अन्तर्वार्ता


तालमेल हुन सक्छ, वाम एकताको सम्भावना छैनः गोकुल बास्कोटा (अन्तर्वार्ता)

तालमेल हुन सक्छ, वाम एकताको सम्भावना छैनः गोकुल बास्कोटा (अन्तर्वार्ता)

सागर न्यौपाने
जेठ ३० , काठमाडौँ

अघिल्लो पटकको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले यसपटकको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा झरेको छ। संघीय र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा एमालेले चुनावी नतिजालाई कसरी मूल्यांकन गरेको छ? के एमाले फेरि वामपन्थी दलहरुबीच तालमेल र एकताको तयारीमा छ?

यिनै विषयमा केन्द्रित रही एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटासँग नेपालखबरले गरेको कुराकानीः

स्थानीय तहको निर्वाचनपछि वाम गठबन्धन बनाउन तपाईं सक्रिय हुनुहुन्छ भन्ने चर्चा छ। कहाँ पुग्यो एकताको प्रयास?
म एउटा वामपन्थी भएको हिसाबले के भन्छु भने वाम एकता हुनु राम्रो छ। कागजमा वामपन्थीहरु बढ्ता छन् नेपालमा। दल पनि धेरै छन् होला। कांग्रेस दल त एउटै छ– नेपाली कांग्रेस। तर, वामपन्थी त नेकपा एमाले, नेकपा माओवादी केन्द्र, अर्को नेकपा, समाजवादी। यस्तै उस्तै। यिनीहरुको झण्डा हँसिया–हथौडा। यो एउटा भ्रमपूर्ण ट्रेडमार्क भयो। यहाँ इमान्दारी छैन। वामपन्थी र दक्षिणपन्थीको भिन्नता पनि केही देखिएको छैन।

त्यसैले म के चाहन्छु भने कुनै पनि वामपन्थीले वामहरुबीचको एकता नहोस् भनेर धुप हालेर हिँड्ने कुरा भएन। म खुसी नै हुन्छु, होस् भनेर कामना गर्छु। मेरो ठाउँबाट कुनै योगदान गर्नुपर्छ भने व्यक्तिगत रुपले म त्यसको निम्ति पनि तयार हुन्छु। जहाँ एमालेको प्रश्न छ, एमालेलाई टर्च बालेर खोज्न पनि हिँड्नुभयो वामपन्थीहरु, कांग्रेसलाई काँधमा बोकेर कांग्रेस जगाउँदै। उम्मेदवार नभएको ठाउँमा पनि। मेयर पनि छैन, उपमेयर पनि छैन, वडाध्यक्ष पनि छैन, वडासदस्य पनि छैन, पालिकाभरि नै छैन। तर, एउटा काँधमा हँसियाहथौडाको झण्डा भिरेकाे छ, अर्काेपट्टि रुख भिरेको छ– कहाँ हिँड्या भन्दा गठबन्धन जिताउन। को हो त उम्मेदवार तिम्रो? त्यो त कोही पनि छैन।

कांग्रेसले सित्तैमा खेताला बनाएका वामपन्थीहरुबाट कुन वर्ग पक्षधरताको रक्षा हुनसक्छ भन्ने गम्भीर प्रश्न उब्जेको छ। गएको चुनावमा एमाले सक्न उहाँहरु हिँड्नुभयो। वामपन्थीको तहबाट कुरा गर्दा तालमेल भन्ने चिज विचारको आधारमा हुन्छ कि लेनदेनको आधारमा हुन्छ? नितान्त व्यक्तिवादी, बुर्जुवा बनेर सोच्दा जता नाफा त्यता जाने हो, व्यापारले नाफा माग गर्दछ। त्यो त सिद्धान्तनिष्ट कुरा भएन।

एमाले पनि वामपन्थी रहेन, दायाँतिर गयो भन्ने उनीहरुको कुरा छ। तपाईंहरु कांग्रेसको सिरानी भएको आरोप लगाउनुहुन्छ, यो त टुटेको बेलाको भनाभन होला। फेरि एमाले, माओवादी, एकीकृत समाजवादी मिलिहाल्ने होला नि त?
त्यसको निम्ति हामी बाधक हुन्नौँ। तर मेरी बास्सै आजै मिल्नुपर्यो, बिहानै मिल्नुपर्यो, नभएदेखि हामीले बास नपाउने भयौँ, सास फेर्न नसक्ने भयौँ भनेर हिँड्ने पक्षमा एमाले छैन। हिजो जो साथीहरु एकै ठाउँमा थियौँ, त्यो त चुनावी तालमेल होइन, नीति, विचार कार्यक्रमको संयुक्त घोषणा बनाएर मिलेका हौँ। त्यसपछि चुनाव तालमेल अनि पार्टी एकता। त्यहाँ पुगेर ब्याक टु मंगलमान। आ–आफ्ना चुलोचौका।

त्यो अवस्था सिर्जना हुनको निम्ति के ले उत्प्रेरित गर्यो? मेरो विचारमा सिद्धान्तको मृत्यु भयो, स्वार्थको व्यापक प्रमोसन भयो। त्यसैले, अहिले नै वामपन्थी एकताको सम्भावना म देख्दिनँ। तर, तालमेल हुनसक्छ। त्यो पनि कतिमा भन्दा यथार्थ कुरामा तालमेल। पहिला सिद्धान्त तयार पारेर यथार्थ राष्ट्रिय स्वार्थ, देशभक्तिको प्रश्नमा तालमेल हुनुपर्यो।

लिपुलेक, लिम्पियाधुराको विषयमा अहिलेको सरकारमा रहेका वामपन्थी साथीहरुले के जवाफ दिनुहोला? एमसीसीबारे सुरुमा विदेशीका कानमा चिनी भर्नुभयो। नेपाली गाडी फुटाउनुभयो। आफ्नै कार्यकर्ताको ढाड सेकाएर आतंक मच्चाउनुभयो, क्रान्तिकारी प्रदर्शन गर्नुभयो। भोलिपल्ट लुरुक्क परेर गएर हातले होइन, निधारले सही ठोक्नुभयो। त्यसको जवाफ कसले दिने? यो एउटा समीक्षाको पाटो हो। समीक्षा यथार्थपरक ढंगले गर्नुहुन्छ भने हामी कहाँ चुक्यौँ भन्ने कुरा हेर्नुपर्यो। त्यो चुकेको महसुस हुन मेरो विचारमा अलिकति समय लाग्छ।

प्रचण्डजीको कस्तो देखियो भने उहाँ नेपाली राजनीतिको राम्रै बिचौलिया बन्नुभयो, जता नाफा हुन्छ, त्यतै कुद्ने। र, उहाँ एउटा यस्तो बुख्याँचा हुनुभयो, ट्वाक्क राख्ने तर्साउने। यो खालको एकतामा न नीति, न विचार, न सिद्धान्त, न नेतृत्व, न संगठन, न कार्यक्रम। केही त हुनुपर्यो। त्यसैले तत्काल एकताको म सम्भावना देख्दिनँ।

वामपन्थी भन्नेलाई मेरो प्रश्न छ– वर्ग संघर्ष चुनावभित्र हुन्छ कि हुँदैन? समाजमा दुई वटा वर्ग छ, र त्यसमा कुन झण्डासित नजिक हुने? वा ओत लाग्ने? सामान्य कुरा हुन्छ कि जसले बढी मन्त्री बनायो, त्यतै लाग्नुहुन्छ? त्यसैले पहिलो पुस्ताका नेता हुँ भन्ने साथीहरुले यो डेढ वर्षयता गरेका क्रियाकलापले के परिणाम दियो? त्यस कसीबाट हेर्नुहुन्छ भने महसुस गर्ने पाटो हो। 

एमालेको कोणबाट हेर्नुहुन्छ भने त्यसले घाटा गर्यो। वामपन्थीहरु विभाजित भए, गठबन्धनले कार्यक्रम दिएन, तर सिट दियो। गठबन्धनले विश्वास दिएन तर एमालेलाई केही खुम्च्यायो। गठबन्धनमा कोदो नीति, तोरी नीति, न पिना न तेल, कसको मत कति कति। त्यो हालतमा जाने कि अलिकति फरक ढंगले जाने?

तपाईंहरुले दम्भ देखाएको उनीहरुको भनाइ छ नि!
त्यसोभए उहाँहरुले अरुलाई गलत प्रमाणित गरेर देखाए भयो नि त। १ सय ६ स्थानीय तह जितेको माओवादी गठबन्धनबाट १ सय २१ भयो। १५ सिटबाट उहाँले के उपलब्धि प्राप्त गर्नुभयो त? एमालेलाई टर्च बालेर खोज्छु भन्नुभयो माधव नेपालजीले ,उहाँ त एमालेको जन्मदाता आफैँ हो भन्नुहुन्थ्यो, १४ सय निर्वाचित लिएर जानुभयो, ९ सय लिएर फर्कनुभयो, बाँकी कहाँ गए? खोलाले बगायो? कि गाईले कुल्च्यो? खै गाई? खै खोलो?

अब ४/५ महिनापछि त प्रदेश र संघको चुनाव हुने नै वाला छ, त्यो बार्गेनिङको पोलिटिक्स गर्ने? यता तर्साऊ, उता तर्साऊ गर्नु एमालेको हितमा हुँदैन। मलाई अध्यक्षले कुनै जिम्मा दिएको पनि छैन। तर, मेरो निजी कुरा गर्नुहुन्छ भने तालमेलको लागि हामी बाधक बन्दैनौँ।

भन्नाले विगतको समीक्षा राम्रोसँग नभई तालमेल वा एकता दुवै हुँदैन?
हो। आउने चुनावसम्म त्यो सम्भावना म देखिरहेको छैन।

तर, यो गठबन्धन भइराख्यो भने त न एमालेले जित्छ, न सरकार बनाउन सक्छ। हारका लागि तयार हो एमाले?
एउटा तथ्य बताऊँ, एमालेले सिट हार्यो तर जनमत हारेन। अघिल्लो पटक कांग्रेसले सिट हार्यो तर, जनमत हारेको थिएन। नेक टु नेक थियो एमालेसित। यो तथ्य हो, विनापूर्वाग्रह भन्दा। त्यसैले हामीले संगठन बचायौँ, विचार बचायौँ र राजनीति अनि कार्यक्रम बचायौँ। बाँकीले के बचाए?

संसदीय राजनीतिमा सिटको पनि महत्व हुन्छ होइन र? सिट नआउँदा पाँच वर्षसम्म सत्ताबाहिर रहनुपर्ने होला। एमाले तयार हो त त्यसका लागि?
एउटा कुराको जवाफ उहाँहरुले दिनुपर्ला, के त्यसोभए कांग्रेसको माओवादीकरण, वा माओवादीको कांग्रेसीकरण भएर जान्छ त गठबन्धन? वा स्वतन्त्र पहिचानसहित जान्छ? वा एमालेबाहेक मिल्न सक्ने वामपन्थी एकातिर मिल्छन्। विकल्प त तीनवटा छ। एमालेसित मिल्न सकेनन्। यो वामपन्थी, कम्युनिस्ट, देशभक्ति र प्रजातान्त्रिक आन्दोलनको मेनस्ट्रिम त भयो भयो। यो कांग्रेसभन्दा खुम्चिएर भएको होइन, हरेक चुनावमा कुम झोसेर, सँगै कार्यक्रम गरेर आएको पार्टी हो। यो कुरामा अगाडि छ एमाले।

देशभक्तिको सवालमा कांग्रेस प्रश्नहरूद्वारा घेरिन्छ, एमाले प्रशंसाबाट अघि बढेको छ। यो कुरा नयाँ पुस्ताले पनि फिल गरेको छ। त्यसो हुँदा वामपन्थीहरुका तीनवटा विकल्प छन्। मिल्नसक्ने जति मिलेर जान्छ, एमालेलाई अलग्गै राख। के देखाउनु छ देखाऊ, एमाले रुँदै हिँड्दैन। 

बाबुराम त कति वामपन्थी, कति दक्षिणपन्थी के हो, उहाँको वर्षैपिच्छे दल परिवर्तन भइरहन्छ। उहाँहरुले त विचारको पनि संगठनको नेता पनि कांग्रेस मान्नुपर्ने ठाउँमा पुगिसक्नुभयो। या त कांग्रेसको वामपन्थीकरण वा माओवादीकरण हुनुपर्यो। त्यो सम्भव छैन, मलाई लाग्छ नवउदारवादको नेपालको राजनीतिक प्रतिनिधि हो कांग्रेस। श्रमजीवी वर्गको नेपालको राजनीतिक प्रतिनिधि एमाले नै हो। त्यसमा शंका छैन, विचार र कार्यक्रमकै आधारमा छुट्टिएको छ। उहाँहरु मिल्दा हामीलाई समस्या छैन, परै बस्दिउँला, फेरि पाइन हेरौँला नि हामी। जनताले अनुमोदन गर्ने व्यवस्थामा जनताले जहाँ राख्छन्, त्यहाँ बस्नुपर्यो नि। निर्वाचन अगाडिको फुर्ती चुनाव पछि छ त? 

जहाँसम्म मिल्न सकिन्छ कि सकिँदैन भन्ने कुरा छ, मिल्न सकिन्छ, तर हिजोको दृष्टिकोणबाट, हिजोको गल्ती दोहोर्याएर होइन। हिजो नीति, विधि र नेतृत्वको प्रश्नमा सही ढंगले एकता भएको थिएन। ती कुरा सबै सेकेन्डरी बनाइएको थियो–मुखमा जे आयो, जे पर्ला सो टर्ला। भावुकतावश एकता भयो। वामपन्थी शक्तिहरु मिल्ने कि नमिल्ने प्रश्नमा मिल्नै सकिँदैन भनेर कुनै तामातुलसी खानु पर्दैन, भाकल हाल्नु पर्दैन। तर, आवेगी माक्र्सवादी भएर चाहिँ भएन क्या। अब त्यसरी गएर फेरि दुर्घटना र निरसतामा किन जाने? बरु उनीहरुले शक्ति आर्जन गरुन्, हामी पनि जनतालाई रिझाएर जति शक्ति आर्जन गर्न सक्छौँ, गर्छौँ।

वामपन्थीहरुसँग नहुने भए चुनावमा कांग्रेससित एमालेको तालमेल हुन्छ कि हुँदैन?
कांग्रेस र एमाले यसरी मिलेर जाने कुरा हुँदैन। त्यसले दलीय व्यवस्थालाई असर पार्छ। गठबन्धन दलीय व्यवस्थाको चिज होइन। यहाँ त रमाइलो छ, सत्ताधारीले प्रतिपक्षका विरुद्ध। कांग्रेससित आधारभूत रुपमा एमाले जान सक्दैन। हाम्रो देशको संविधानमा जस्तो परिकल्पना भयो र बनाइयो, त्यसले एउटै पार्टीलाई स्पष्ट बहुमत दिने कुरामा निकै कठिन भयो। यो कुरा बुझेर वामपन्थीहरु विभाजित हुन्छन् भने त कांग्रेस अलिकति बलियो भएरै आउने भयो।

जसपा फुटाउने, महन्थ ठाकुर मिलाउने, अरु जोडजाड गरेर सरकार ढाल्ने र एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने कोसिस थालेको चर्चा छ नि!
त्यो काम एमालेले गर्दैन। त्यो काममा अब हामीलाई रुचि भएन। आमाको दूध चुसेर पुगेन, अब बाबुको घुँडो चुसेर त्यो बच्चा कति बाँच्छ? यत्रो वामपन्थी एकता गरेर, तालमेल गरेर जितेर भएन, भएको पार्टी समेत धतुन्नाएर यस्तो अवस्था भयो। अब हामी उहाँहरु (प्रचण्ड–माधव) लाई ब्याट्री पठाउने हो। उहाँहरुको टर्च छ, ब्याट्री छैन। हामीलाई टर्च बालेर खोज्न पनि ब्याट्री चाहियो। माधव नेपालजीलाई ब्याट्री उपहार, प्रचण्डजीलाई चेतना उपहार। हामी सत्ताको खेलमा लाग्दैनौँ, यो समाधान होइन।

संघ र प्रदेश चुनावमा एमाले एक्लै लड्छ?
चार महिनापछि चुनाव आउँछ भने जनताले गर्ने फैसला हामीले मान्नुपर्छ। लोकतन्त्र त्यो हो। जनताको फैसला त्यो हो। दलीय गठबन्धन मात्र गरेर जाने हो भने त्यसले कहाँ पुर्याउला? जिससको लागि एउटा जिल्लामा कांग्रेस, माओवादी र एमालेको गठबन्धन भयो रे, कसका विरुद्ध? कुन लोकतन्त्र जोगाउन? कुन सत्तापक्ष र प्रतिपक्ष देखाउनलाई? मलाई यो गजब लाग्यो। कस्तो खालको अभ्यास हो त यो?

निर्वाचनपछि पार्टीहरुले प्राप्त गरेको सिटका आधारमा मिल्न सक्नेहरुसँग निकट भएर सरकार बनाउन सक्छन्, कसैले बहुमत ल्याएन भने। ल्यायो भने सकियो। हामी भन्छौँ, नेपाली जनताले कसै न कसैलाई त बहुमत दिनैपर्यो। राजनीतिक गल्ती सच्याउन पनि त्यो आवश्यक छ। जुन काम नेकपाले पहिला गर्न सक्थ्यो। संविधान संशोधन गर्न दुई तिहाइ अलि पुगेको थिएन।

समानुपातिक प्रणाली कहिले एकदम लाभदायक देखिन्छ, कहिले पार्टीहरुका निम्ति अलिकति घाटा हुन्छ। पार्टी कमजोर भयो भने समानुपातिकबाट त्यान्द्रो जाग्छ कि भन्ने हुन्छ। बलियो भयो भने यतैबाट हुन्छ कि जस्तो। तर, यथार्थ के हो भने समावेशिता नेपालको राजनीतिमा अनिवार्य सर्त हो। तर, समानुपातिक ४० प्रतिशत? यो अचम्मको चिज हो। पूर्ण समानुपातिक प्रणाली नेताको खल्तीको विषय हुँदा त्यहाँ लोकतन्त्रको हत्या हुन्छ।

एमालेसामु दुई वटा विकल्प छन्, एउटा जोखिम मोल्ने अर्थात् एक्लै जाने र मत माग्ने, जति मत आउँछ आउँछ। अर्काे, कसरत गर्ने, कांग्रेससँग गएकालाई फकाएर ल्याउन प्रयत्न गर्ने र बहुमत ल्याउने। यीमध्ये कुन विकल्प एमालेले रोज्छ?
फकाउँदाखेरी कस्तो भयो भने, आँखा झिम्क्याउँदा झिम्क्याउँदा आँखाको पानी नै सुक्यो। त्यसैले फकाउने, थकाउने खेलतिर हामी लाग्दैनौँ। उहाँहरु उन्मुक्त वातावरणमा आफूले रोजेको बाटो लिनसक्नुहुन्छ।

एमालेको हकमा के हो भने, हामीले एकपटक घेराबन्दी सामना गरिसक्यौँ। दोस्रो घेराबन्दी कसैले गर्छ भने हामी सामाना गर्न स्पष्ट तयार छौँ। गठबन्धन नेता र पार्टीहरुको हुन्छ, जनता त मत हाल्न स्वतन्त्र छन् नि। मतदाताको कसैसित गठबन्धन हुँदैन। उसको विवेकको गठबन्धन कहाँ जोडिन्छ? हामी त्यसलाई विश्वास गरेर जान्छौँ। त्यहाँभन्दा अर्काे हामीसँग बाटो छैन।

अरुले गठबन्धन गरिरहँदा, हामी नचाहिएको खालको गठबन्धन, अलि नसुहाउँदो खालको, हैसियत र कार्यक्रमको हिसाबले गर्न अलि अप्ठेरो हुन्छ। केही न केही कुरामा अलिकति नजिक भएको हुनुपर्यो। गठबन्धन नै गर्दैनौँ, म त्यो भन्दिन। तर, त्यस्तो परिभाषा नगरौँ। घोषित रुपमा राजतन्त्र फर्काउँछु भन्नेसँग गठबन्धन गरेर जित्ने कुरा कसरी क्रान्तिकारी भयो? अनि अब राजतन्त्रको उपादेयता सकियो, जहाँसम्म म त्यहाँ थिएँ त्यो कुरा नै गल्ती भयो भन्नेसँग गरेको गठबन्धन प्रतिगामी कसरी भयो? यो अतिवादी विश्लेषण हो। हाम्रो चिन्हमा कोही चुनाव लड्न आउँछ भने, वा कुनै शक्ति  क्षेत्रीय वा क्लस्टर बेसिसको कुनै शक्ति हामीसँग आउँछ र मिलेर जाऊँ भन्छ भने उसको हैसियत अनुसार कोहीसँग मिल्न सकौँला। त्यसो हुँदा स्वाभाविक रुपमा वामपन्थी नै कोही आउँछन् भने त्यो गरौँला। तर बार्गेनिङ पोलिटिक्स हामी हाम्रो तहबाट अन्त्य गरिदिन चाहन्छौँ। सधैँ तराजु जोखेर यो देशले प्रगति गर्दैन क्या।

कुन कार्यक्रम लागू गर्ने? कुन नीति लागू गर्ने? सरकारको स्थिरतामा पनि सधैँ समस्या। अनि हामी भन्ने समाजवाद ल्याउने, सुखी नेपाली, समृद्ध नेपाल, राष्ट्रिय आकांक्षा, अन्तर्राष्ट्रिय रुपमा हाम्रो सान, हाम्रो गौरव, हाम्रो राष्ट्रिय स्वाभिमान। अब कहिले कता पुग्या छ, कहिले कता पुग्या छ। यसखालका ढोँगी राजनीतिमा नजाऊँ भन्ने नै हो। सायद एमाले त्यसरी जाँदैन।

गठबन्धनका दलहरु स्थानीय तहको निर्वाचनमा त्यत्रो हारेर पनि एमालेले चेतेन, अर्काे चुनावमा चेताउँछौँ भन्दै छन् नि?
त्यसमा शुभकामना। एउटा कुरा उहाँहरुले बुझ्नुपर्ला, एमालेले आफ्नै ठाउँबाट सिक्ला जति सिक्नुछ। एमालेका आन्तरिक समस्या के रहे? प्राविधिक समस्या के के रहे? तुजुक लिएकै रहेछ भने त्यसको दुरी कति भयो? जनतासँग कटेको भए कति कटिएको थियो? जनतासँग कटेको पुष्टि भएन– लोकप्रिय मतले त्यो बतायो।

सिट प्राप्तिको कुरा गर्दा, आवश्यकता एकातिर, गठबन्धन अर्काेतिर भयो। मूलभूत रुपमा गणितले हरायो। कहीँकतै अनुशासन उल्लंघनका घटना भए भने ती एमालेका कमजोरी हुन् त्यहाँ एमालेले अवश्य सुधार्नु पर्दछ। 

तपाईंले यसो भन्नुभयो, काठमाडौँमा एमालेलाई जनताले हराए, अझ बालेनले जित्दा एमाले तेस्रो भयो? धरानमा पनि त्यस्तै भयो। कतिपय ठाउँमा एमाले विस्तारै कमजोर बनेको देख्नुहुन्न?
ठिकै छ, एमाले त हार्यो, अरुले जिते र?

दोस्रो भएर पनि मनशान्ति गर्ने कुरा उनीहरुसँग हुँदा तपाईंहरुसँग त्यो पनि छैन?
निर्वाचनमा भाग लिँदा कहीँ तेस्रो पनि भइन्छ, कहीँ दोस्रो र पहिलो पनि भइन्छ। व्यक्तिगत रुपमा म जान चाहन्नँ। जसले जित्यो उनलाई बधाई छ। तर, के भन्दा यो नेशनल ट्रेन्ड होइन। यसबाट कतिपय ठाउँमा हौसिएको कुरा पनि म देख्छु। यो स्थानीय चुनाव राष्ट्रपतीय प्रणालीजस्तो हो, यहाँ एउटा व्यक्तिले पनि केही गर्न सक्छ। तर, आम निर्वाचनमा सरकार निर्माणको प्रश्न हुन्छ।

काठमाडौँसहितको सहरको राजनीतिमा त असर गर्छ होला नि, स्वतन्त्रहरु चुनौती बनेर आएको जस्तो लाग्दैन?
चुनौती होइन, सुन्दरता नै मान्छु म यसलाई। केही न केही कसै न कसैको सन्देश हुन सक्दछ दलहरूका बारेमा पनि। वा स्थानीय तहको निर्वाचनमा दलहरु आफैँ भाग लिने कि आफूलाई राम्रो लागेको उम्मेदवारलाई समर्थन गर्ने? यो प्रश्न पनि उठ्यो होला राजनीतिक तहमा।

उम्मेदवार पनि सही छानिएन कि भन्ने पर्यो उसोभए? किनभने काठमाडौँमै सबैभन्दा बढी मत एमालेकै सुनिता डंगोलले ल्याउनुभयो।
त्यस्तो कुराहरु छन्। कुनै बेला कहीँ काम लागेका पात्र सोही काममा फेरि गर्न खोज्दा अलिकति ओझेलमा परेको जस्तो पनि हुन सक्दो रहेछ। युगको पनि फरक पर्छ। हाम्रो काठमाडौंका उम्मेदवारले हिजो काम नगरेको होइन, बेस्सरी गर्नुभयो। उहाँले त्यो युगमा गर्नुभयो, अहिले नयाँ युग थियो। योसित उहाँको निकटता कम थियो होला। अन्तरक्रिया, घुलमिलको हिसाबले सोचेजस्तो हुन नसकेको होला। अथवा केही अरु कमजोरी रहे होला। त्यसमा म धेरै गहिरिएर जान चाहन्नँ। तर, स्वतन्त्रहरुको कुरा एकाध ठाउँमा हुन सक्दछ, त्यो नेशनल ट्रेन्ड बन्दैन। त्यो नेशनल सोलुसन होइन। व्यक्तिगत रुपमा उठ्न पाउने र जनताले रोज्न पाउने अधिकार त सबैलाई छ नि। 

जनताको छनौटलाई चुनौती दिन मिल्दैन। तर, यो नै नेपालको राजनीतिको भावी ट्रेन्ड हो, यो नै डिपार्चर हो भनेर मान्न सकिँदैन।  

जेठ ३०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad