ग्लोबल


पाकिस्तानमा आज सुरु हुन लागेको अमेरिका–इरान वार्ता सफल होला? यस्तो छ ट्रम्पको जवाफ

पाकिस्तानमा आज सुरु हुन लागेको अमेरिका–इरान वार्ता सफल होला? यस्तो छ ट्रम्पको जवाफ

नेपालखबर
चैत २८, २०८२ शनिबार ८:२६, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा आज इरानसँग सुरु हुन लागेको वार्ता तुरुन्त सम्पन्न हुन्छ वा केही हप्ता जारी रहन्छ भन्ने कुरा निश्चित नरहेको बताएका छन्। 

दुई साताका लागि युद्धविराम गरेका अमेरिका र इरानबिच आज पाकिस्तानको इस्लामाबादमा शान्ति वार्ता सुरु गर्ने तयारी भइरहेको छ।

भर्जिनियाको चार्लोट्सभिल जान विमान चढ्ने क्रममा ट्रम्पलाई पत्रकारले सोधे- ‘अमेरिकी वार्ता टोलीका नेतृत्वकर्ता उपराष्ट्रपति जेडी भान्सलाई के सल्लाह दिनुभएको छ त?’

जवाफमा ट्रम्पले भने, ‘मैले उनलाई शुभकामना दिएको छु।’

अर्का पत्रकारले ट्रम्पलाई सोधे- ‘इरानसँग राम्रो सम्झौता कसरी होला?’

जवाफमा ट्रम्पले भने, ‘कुनै आणविक हतियार छैन, अनि सत्तामा पहिले नै परिवर्तन भइसकेको छ।’

यस क्रममा ट्रम्पले होर्मुज स्ट्रेट चाँडै खुला हुने दाबी पनि गरे।

अमेरिकासँग शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पाकिस्तानको इस्लामाबाद आइपुगेको छ।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन्।

वार्ता टोलीमा इरानका विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषद् सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासेर हेम्मती र इरानी संसद्का सदस्य पनि छन्।

इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दारले देशको नुर खान विमानस्थलमा स्वागत गरेका छन्। 

स्वागतमा पाकिस्तानका राष्ट्रियसभाका सभामुख सरदार अयाज सादिक, सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर र आन्तरिक मन्त्री सैयद मोहसिन रजा नक्वी पनि उपस्थित थिए।

यसैबिच इरानका सभामुख मोहम्मद बागेर गालिबाफले वार्ताका लागि लेबननमा युद्धविराम र इरानको फ्रिज गरिएको सम्पत्ति फिर्ता गरिनुपर्ने सर्त राखेका छन्।

उनले भनेका छन्, ‘यी दुवै कुरा पहिले नै सहमति भइसकेको छ तर अझै कार्यान्वयन भएको छैन।’

गत मंगलबार राति अमेरिका र इरानबिच २ साताका लागि भएको युद्धविरामपछि पनि इजरायलले लेबननमा भीषण हवाई हमला गरिरहेको छ। 

जसले गर्दा इरान र अमेरिकाबिच युद्धविराम लेबननमा पनि हो वा होइन भन्ने विषयमा विवाद भइरहेको छ। 

यसैबिच शुक्रबार लेबननको राष्ट्रपति कार्यालयले दक्षिणी सहर नाबाटियाहमा इजरायलले आक्रमण गर्दा १३ सरकारी सुरक्षाकर्मी मारिएको बताएको छ।

यसअघि बुधबारको आक्रमणमा २ सयभन्दा बढी मानिस मारिएको र हजारभन्दा बढी व्यक्ति घाइते भएको लेबननले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad