ग्लोबल


अमेरिका र इरानलाई संयुक्त राष्ट्रसंघको अपिल: ‘असल नियत’का साथ वार्तामा बस्नू

अमेरिका र इरानलाई संयुक्त राष्ट्रसंघको अपिल: ‘असल नियत’का साथ वार्तामा बस्नू

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस


नेपालखबर
चैत २८, २०८२ शनिबार १४:२१, काठमाडौँ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज पाकिस्तानमा सुरु हुन लागेको अमेरिका-इरान शान्ति वार्ताको स्वागत गरेका छन् र दुवै पक्षलाई 'असल नियत'का साथ यसमा संलग्न हुन आग्रह गरेका छन्।

महासचिवका प्रवक्ता स्टेफेन डुजारिकका अनुसार गुटेरेसले ‘सबै पक्षलाई यो कूटनीतिक अवसर सदुपयोग गर्न र युद्ध नदोहोरिने तर्फ राम्रो नियतका साथ वार्तामा संलग्न हुन अपिल गरेका हुन्।’

डुजारिकले भनेका छन्, ‘महासचिवले अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानको विकल्प नभएको कुरा दोहोर्‍याउँदै यो संयुक्त राष्ट्रसंघको बडापत्रसहितको अन्तर्राष्ट्रिय कानुनअनुसार हुनुपर्ने बताएका छन्।’

उनले कूटनीतिक प्रयासलाई समर्थन गर्न गुटेरेसका विशेष दूत त्यस क्षेत्रमा उपस्थित रहेको पनि बताएका छन्।

वार्ताका लागि अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा र इरानबाट सभामुख मोहम्मद बागेर गालिबाफको नेतृत्वमा प्रतिनिधिमण्डल पाकिस्तानको इस्लामाबाद आइसकेका छन्।  

गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेका अमेरिका र इरानबिच आज पाकिस्तानको इस्लामाबादमा शान्ति वार्ता हुन लागेको हो। 

वार्ता आजै सुरु हुने अपेक्षा छ। तर युद्धविरामपछि पनि इजरायलले लेबननमा भीषण हवाई हमला गरेका कारण दुई देशबिच विवाद छ। 

इरान र अमेरिकाबिच युद्धविराम लेबननमा पनि हो वा होइन भन्ने विषयमा विवाद भइरहेको हो। 

यसैबिच शुक्रबार लेबननको राष्ट्रपति कार्यालयले दक्षिणी सहर नाबाटियाहमा इजरायलले आक्रमण गर्दा १३ सरकारी सुरक्षाकर्मी मारिएको बताएको छ।

यसअघि बुधबारको आक्रमणमा २ सयभन्दा बढी मानिस मारिएको र हजारभन्दा बढी व्यक्ति घाइते भएको लेबननले जनाएको छ। 

इरानका सभामुख मोहम्मद बागेर गालिबाफले वार्ताका लागि लेबननमा युद्धविराम र इरानको फ्रिज गरिएको सम्पत्ति फिर्ता गरिनुपर्ने सर्त राखेका छन्।

उनले भनेका छन्, ‘यी दुवै कुरा पहिले नै सहमति भइसकेको छ तर अझै कार्यान्वयन भएको छैन।’

यसैबिच अमेरिका र इरानको वार्तालाई ध्यानमा राखेर पाकिस्तानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। 

हेर्नुहोस् पाकिस्तानको राजधानी इस्लामाबादका केही दृश्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad