ad ad

अन्तर्वार्ता


‘माधव नेपालसहितको एमाले तत्काललाई सम्भव छैन’

‘माधव नेपालसहितको एमाले तत्काललाई सम्भव छैन’

वाशुदेव मिश्र
भदौ ७, २०७८ सोमबार १८:३२, काठमाडौँ

नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले तत्काललाई माधवकुमार नेपालसहितको एकता सम्भावना सकिएको बताएका छन्। गण्डकीका पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले नयाँ पार्टी दर्ताको निवेदन दिएका वरिष्ठ नेता नेपाललाई तत्काल एमालेमा ल्याउन असम्भव रहेको तर्क गरेका हुन्। गुरुङले यसअघि नेपाल पक्षमा लागेर अहिले तटस्थ बसेका नेताहरु भने एमालेमै रहने ठोकुवा गरेका छन्। यही सन्दर्भमा नेपालखबरका वासुदेव मिश्रले उनीसँग गरेको कुराकानी :
 

अब माधव नेपालबिनाको एमाले एकता हुने हो? 

हामीले माधव नेपालसहितको एमाले बनाउन खोजेकै हो। प्रयत्न त्यसकै लागि गरेका हौँ। त्यो काम सफल हुन सकेन। यसमा धेरैतिर लुकेका कुरा होलान् भन्ने लाग्छ। माधव नेपालसहितको एमाले नबनाउने र एमाले फुटाउने डिजाइन बनेर त्यही काम भयो। अहिले माधव नेपालबाहेकको पार्टी हुने सम्भावना देखिएको चाहिँ हो। नयाँ पार्टी बनाइसकेपछि बराबरी अध्यक्षको हैसियत खोजेकाले तत्काल नेपालसहितको एमाले सम्भव नहुने देखिएको हो। माधव नेपाल तत्कालै नभए पनि कुनै दिन आउने वातावरण हामी बनाउँछौँ।

माधव नेपाल नभए पनि हिजो उहाँको पक्षमा भएकाहरु एमालेमै रहनुहुन्छ। घनश्यामजी, भीम रावलहरू एमालेमै आउनुहुन्छ। पार्टी एकताविरुद्ध भएको भए त उहाँहरु अस्ति नै उता जानुहुन्थ्यो नि। चोइटिएर जाने कुरा त निरन्तर चलिरहने कुरा हो। ३ जना चोइटिने, ४ जना प्रवेश गर्ने, ४ जना चोइटिने ३ जना प्रवेश गर्ने पार्टीमा चलिरहन्छ। 

माधव नेपाललाई दोस्रो अध्यक्ष नदिने हो? 

माधव नेपाललाई दोस्रो अध्यक्ष दिने च्याप्टर क्लोज भइसक्यो। त्यो काम उहाँहरुले नै गरेको हो। नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव, त्यो प्रस्ताव मैले नै गरेको हो। मेरो प्रस्ताव अध्यक्षले स्वीकार्नुभयो। उहाँहरुले (माधव नेपाल) ले त्यो प्रस्ताव अस्वीकार गर्नुभयो। फेरि अध्यक्षले प्रयत्न गर्नुभयो। 

सोमप्रसाद पाण्डेमार्फत फेरि प्रस्ताव पठाउनुभयो। उहाँ (माधव नेपाल)ले एकदम बराबरीको अध्यक्ष भयो भने हुन्छ नभए हुँदैन भन्ने खबर पठाउनुभयो। निरपेक्ष बराबरी सम्भव थिएन। पावर सेयरिङमा त्यो सम्भव थिएन। 

हामीले पार्टी एकताको भावना साकार पार्न पार्टी अध्यक्षलाई अलिकति पछाडि हटेर पनि काम गरौँ भनेका हौँ। नत्र त, यो भन्दा अगाडिको महाधिवेशनमा त उहाँ पार्टी अध्यक्षमा हारेको मान्छे हो नि। हारेको मान्छेलाई अर्को महाधिवेशन नआउँदै अध्यक्ष दिने कुरा त आउँदैन नि। यो महाधिवेशनको मापदण्डविपरीत हुन्थ्यो। माधव नेपालले कुर्नुपर्थ्यो नि। 

पार्टी अध्यक्षको गल्ती छैन र? 

माधव नेपालले जे गर्नुभयो, विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभयो, जसरी २२ जनाले भोट हाल्नुभयो, त्यो संसदीय पद्दतिमा गद्दारी नै हो नि। व्यवस्था नै जोखिममा पार्ने काम हो। उहाँको भाषामा व्यवस्था बचायौँ भन्ने कुरा छ, हाम्रो पक्षकाले चुनाव जाने कुरा कसरी अलोकतान्त्रिक हुन्छ भन्यौँ। 

सरकार त गिरिसक्यो, एउटा कुरा बचाउन सकिन्छ। पावर सेयरिङ नगरेसम्म कुरा मिल्दैन। पार्टी बिग्रिइसक्यो,सरकार गिरेपनि पार्टी बचाउनुपर्यो। पार्टी बचाउने हो भने विद्रोह गरेकालाई पार्टीमा फर्काउनुपर्यो। कारवाही गरेर त त्यो शक्ति फर्कँदैन। 

पावर सेयरिङ नगरि कारवाही गर्ने भनेको त फकाउनेभन्दा लात्तीले हानेर बाहिर निकालेजस्तो हुन्छ। गल्ती कहाँ भयो भोलि खोज्दै गरौँला। माधव नेपालले त्यो गद्दारीसम्म पुग्नुपर्ने कारण त होला नि। त्यसमा केपी ओलीको, सरकारको, पार्टी प्रमुखको कुनै भूमिका छैन? पक्कै पनि हुन्छ। 

अहिलेसम्म कसैले भन्न सकेको छैन। पार्टीलाई, सरकारलाई व्यवस्थित गर्न नसकेको कारणले त्यहाँभित्र उहाँहरुको आत्मकेन्द्रित रुपले स्वार्थहरु बाझिएका थिए, त्यो एउटा कुरा होला  तर एउटा मात्र पक्षको कारणले अहिलेको अवस्था आएको हैन। हुने कुरा जे भए पनि त्यहाँबाट सिकेर, यस्तो भएको कुरा नदोहोर्‍याएर नयाँ शिराबाट सुरु गर्नुपर्छ भनेर यो अभियान सुरु गरेको हो। 

यसमा धेरै कोट्याउन जरुरी भएन। दोस्रो अध्यक्ष पनि भनेको थिएन। अर्को अध्यक्ष भन्ने कुरा केपी ओलीले भन्ने र स्वीकार्ने कुरै ठूलो थियो। त्यसलाई क्यास गरेर साथीहरुले अगाडि बताउनुपर्थ्यो, अगाडि बढ्नुपर्थ्यो। त्यसपछि पनि प्रस्तावमाथि प्रस्ताव राख्दै जाँदा के हुन्छ? दुवैतर्फ ‘विन विन सिचुएसन’ बनाउने हो। एउटाले जित्ने र एउटाले हार्ने गरेर सहमति हुँदैनथ्यो। त्यही कारणले सहमति भत्केको हो। 

स्थायी कमिटी बैठकले के निकास निकाल्ला? 

यसरी जाने भन्ने सहमति भएको छ। त्यसको औपचारिक निर्णय भोलि होला। १० बुँदे सहमतिकै आधारमा सबै कुरा अगाडि बढ्ने भन्ने कुरा हुन्छ। प्याकेजमै हुन्छ। १० बुँदे कार्यान्वयनमा आइसकेको हो। अध्यक्षले त्यसलाई स्वीकारेकै हो। अब १० बुँदे कार्यान्वयनको रोडम्याप बन्छ र पार्टी विभाजनबाट रोकिन्छ। 

दुई जना अध्यक्षको प्रस्ताव गर्दा तपाईंलाई पनि माधव नेपालकै कित्तामा/असन्तुष्टकै समूहमा लागेको रुपमा बुझियो नि !

त्यो प्रस्ताव पार्टी हितमा थियो। कुनै व्यक्तिको अहितमा हुनसक्थ्यो। कुनै व्यक्तिले सोचेको भन्दा फरक थियो होला। नेता–कार्यकर्ताको भावनाको हितमा थियो। त्यो प्रस्ताव दुवै पक्षले कार्यान्वयन गरिदिएको भए,माधव नेपालले मानिदिएको भए, यो अवस्था आउँदैनथ्यो।

तपाईं स्वयंले एमाले नभए निष्क्रिय बस्नेसम्मका कुरा गर्नुभयो रे !

होइन। म निष्क्रिय बन्ने वा उहाँहरु नआउने भन्ने कुरा पनि छैन। उहाँहरु (माधव समूहमा लागेका) लाई केही कुरामा क्लिरियन्सेस चाहिएको हो। हाम्रो पार्टी एकता हुन्छ।

यसअघि मैले केपी ओलीलाई भनेकै हो, हुँदाखाँदाको प्रतिनिधिसभा भंग गरेर के पाउँछौँ त्यसो गर्न हुँदैन मैले भनेकै हो। नयाँ पार्टी खोल्ने कुरा,तपाईँले गरेपनि माधव नेपालले गरेपनि गलत कुरा हो। उहाँले मैले म यसअघिका २ वटा महाधिवेशनदेखि तपाईंको गुटमा भएको हुनाले माधव नेपालकै गुटमा हुन्छु भन्दापनि कसैले विश्वास गर्दैनन्। 

तपाईंले नै नयाँ पार्टी खोल्नुभयो भनेपनि म (तपाईं)को पार्टीको सदस्य हुन्न, म एमाले नै हुन्छु। एमाले भएर बस्ने स्थिति नभए स्वतन्त्र भएर बस्छु भनेको हो। 

गलतलाई गलत भन्न सक्नुपर्छ आफ्नो पार्टीभित्र। जसले गरेको होस्, अध्यक्षले गरेको होस्, वरिष्ठ नेताले गरेको होस्, आफ्नै सर्वोच्च नेताले गरेको होस्। त्यो भन्न सकेन भने हाम्रो सिद्धान्त, आदर्श बच्दैन। मैले पार्टीको हितको लागि नै यी कुरा बोलेको हुँ। 

तपाईं फरक विचार राख्नुहुन्छ/बोल्नुहुन्छ। राजनीतिमा माथि जान यो बानी बाधक हुँदैन?

स्वार्थको राजनीति गर्नेहरुले धेरै कुरा सोच्छन् होला। म चाहिँ स्वार्थको राजनीति गर्ने भए केन्द्रकै चुनाव लड्थेँ। समानुपातिकमा राखौं भन्थे होला। शासन सत्तामै बसौँ न, सानो ठाउँबाटै आफ्नो कार्यक्रम सुरु गरौँ न भनेर यता आएको हो। प्रतिनिधि सभाको सदस्य भएर जानासाथ प्रधानमन्त्री हुनसक्ने होइन। 

अरुले त भन्दैन, म त भनिदिन्छु नि। प्रधानमन्त्री हुन सकिँदैन भने मुख्यमन्त्री भएर काम गरौँ न भनेर म यता आएको हो। संघको मन्त्री त मैले एकपटक खाएकै छु। प्रदेशको मुख्यमन्त्री भएर, पहिलो व्यक्ति भएर योजना कसरी अगाडि बढाउने, विकास कसरी गर्ने, स्रोत र साधन कसरी प्रयोग गर्ने, सुशासन यस्तो हुन्छ है कसरी देखाउने इच्छाशक्ति भएको व्यक्तिलाई ठाउँ त हो नि भनेर म यता आएको हो क्या। 

संघीयताको विरोध गरेर, नेताको विरोध गरेर मेरो भविष्य दाउमा राख्यो भन्नेहरूको कुरा हैन। यसो गरेर मेरो राजनीति जोगिन्छ भन्ने मान्यता म राख्दिन। म पछाडि हट्दिन। त्यही कुराले मेरो पार्टी जीवन सकिन्छ भनेपनि मसँग पश्चताप र रोइकराई गर्नु छैन। यो सत्य कुरा बोल्नुपर्छ भनेर म कम्युनिष्ट भएको हो। 

हुन त, अहिले कम्युनिष्ट पार्टीका मान्छे ढोंगी भइसके, भन्छन् एउटा कुरा,गर्छन् अर्को कुरा। सकेसम्म म सिद्धान्त अनुसार व्यवहार देखाउने प्रयत्न गर्छु। यसो भनिरहँदा आजको समाज जहाँ जान खोजिरहेको छ, कहिलेकाहीँ म आफैलाई त्यसको खिलाफमा देख्छु। 

चरित्र र यो प्रवृत्तिसँग त्यस्तो भाव राख्ने मान्छेहरूको असहमति हुनसक्छ। कहिले के हुन्छ भने अहिले राजनीति यस्तो भइसक्यो, सत्य कुरा बोल्नै नहुने, गुटको कुरा भनेपछि गुटले ‘गु खा’ भने पनि गु खान जाने जस्तो टाइपको क्या। त्यस्तो देखिन्छ नि। 

नत्र त माधव नेपालजीहरुको लागि पार्टीको भन्दा गुटको अनुशासन ठूलो भएन? यता हाम्रोतिर पनि त्यही छ। पार्टी हितमा भन्दा पनि गुटको हितमा कहिलेकाहीँ लागिरहेकै हुन्छ। मिलिभगत चलाएकै हुन्छ। यी सबै सारमा गलत कुरा हो। 

मेरो बाउ, मेरो मामा, मेरो दिदी, मेरो कोही कम्युनिष्टमा लागेकाले म कम्युनिष्टमा लागेको हो र? हैन। एउटा कम्युनिष्ट कार्यकर्ताको नाताले आजसम्म मैले मेरो आदर्शलाई हल्लिने काम गरेको जस्तो लाग्दैन। सकभर मेरो चेतना भइञ्जेलसम्म मेरो आदर्शलाई हल्लिन दिन्नँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .