ग्लोबल


इजरायलले भन्यो: लेबननमा युद्धविराम छैन, आक्रमण जारी रहन्छ

इजरायलले भन्यो: लेबननमा युद्धविराम छैन, आक्रमण जारी रहन्छ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
चैत २७, २०८२ शुक्रबार ९:५५, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै युद्धविराम नभएको बताएका छन्।

इजरायलको प्रधानमन्त्री कार्यालयले एक्समा राखेको भिडिओमा नेतन्याहु उत्तरी इजरायलका नागरिकलाई सम्बोधन गरिरहेको देखिन्छ।

जसमा उनी भनिरहेका छन्, ‘म तपाईंहरूलाई भन्न चाहन्छु- लेबननमा कुनै युद्धविराम छैन। हामीले पूर्ण शक्तिका साथ हेज्बुल्लाहमाथि आक्रमण जारी राखेका छौँ र हामी तपाईंहरूको सुरक्षा पुनर्स्थापित नभएसम्म रोकिने छैनौँ।’

यसअघि भने उनले लेबननको बारम्बार अनुरोधलाई ध्यान दिँदै प्रत्यक्ष वार्ता सुरु गर्न आफ्नो मन्त्रिपरिषद्‌लाई निर्देशन दिएको बताएका छन्। 

नेतन्याहुले भनेका छन्, ‘इजरायलसँग प्रत्यक्ष वार्ता सुरु गर्न लेबननले बारम्बार गरेको अनुरोधलाई ध्यानमा राख्दै मैले हिजो मन्त्रिपरिषद् बैठकमा वार्ता सकेसम्म चाँडो सुरु गर्न निर्देशन दिएको छु।’

उनले थप भनेका छन्, ‘वार्ता हेजबुल्लाहले हतियार त्याग्ने र इजरायल र लेबनानबिच शान्तिपूर्ण सम्बन्ध स्थापना गर्ने कुरामा केन्द्रित हुनेछ।’

मंगलबार राति अमेरिका र इरानबिच २ साता युद्धविराम गर्ने सहमति भइसक्दा पनि बुधबार इजरायलले लेबननमा भीषण हवाई आक्रमण गरेको छ। जसमा परी २ सयभन्दा बढी मानिस मारिएका छन् भने हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। 

जसले गर्दा अहिले अमेरिका र इरानबिच युद्धविराम सम्झौतामा लेबननमा पनि आक्रमण रोक्ने कुरा छ कि छैन भन्ने विषयमा विवाद भइरहेको छ। 

इरानले सम्झौतामा लेबननमा पनि हमला नगर्ने कुरा रहेको जिकिर गरिरहँदा अमेरिकाले भने यो कुरा समावेश नगरिएको दाबी गरिरहेको छ।

त्यसो त युद्धविरामका लागि मध्यस्थता गर्ने पाकिस्तानले बुधबारै लेबननमा पनि युद्ध रोक्ने कुरा रहेको बताएको थियो। तर इजरायलले युद्धविराम लेबननमा लागु नहुने भनेको थियो।  

यसैबिच इजरायलको आक्रमणले दक्षिणी लेबननस्थित चौकिन सहरको एउटा गाउँ ध्वस्त भएको तस्बिर सार्वजनिक भएको छ।

लेबननको सरकारी सञ्चारमाध्यमले इजरायलका लडाकु विमानले अन्य धेरै सहरमा पनि आक्रमण गरेको जनाएको छ।

हमलाका कारण धेरै मानिस घाइते तथा घरहरू ध्वस्त भएका छन्।

यसैबिच हेज्बुल्लाहले पनि इजरायलविरुद्ध बदला लिएको छ।

हेज्बुल्लाहले उत्तरी इजरायलमा रकेट आक्रमण गरिएको बताएको छ।

इजरायलको आक्रमणले लेबननमा भएको क्षतिका ३ तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad