रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुढ्यौली र शरीरको कमजोरीसँग लड्न २६ अर्ब डलरको एक प्रमुख सरकारी परियोजना सुरु गरेका छन्।
"नयाँ स्वास्थ्य संरक्षण प्रविधि" भनिने यो कार्यक्रमले मिनी-पिग्स (विशेष प्रजातिका सुँगुर) भित्र मानव अंग बढाउनेजस्ता प्रविधिमा काम गर्नेछ।
द वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार यस परियोजनाले जिन थेरापी प्रयोगशालामा विकसित मानव अंग र अति-कम तापक्रममा क्रायोथेरापीजस्ता प्रविधिमा पनि काम गर्नेछ।
रुसको दाबीअनुसार ‘यो अभियानले दशकको अन्त्यसम्ममा बुढ्यौली प्रक्रिया ढिलो गर्ने र लगभग १ लाख ७५ हजार जीवन बचाउने लक्ष्य राखेको छ।’
रुसका उपविज्ञान मन्त्री डेनिस सेकिरिंस्कीले अप्रिलमा भनेका थिए, ‘वैज्ञानिकहरूले शरीरका कोषको बुढ्यौली प्रक्रिया ढिला गर्न सक्ने जिन थेरापी विकास गरिरहेका छन्। जसलाई एन्टी-एजिङको क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण अनुसन्धान मानिन्छ।’
यस परियोजनाको एक प्रमुख भाग बायोप्रिन्टिङमा आधारित छ। यसअन्तर्गत थ्रीडी प्रिन्टर प्रयोग गरेर जीवित तन्तु र अंग सिर्जना गरिन्छ। रुसका वैज्ञानिकहरू मानव कार्टिलेज र मुसाको थाइराइड ग्रन्थी सिर्जना गरिएको दाबी गर्छन्। जसको लक्ष्य २०३० सम्ममा पूर्ण अंग प्रतिस्थापन प्राप्त गर्नु हो।
रुसले आनुवंशिक रूपमा परिमार्जित मिनी-पिग्सभित्र मानव कलेजो, मिर्गौला र मुटु विकास गर्ने काम पनि गरिरहेको छ। वैज्ञानिकहरूका अनुसार यसले भविष्यमा अंग प्रत्यारोपणको अभावलाई कम गर्न सक्छ।
Shares

प्रतिक्रिया