दिल्लीको नेहरू विहार क्षेत्रमा बलात्कारपछि ९ वर्षकी बालिकाको निर्मम हत्या गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार साँझ बालिका बन्द घरमा रहेको ब्रिफकेसभित्र रगतले लतपतिएको अवस्थामा बेहोस फेला परेकी थिइन्।
त्यसपछि उनको बुवाले उनलाई अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक परीक्षणमा उनको अनुहारमा गहिरो चोट देखिएको छ भने उनलाई यौन उत्पीडन गरिएको आशंका डाक्टरले गरेका छन्।
पीडित परिवारले यो जघन्य अपराध केही स्थानीय केटाले गरेको आरोप लगाएको छ। घटना भएको तुरुन्तैदेखि संलग्न व्यक्तिहरू फरार रहेको परिवारको भनाइ छ।
प्रहरीले बालिकाको शव पोस्टमार्टमका अस्पताल पठाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्न प्रहरीले ६ वटा टोली गठन गरेको छ।
टोलीले दिल्ली, गाजियाबाद, मेरठ र अलीगढमा निरन्तर छापा मारिरहेका छन्।
दिल्ली प्रहरीको अपराध शाखा र फोरेन्सिक टोलीले घटनास्थलको निरीक्षण गरेर प्रमाण संकलन थालेको छ।
यो घटनापछि त्यस क्षेत्रमा आतंक र आक्रोशको वातावरण छ।
स्थानीय नागरिक र सामाजिक संस्थाहरूले दोषीहरूलाई तुरुन्त पक्राउ गर्न माग गरिरहेका छन्।
यो विषयले भारतको राजधानीमा महिला र बालबालिकाको सुरक्षामा फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ।
Shares

प्रतिक्रिया