संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम र बन्धक रिहा गर्न इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेका छन्।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति स्थापनाका लागि हमास र इजरायलबीच सम्झौतामा हस्ताक्षर भएको बताएका थिए।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको प्रशंसा गर्छु, जसले यो सम्भव बनायो। म सम्बन्धित सबै पक्षलाई सम्झौताका सर्तहरूको पूर्ण पालना गर्न आग्रह गर्दछु।’
उनले अगाडि लेखेका छन्, ‘सबै बन्धकहरूलाई सम्मानजनक तरिकाले रिहा गरिनुपर्छ। स्थायी युद्धविराम सुनिश्चित गरिनुपर्छ। लडाइँ सधैँका लागि समाप्त हुनुपर्छ।’
उनले गाजामा तत्काल मानवीय सहायताका लागि अपिल पनि गरेका छन्।
हमास र इजरायलबीच सहमति भएसँगै नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा जागेको छ।
बुधबार राति मात्रै विपिन जोशी बोलिरहेको पुरानो भिडिओ सार्वजनिक भएको छ। योसँगै उनी जीवितै रहेको आशा गरिएको छ। तर भिडिओ दुई वर्ष पुरानो भएकाले उनको वर्तमान अवस्था अझै स्पष्ट भइसकेको छैन।
Shares

प्रतिक्रिया