माइक्रोसफ्टका सह-संस्थापक तथा अर्बपति बिल गेट्सले रुसी युवतीहरूसँग सम्बन्ध राखेको र यौन रोग (एसटीआई) लागेको आरोप अस्वीकार गरेका छन्।
शुक्रबार सार्वजनिक यौन अपराधमा दोषी ठहर जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलमा आफूले रुसी युवतीसँग यौन सम्बन्ध राखेको र त्यसले गर्दा यौनसम्बन्धी रोग (एसटीआई) लागेको दाबी गरिएपछि बिल गेट्सले खण्डन गरेका हुन्।
गेट्सका प्रवक्ताले आरोपलाई पूर्णतया झुट भनेका छन्। उनले भनेका छन्, ‘ती दाबी गेट्सलाई फसाउने र बदनाम गर्ने प्रयास हो।’
प्रवक्ताका अनुसार, ‘सार्वजनिक दस्तावेजले बिल गेट्स आफूबाट टाढा भएकामा जेफ्री एपस्टिन दु:खी भएको कुरा मात्र उजागर गर्छ। त्यसैले उनी गेट्सको छवि बिगार्न खोजिरहेका थिए।’
हिजो (जनवरी ३०) मात्र अमेरिकाको न्याय विभागले जेफ्री एपस्टिन अनुसन्धानसँग सम्बन्धित ३० लाख पृष्ठ, २ हजार भिडिओ र १ लाख ८० हजार तस्बिरसहितको दस्तावेज जारी गरेको थियो।
सार्वजनिक तस्बिरमा गेट्स युवती र एपस्टिनसँग देखिएका छन्।

डेली मेलको रिपोर्ट अनुसार जसमा एपस्टिनले माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई रुसी युवतीहरूसँग सम्बन्ध राखेपछि यौनजन्य रोग (सेक्सुअली ट्रान्समिटेड डिजिज- एसटीडी) लागेको दाबी गरेका छन्।
सार्वजनिक इमेलमा गेट्सले आफ्नी तत्कालीन पत्नी मेलिन्डा गेट्सलाई दिन एपस्टिनसँग एन्टिबायोटिक मागेको दाबी पनि गरिएको छ।
एपस्टिनको इमेल
अमेरिकाको न्याय विभागका अनुसार, एपस्टिनले २०१३ जुलाई १८ बिहान ११:४९ बजे आफैँलाई एउटा लामो इमेल लेखेका थिए।
त्यसमा उनले गेट्सप्रति असन्तुष्टि व्यक्त गर्दै गेट्सले छ वर्षको मित्रता समाप्त गरेको उल्लेख गरेका छन्।

इमेलमा लेखिएको छ- तपाईंले मलाई आफ्नो यौनरोगसँग सम्बन्धित इमेल मेटाउन भन्नुभएको थियो र मेलिन्डालाई गोप्य रूपमा दिन एन्टिबायोटिक औषधि माग्नुभएको थियो।
त्यही दिन बिहान १:०३ बजे अर्को इमेल लेखिएको थियो। यो गेट्सका तत्कालीन सल्लाहकार बोरिस निकोलिकको नाममा ड्राफ्ट गरिएको बताइएको छ।
यसमा बिल र मेलिन्डाबिचको वैवाहिक कलह पनि उल्लेख गरिएको छ।

बिल गेट्सको पछुतो
बिल गेट्सले यसअघि नै एपस्टिनसँगको सम्बन्धप्रति पछुतो लागेको बताइसकेका छन्। साथै उनले कुनै पनि गलत काम नगरेको दाबी गरेका छन्।
२०१९ मै उनले एपस्टिनसँग आफ्नो कुनै व्यावसायिक वा व्यक्तिगत सम्बन्ध नभएको र कहिल्यै कुनै पार्टी वा निजी कार्यक्रममा भाग नलिएको दाबी गरेका थिए।
न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलको दाबीअनुसार गेट्सले २०११ र २०१३ को बिचमा धेरै पटक एपस्टिनलाई भेटेका थिए। रिपोर्टमा गेट्स न्युयोर्कस्थित एपस्टिनको घरमा ढिलासम्म बसेको र उनको निजी विमानमा यात्रा गरेको कुरा पनि उल्लेख गरिएका छन्।
अफेयरका कारण सम्बन्ध विच्छेद

बिल र मेलिन्डा गेट्सको विवाह १९९४ मा भएको थियो। २०२१ मा उनीहरूको सम्बन्ध विच्छेद भयो।
मेलिन्डाले पछि गेट्सको अफेयर र एपस्टिनसँगको सम्बन्ध सम्बन्ध विच्छेदको प्रमुख कारक रहेको बताएकी थिइन्।
२०१९ मा एपस्टिनसँग गेट्सले भेटघाट गरेको बाहिरिएपछि मेलिन्डाले वकिलहरूसँग कुरा गरेकी थिइन्।
यस्तो छ एपस्टिन प्रकरणको पूरा कथा
यो कथा सन् २००५ मा तब सुरु भयो जब फ्लोरिडामा एक १४ वर्षीया बालिकाकी आमाले प्रहरीमा जाहेरी दर्ता गरिन्।
जाहेरीमा उनले भनेकी थिइन्, मेरी छोरीलाई मसाजको बहानामा एपस्टिनको विलासी घरमा बोलाइयो र यौन सम्बन्ध राख्न दबाब दिइयो।
जाहेरीअनुसार घर फर्केपछि पीडित बालिकाले आफ्ना आमा-बाबुलाई यो कुरा सुनाइन्।
जेफ्री एपस्टिनविरुद्ध त्यो पहिलो आधिकारिक जाहेरी थियो।
तर प्रहरीले अनुसन्धान गर्ने क्रममा उनले यो मात्र नभएर यस्तै प्रकृतिका अन्य अपराध पनि गरेको कुरा खुल्यो।
बिस्तारै एपस्टिनविरुद्ध यस्तै आरोप लगाउने ५० जना नाबालिग पहिचान भए।
पामबिच प्रहरी विभागले यो विषयलाई गम्भीरतापूर्वक लिएर धेरै महिनासम्म अनुसन्धान गर्यो। यसपछि एपस्टिनविरुद्ध आपराधिक अनुसन्धान सुरु भयो।
अनुसन्धानले म्यानहट्टन र पामबिचमा एपस्टिनका विलासी आवास रहेको खुलासा भयो। जहाँ एपस्टिनले धेरै जना प्रमुख सेलेब्रिटी सहभागी गराई हाई-प्रोफाइल पार्टी आयोजना गर्थे।
जुन पार्टीमा उनले कलिला किशोरीहरूलाई निजी जेट ‘लोलिता एक्सप्रेस’ चढाएर ल्याउँथे।
अनि पैसा र गहना वा धम्की दिएर उनीहरूलाई जबरजस्ती शारीरिक सम्बन्ध राख्न लगाउँथे। यस कार्यमा उनलाई प्रेमिका एवं पार्टनर गाइजलेन म्याक्सवेलले सहयोग गर्थिन्।

यद्यपि दोषी ठहरिए पनि उनले लामो समय जेल बस्नु परेन।
उनको प्रभाव यति थियो कि सन् २००८ मा उनलाई केवल १३ महिनाको सजाय त सुनाइयो यसमा पनि उनी जेल बाहिर काम गर्न पाउँथे।
को थिए जेफ्री एपस्टिन?
जेफ्री एपस्टिन न्युयोर्कका एक करोडपति फाइनान्सर थिए। उनको उठबस प्रमुख राजनीतिकर्मी र सेलेब्रिटीसँग हुन्थ्यो।
उनीविरुद्ध सुरुमा सन् २००५ मा एक नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोप लाग्यो। २००८ मा उनी दोषी ठहरिए र १३ महिना जेल सजाय भोगे।
यसपछि सन् २०१९ मा उनलाई यौन बेचबिखनको आरोपमा फेरि पक्राउ गयो। तर मुद्दा चलाउनुअघि नै उनले जेलमै आत्महत्या गरे।
उनको गर्लफ्रेन्ड म्याक्सवेललाई भने सन् २०२१ मा उनलाई सहयोग गरेको कसुरमा दोषी ठहर्याइएको थियो। उनी अहिले २० वर्षको जेल सजाय भोगिरहेकी छन्।
Shares

प्रतिक्रिया