मेघालयमा हनिमुन मनाउने क्रममा इन्दौरका यातायात व्यवसायी राजा रघुवंशी मारिएको घटनामा एकपछि अर्को खुलासा भइरहेका छन्।
प्रहरीले आफ्नै पतिको हत्या आरोपमा पक्राउ परेकी सोनम रघुवंशी र सञ्जय वर्मा नामका व्यक्तिबीच विवाहअघि र पछि धेरैपटक फोनमा कुराकानी भएको फेला पारेको छ।
मेघालय प्रहरीले प्राप्त गरेको कल डेटा रेकर्डअनुसार, सोनम र सञ्जयबीच मार्च १ देखि मार्च २५ सम्म ११९ फटक फोनमा कुराकानी भएको थियो। हाल सञ्जय वर्माको मोबाइल नम्बर बन्द छ।
मे २३ मा मेघालयको पूर्वी खासी पहाडको वेई सावडोङ झरनानजिकै राजा रघुवंशीको हत्या गरिएको थियो र उनको शव खाडलमा फ्याँकिएको थियो। उनको शव १० दिनपछि भेटिएको थियो।
भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी र सोनमबीच मे ११ मा विवाह भएको थियो।
यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा मेघालयको शिलोङ पुगेका थिए। तर उनीहरू मे २३ देखि परिवारसँग एकाएक सम्पर्कविहीन भए।
यसपछि खोजीका क्रममा प्रहरीले राजालाई जुन २ मा पहाडको खोँचभित्र मृत अवस्थामा फेला पार्यो। तर त्यतिबेला सोनम भेटिइनन्।
अन्तत: उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि घटना पर्दाफास भएको थियो।
Shares

प्रतिक्रिया