइसकेको बताउँछन्।

​कांग्रेससँग मिलेर गठबन्धन दलहरुले नै एमालेलाई स्थानीय निर्वाचनमा जिताउन भूमिका खेलेको भन्दै उनले मंसिरमा पनि त्यस्तै हुने तर्क गरेका छन्। सुरुमा गठबन्धन गरेर चुनाव लड्ने कुराको विरोधमा रहेका उनी अहिले लोकतन्त्र, संविधान र मुलुक जोगाउन आवश्यक रहेको बताइरहेका छन्। पाँच दलीय गठबन्धन, कांग्रेसको गतिविधि र आगामी निर्वाचन तयारीसहितका विषयमा सभापति बलायरसँग नेपालखबरले गरेको कुराकानी: 

सत्ता गठबन्धनबारे तपाईंको धारणा के हो?  
हिजो एमालेले देशमा जुन आतंक, अनियमितता, असंवैधानिक रुपमा संसद विघटनसँगै संविधान च्यात्ने जुन कोशिस गर्यो। त्यसविरुद्ध यो गठबन्धन बनेको हो। 

यो गठबन्धन सत्ताका लागि मात्रै होइन। मुलुकलाई जोगाउन भएको हो। यो आवश्यकता कांग्रेसका लागि मात्रै नभएर अरु दलले अपील गरेर गठबन्धन भएको हो।

कांग्रेस सभापति एवम् दलको नेता शेरबहादुर देउवाले प्रधानमन्त्री हुन अनिच्छा व्यक्त गर्दागर्दै पनि यो परिस्थिति सिर्जना भएको हो। जुन परिवर्तनहरु मुलुकमा आए, लोकतन्त्रका जुन मूल्य र मान्यताहरु आए ती गुम्न थाले भन्ने कुरा सबैमा एहसास (महसुस) भयो। त्यस्तो एहसास गरेका दलहरु एक ठाउँमा आएर गठबन्धन बनेको हो। 

गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल कसरी गर्दा सहज हुन्छ भन्ने लाग्छ? 
स्थानीय निर्वाचन सम्पन्न भएर प्रदेश र संघीय निर्वाचन आउँदै गर्दा गठबन्धन साच्चै नै अन्तरआत्माबाट हुने हो भने आफ्नो हैसियत र क्षमतालाई कसैले बिर्सनु हुँदैन। पहिलो कुरा यही हो। 

दोस्रो कुरा– कुनै मूल्य–मान्यता र उद्धेश्यका लागि गठबन्धन हो भने सिद्धान्त बिर्सिनु पर्छ। सैद्धान्तिक कुरा गर्ने हो भने हुँदै नहुने गठबन्धन हुँदैछ, कांग्रेस र कम्युनिस्टबीच। जहाँ सैद्धान्तिक कुनै पनि धरातल एगजिस्ट हुँदैन तलदेखि माथिसम्म। 

यसले उपलब्धी धेरै ठूलो हासिल गर्यो भने पनि भोलिका दिनमा दुर्भाग्य नै निम्तिने हो। अर्को दुर्घटना हुन सक्दछ। तर, दलहरूको गठबन्धनविरुद्ध म पनि छैन। तर, जस्टिफिकेसन के? एमालेलाई हराउने भनेर हामीले गठबन्धन गर्ने अनि हाम्रा गठबन्धनले एमाले जित्ने हो भने त्यसको कुनै अर्थ रहन्छ? 

यहाँ व्यक्तिका कुरा भएनन्। यहाँ कसैको कुरा भएन। आफ्नो सांगठनिक क्षमतालाई गुमाएर अर्को पार्टीको क्षमतालाई अभिवृद्धि गर्ने बाटोमा कांग्रेस गयो भने पतन हुन्छ। आफ्नो पार्टी मजबुत बनाएर जाने उद्धेश्य अन्तरआत्माबाट कांग्रेसले बिर्सनु हुँदैन। गठबन्धनले पाँचको सात बनाउन सकिन्छ होला तर, पाँचलाई २५ बनाउन सकिँदैन। पाँचलाई २५ बनाउने कोशिश गरेर गरिएको गठबन्धनको कार्यकर्ताले प्रतिवाद गर्छन्। 

कार्यकर्ताले प्रतिवाद गर्छन् भन्नुभयो, त्यो भनेको तपाईंको गृहजिल्ला डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेम आले उठ्नुभयो भने मत दिँदैनन् भन्ने हो?
म कुनै व्यक्तिको नाम उच्चारण गर्न चाहन्नँ। मैले मेरो जिल्लाको कुरा गरेको होइन। आम देशको कुरा गरेको हुँ। कांग्रेसभित्र पनि यस्ता मानिसहरु छन्, जो धेरै उत्तेजित छन् अहिले। तिनीहरुले जीवनमा कहिल्यै भोट हालेका छैनन्। तर, कांग्रेस भएरै बसेका छन्। तिनका भाषा र शैलीको म विश्वास गर्दिनँ। त्यसैले कांग्रेसलाई चाहिएको बेलामा कांग्रेस नभइ दिने। अरूबेला ठूलो कांग्रेस भइराख्ने हो भने के अर्थ राख्छ? 
गठबन्धनमा बसेर गठबन्धनमा रहेका दलहरूलाई दुःख दिएर एमालेसँग हातेमालो गरेर गठबन्धनकै दलका मानिसलाई प्रभावित गरेर आर्थिक अपचलनबाट म जान्छु भनेर सोच्ने मानिससँग कांग्रेसको गठबन्धन हुँदैन। 

त्यसैले के हो भने म पनि कांग्रेसको प्रदेश सभापति हुँ। कहाँ–कहाँ, कसरी–कसरी गठबन्धन गर्ने कुरा मेरो कार्यसमितिलाई पनि अधिकार छ। त्यसका लागि म कांग्रेसको जिम्मेवार नेता भएकाले गठबन्धनको विधि, तथ्यांकहरु के हुन्, कसरी जितिन्छ भन्ने कुराको खाका दिने अधिकार मलाई छ। 

तपाईं सुदूरपश्चिमको मुख्यमन्त्री बन्न प्रदेशसभामा जाँदै हुनुहुन्छ भन्ने हल्ला पनि छ नि?
म संगठन गर्न तल गएको हुँ। म त अब निवृत्त हुनुपर्छ। राजनीतिबाट अब म त रिटायर्ड हुनुपर्छ। आगामी ५ वर्षपछि मैले कुनै पनि प्रत्यक्ष निर्वाचन लड्ने छैन। त्यति मात्रै होइन, म अनुदानको राजनीति गर्ने मानिस पनि होइन। त्यसैले म समानुपातिकमा पनि आइहाल्छु भनेर र्‍याल काढेर हिँड्ने मानिस पनि होइन। 

मैले यो ५ वर्षको अवधिमा आफ्नो कार्यकालभर कांग्रेसको मजबुत पर्मानेन्ट जग हाल्न सके मेरो प्रदेशमा भने त्यही मेरा लागि धेरै सुखद रहन्छ। म किन सुदूरपश्चिम  प्रदेश कार्यसमितिमा गएको हुँ भने त्यहाँ १६ केन्द्र र ३२ प्रदेशसभाका क्षेत्र हुँदै गर्दा डडेल्धुराबाट संघीयमा शेरबहादुर देउवाजीले र अन्य चार प्रदेशसभामा जित्यौँ। 

त्यसपछि हाम्रो पोजिसन के भयो? चाहे केन्द्रको नेता किन नहोस् चाहे प्रदेशको नेता कनि नहोस्, चाहे जिल्लाको नेता हुनलाई किन नहोस्। त्यसका लागि ग्रास रुटमै जितेर आउनु पर्दछ। ग्रासरुट हाम्रो कमजोर भएकाले कांग्रेसप्रति चिन्ता भएकाले केन्द्रीय सदस्य भइसकेको मान्छे प्रदेशमा संगठन गर्न गएको हुँ। 

छोटो अवधिमा प्रदेशको सभापति भइसकेपछि ९ जिल्लामा अभियान चलाएर अन्तिममा आफ्नो जिल्लामा गएको हुँ। अहिले यो किसिमको परिणाम आएको छ। अझै राम्रो परिणाम ल्याउन सकिन्थ्यो तर, केही प्राविधिक कारणहरु रहे। ती प्राविधिक कारणबारे भनेर म गठबन्धनको बाधक बन्दिनँ। विस्तार विस्तारै, ग्य्राजुअल्ली जति प्रगति हुँदै जान्छ, परिस्थिति निर्माण हुँदै जान्छ, त्यहीअनुसार मैले आफ्नो कुरा राख्छु। 

कांग्रेसले जिसस, नगर र गाउँपालिकाका प्रमुख–उपप्रमुखका लागि दुई दिने प्रशिक्षण कार्यक्रम गरेको छ। यसको मुख्य उद्देश्य के हो? के का लागि आयोजना गरिएको हो?       
धेरै नयाँ नयाँ हुनुहुन्छ जनप्रतिनिधि। उहाँहरुलाई प्रशासनिक रुपमा धेरै कुरा थाहा नहुन पनि सक्छ। प्रशासनिक रुपमा गरिने कामलाई नीतिगत रुपमा अगाडि बढाउन यो प्रशिक्षण हो। साथै आउनै लागेको निर्वाचनमा हाम्रा स्थानीय प्रतिनिधिको भूमिका के कस्तो हुने? निर्वाचित भएर आउनुभएको छ, उहाँहरुको पनि ज्ञान होला। उहाँहरुले पनि पार्टी केन्द्रलाई केही सुझाव र उहाँहरुलाई पनि केही सुझाव र केही निर्देशन दिने उद्देश्यले प्रशिक्षण राखिएको हो।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .