‘उसले टिनको पन्नीबाट एउटा औँठी बनायो र मलाई दिँदै भन्यो- मसँग बिहे गर्ने?’
भ्यालेरिया सबोटिना ती पुराना सम्झना ताजा बनाउँछिन्।
‘उहाँ मेरो माया हुनुहुन्थ्यो। हाम्रो औँठी एकदम सही थियो’, सबोटिनाले भनिन्।
युक्रेनी सेनाकी कप्तान सबोटिना र उनका साथी आन्द्रेई सबोटिनाले युद्ध सुरु हुनुभन्दा ठीकअघि मारिउपोलमा विवाह गर्ने योजना बनाइरहेका थिए।
यस अवसरमा उनीहरूले आफ्ना साथीभाइ र परिवारका सदस्यलाई ठूलो पार्टी दिने सपना बुनिरहेका थिए।
तर त्यसलगत्तै रुसले युक्रेनमा आक्रमण गर्यो। यस रणनीतिक बन्दरगाह सहरमा प्रवेश गर्दै रुसी सेनाले एकैछिनमा घेरा हल्यो।
मारिउपोलमा रुसी बमबारी भइरह्यो। सडक आगोले घेरिए। न खाना, न पानी, न बिजुली, न त त्यहाँबाट निस्किने कुनै बाटो!
उक्त सहरमा त्यस्तो घेराबन्दी तीन महिनासम्म चल्यो। यस क्रममा हजारौँ मानिस मारिएको अनुमान गरिएको छ।
यसैबीच मारिउपोलका मानिस अजोभस्टाल स्टिल प्लान्टमा लुक्न थाले। जहाँ ३० भन्दा बढी बम सेल्टर बनाइएका थिए। जुन सोभियत संघको समयमा निर्माण गरिएका थिए ताकि आणविक युद्धको स्थितिमा मानिसहरूले यहाँ आश्रय लिन सकून्।
यहीँ भ्यालेरियाको विवाह भयो र यहीँ दुई दिनभित्र उनका श्रीमान् मारिए। अनि उनको संसार एकाएक बदलियो।
भोकमरीको पीडा
रुसले युक्रेनमा आक्रमण गर्दा भ्यालेरिया कविता लेख्थिन्।
त्यसपछि उनी युक्रेनी नेसनल गार्डको एक हिस्सा आजोभ ब्रिगेडका लागि प्रेस अफिसर भइन्।
अति दक्षिणपन्थी विचारधारासँग सम्बन्ध रहेको भन्दै अजोभको आलोचना भइरहेको छ। तर ऊ त्यस्तो सम्बन्धलाई अस्वीकार गर्छ।
मारिउपोलमा रुसी आक्रमण बढ्दै गएपछि युक्रेनी सैनिक पछि हट्दै बंकरहरूमा फर्किनुपर्यो। उनीहरूसँगै सर्वसाधारणले पनि त्यहाँ शरण लिइरहेका थिए।
बंकरभित्र पस्ने बाटो एउटा ठूलो प्वालजस्तै थियो। भ्यालेरिया सम्झन्छिन्- धेरै भत्किएका सिँढी हुँदै भित्र पस्नुपर्ने थियो।
उनले भनिन्, ‘कंक्रिटको क्युब नदेखिएसम्म भित्री बाटो र सुरुङ हुँदै तल जमिनमा जानुपर्थ्यो। यो एक प्रकारको सुरक्षित कोठा थियो।’
बंकरभित्र मानिसहरूले अस्थायी भान्सा बनाएका थिए, जहाँ बचेका खानाबाट चिज निकालेर फेरि पकाइन्थ्यो। जब उनीहरूले पीठो पाउँथे, तब त्यसलाई मुछेर केक बनाउँथे।
उनी भन्छिन्, ‘हामी त्यसलाई रोटी भन्थ्यौँ, ती मुछेको पीठोका टुक्रा थिए। हामी जे जसरी खाएर बाँचिरहेका थियौँ, त्यो भोकमरी नजिकैको अवस्था थियो।’
‘हामी मुसाजस्तै भइसकेका थियौँ। विभिन्न ठाउँबाट सामान जम्मा गरेर काम चलाउँथ्यौँ। चट्टान वा लुगामा सुत्थ्यौँ।’
उनी सुनाउँछिन्, ‘कतिपय ठाउँमा पूरै अन्धकार थियो। तर आँखा अभ्यस्त भइसकेकाले सबै कुरा सामान्य लाग्न थालेका थिए। तर हाम्रो जीवनमा केही पनि सामान्य थिएनन्।’
२०२२ अप्रिल १५ का दिन आकाशबाट ठूलो बम खस्यो र भ्यालेरिया घाइते भइन्।
उनी भन्छिन्, ‘मैले आफूलाई लासहरूका बीचमा पाएँ। त्यो थुप्रोमा म मात्र बाँचेकी थिएँ। यो एउटा चमत्कार नै थियो। तर यो एउटा भयानक त्रासदी पनि थियो।’
उनको मस्तिष्कमा गम्भीर चोट लागेको थियो र आठ दिनसम्म अजोभस्टालको भूमिगत अस्पतालमा भर्ना हुनुपरेको थियो।
त्यहाँ सयौँ सिपाहीका बीचमा उनको पनि उपचार भयो। जहाँ उनको उपचार भइरहेको थियो, त्यहाँ मानव शरीरका टुक्राहरू छरिएका थिए।
उनले अगाडि भनिन्, ‘औषधिको अभावमा डाक्टरहरू पनि निरीह बनेका थिए। जताततै रगतको दुर्गन्ध थियो। चारैतिरबाट कुहिएको दुर्गन्ध आउँथ्यो।’
भ्यालेरियाका साथी आन्द्रेई अजोभस्टालमा तैनाथ थिए। तर भ्यालेरिया घाइते भएपछि उनले त्यहीँ बंकरमा इन्गेजमेन्ट र बिहेको प्रस्ताव राखे।
मे ५ मा यो जोडीले आवश्यक कागजातमा हस्ताक्षर गर्यो र यसको स्क्यान कपि आन्द्रेईका बुवाआमालाई पठायो ताकि उनीहरूले रजिस्ट्री अफिसमा पठाउन सकून् र विवाहको प्रक्रिया पूरा होस्।
त्यसपछि बंकरमा विवाहका सबै संस्कार पूरा गरियो। सैन्य पोसाकमै नै विवाहको पोसाकका रूपमा लगाइयो र टिनको पन्नीले बनेको औँठी लगाएर बिहे गरियो।
आन्द्रेईले भ्यालेरियासँग युद्ध समाप्त हुनेबित्तिकै वास्तविक विवाहको औँठी किनिदिने वाचा गरे।
तर मे ७ का दिन उक्त क्षेत्रमा लडाइँ अभियानमा जाँदा गोली लागेर आन्द्रेईको मृत्यु भयो।
भ्यालेरिया भन्छिन्, ‘मानिसहरू आफन्त मारिएको खबर सुन्नासाथ भित्रभित्र काम्न थाल्छन्, तर मलाई त्यस्तो केही महसुस भएन।’
उनी थप्छिन्, ‘वास्तवमा, जुन दिन आन्द्रेई मारिए, त्यो खबर नपाउँदासम्म म राम्रो मुडमा थिएँ। म विवाहित र प्रेममा थिएँ।’
तर जब भ्यालेरियाले आफ्ना श्रीमान् मारिएको थाहा पाइन्, तब उनी रोइनन्। उनले यस घटनालाई आफ्नो मनभित्रै राखिन्।
उनी भन्छिन्, ‘अजोभस्टालको एक दिन एक वर्षजस्तो लाग्यो। पहिले म दुलही थिएँ। भोलिपल्ट श्रीमती भएँ र त्यसको भोलिपल्ट...अब त मलाई यी शब्द निकाल्न पनि डर लाग्छ।’
युद्धबन्दी
मेको सुरुमा हजारौँ युक्रेनीले अजोभस्टाल स्टिल प्लान्टमा आश्रय लिइरहेका थिए।
उनीहरू ८० दिनदेखि खाना र औषधिबिना बाँचिरहेका थिए। उनीहरूलाई त्यहाँबाट तुरुन्तै बाहिर निकाल्न जरुरी थियो।
सबैभन्दा पहिले त्यहाँबाट सर्वसाधारण बाहिर निकाल्न अनुमति दिइएको थियो। सैनिकहरूलाई भने रुसी सेनाले बन्दी बनाएको थियो।
यो आशा गरिएको थियो- युद्धबन्दी आदानप्रदानका क्रममा उनीहरू सबै रिहा हुनेछन्।
तर दुई वर्ष बितिसक्दा पनि हजारौँ युक्रेनी सैनिक रुसी सेनाको बन्दी बनेर बस्न विवश छन्। तीमध्ये ९ सय जना अजोभ ब्रिगेडका सदस्य छन्। तिनीहरूमध्ये धेरै जना युक्रेनी जनताका लागि राष्ट्रिय नायक हुन्।
उनीहरूको रिहाइका लागि परिवारका सदस्यहरूले युक्रेनी अधिकारीहरू अगाडि प्रदर्शन जारी राखेका छन्। तर युद्धबन्दी आदानप्रदानको प्रक्रिया जटिल छ।
रुसले युक्रेनमा आक्रमण गरेयता अहिलेसम्म करिब तीन हजार युक्रेनी युद्धबन्दी रिहा भएका छन्। तर अझै १० हजार युक्रेनी युद्धबन्दी रुसी जेलमा रहेको बुझिएको छ।
संयुक्त राष्ट्रसंघको अनुसन्धानअनुसार युक्रेनी युद्धबन्दीहरूलाई कुटपिट, बलात्कार र यौन दुर्व्यहार भइरहेका छन्। उनीहरूलाई करेन्ट लगाउने गरिएको छ। उनीहरू मारिइरहेका छन्।
भ्यालेरिया ११ महिनासम्म रुसी सेनाको कब्जामा बसिन्। त्यस क्रममा उनले कैयौँ प्रताडना र हिंसा भोगिन्।
हालै उनले रुसी जेलमा बिताएका दिनहरूको सम्झनामा एउटा पुस्तक प्रकाशन गरेकी छन्।
उनका पति आन्द्रेईको शव अझै पनि अजोभस्टाल स्टिल प्लान्टमै छ।
उनी भन्छिन्, ‘रुसीहरूले मेरा ती सबै चिज ध्वस्त बनाइदियो, जोसँग प्रेम गर्थेँ- मेरो सहर, मेरा साथी र मेरा पति।’
Shares
प्रतिक्रिया