इरानका सभामुख मोहम्मद बागेर गालिबाफले वार्ता सुरु गर्नुअघि लेबननमा युद्धविराम र इरानको फ्रिज गरिएको सम्पत्ति फिर्ता हुनुपर्ने माग गरेका छन्।
बीबीसीका अनुसार उनले भनेका छन्, ‘यी दुवै कुरा पहिले नै सहमति भइसकेको छ तर अझै कार्यान्वयन भएको छैन।’
इरानी सञ्चारमाध्यमका अनुसार वार्ताका लागि संसद्का सभामुख गालिबाफको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल पाकिस्तानको इस्लामाबाद पुगिसकेको छ।
इरानसँग वार्ता गर्न अमेरिकाका उपराष्ट्रपति भान्स पनि शुक्रबार साँझ पाकिस्तान प्रस्थान गरिसकेका छन्।
विमान चढ्नुअघि उपराष्ट्रपति भान्सले भने, ‘हामी वार्ताको लागि उत्साहित छौँ।’
साथै उनले यदि इरानले ‘राम्रो नियतका साथ’ काम गर्यो भने अमेरिका ‘सहयोगी हात फैलाउन’ तयार रहेको पनि बताए।
उनले भने, ‘वार्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले मलाई दिशानिर्देश गरेका छन्।’
अमेरिकाका उपराष्ट्रपति भान्स पाकिस्तान प्रस्थान गर्ने बेलाको भिडिओ
.@VP departs for Islamabad, Pakistan: "As @POTUS said, if the Iranians are willing to negotiate in good faith, we're certainly willing to extend the open hand. If they're going to try to play us, then they're going to find that the negotiating team is not that receptive." pic.twitter.com/9nNDGsMmId
— Rapid Response 47 (@RapidResponse47) April 10, 2026
पाकिस्तानस्थित बीबीसी संवाददाताका अनुसार इरानसँगको वार्तामा भान्सका साथमा अमेरिकाका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुसनर पनि हुनेछन्।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार इरानसँग वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार सुरु हुने अपेक्षा गरिएको छ।
तर गत मंगलबार राति अमेरिका र इरानबिच २ साताका लागि भएको युद्धविराम लेबननमा पनि हो कि होइन भन्ने विषयमा विवाद भइरहेको छ।
युद्धविरामयता पनि इजरायलले लेबननमा आक्रमण जारी राखेको छ। युद्धविराम सम्झौता लेबननका लागि नभएको जिकिर इजरायलले गरिरहेको छ।
यसैबिच शुक्रबार लेबननको राष्ट्रपति कार्यालयले दक्षिणी सहर नाबाटियाहमा इजरायलले आक्रमण गर्दा १३ सरकारी सुरक्षाकर्मी मारिएको बताएको छ।
यसअघि बुधबारको आक्रमणमा २ सयभन्दा बढी मानिस मारिएको र हजारभन्दा बढी व्यक्ति घाइते भएको लेबननले जनाएको छ।
Shares

प्रतिक्रिया