विश्वकै चर्चित तथा बेलायतको सबैभन्दा ठूलो र महत्त्वपूर्ण सरकारी सञ्चार संस्था बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण काटेर गलत तरिकाले प्रस्तुत गरेको भन्दै चर्को आलोचना भएपछि उनीहरूले आइतबार पदबाट राजीनामा दिएका हुन्।
बीबीसीका अनुसार सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकले अमेरिकाको संसद् भवन (क्यापिटल) मा हमला गर्नुअघि ट्रम्पले एउटा भाषण दिएका थिए।
बीबीसीले पछि बनाएको एउटा वृतचित्र (डकुमेन्ट्री) मा त्यो भाषणको एउटा महत्त्वपूर्ण भाग हटाएको आरोप छ।
आलोचकहरूका अनुसार बीबीसीले ट्रम्पले आफ्ना समर्थकलाई शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्न भनेको अंश हटाइदिएको थियो, जसले गर्दा भ्रम सिर्जना भयो।
राजीनामा दिँदै महानिर्देशक टिम डेभीले भनेका छन्, ‘केही गल्ती भएका छन् र महानिर्देशकका रूपमा मैले अन्तिम जिम्मेवारी लिनुपर्छ।’
त्यसैगरी समाचार प्रमुख डेबोरा टर्नेसले पनि विवादले बीबीसीलाई नोक्सान पुर्याएकाले आफूले पद छाडेको बताएकी छन्।
Shares

प्रतिक्रिया