अमेरिकाका राष्ट्रपति ट्रम्पले दिएको धम्कीलाई ध्यानमा राख्दै इरानले देशभरका युवालाई एकताबद्ध हुन आह्वान गरेको छ।
सीएनएनका अनुसार इरान सरकारले विश्वविद्यालयका विद्यार्थी, कलाकार, खेलाडी र युवा संगठनहरूलाई अप्रिल ७ मा पावर प्लान्टवरिपरि मानव साङ्लो (हुम्यान चेन) बनाउन आग्रह गरेको हो।
इरानका युवा तथा खेलकुद उपमन्त्री अलिरेजा रहिमीले एक्समा लेखेका छन्, ‘म सबै युवा, सांस्कृतिक र कलात्मक व्यक्तित्व, खेलाडी र च्याम्पियनहरूलाई राष्ट्रिय अभियान 'उज्ज्वल भोलिका लागि इरानी युवाहरूको मानव शृंखला'मा आमन्त्रण गर्दछु।’
यसको उद्देश्य सार्वजनिक पूर्वाधारमा अमेरिकाले गर्न सक्ने आक्रमणको प्रतिरोध गर्नु रहेको बताइएको छ।
ट्रम्पले सोमबार बिहान इरानलाई युद्धविराम सम्झौता तथा होर्मुज स्ट्रेट खोल्न अब ४८ घण्टाको समय मात्र बाँकी रहेको र यसभित्र उक्त काम नभए भीषण आक्रमण गर्ने चेतावनी दिएका छन्।
उनले दिएको अल्टिमेटम नेपाली समयअनुसार बुधबार बिहान सकिँदै छ।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति पत्रकार सम्मेलन गरी इरानलाई कडा चेतावनी दिएका छन्।
उनले भनेका छन्, 'यदि अमेरिकाले चाह्यो भने एकै रातमा सिंगो इरानलाई ध्वस्त पार्न सक्छ। आवश्यक परेमा त्यो रात भोलि पनि हुन सक्छ।'
ट्रम्पले पत्रकार सम्मेलनमा भनेका ५ प्रमुख कुरा...
इरानलाई धम्की : यदि अमेरिकाले चाहेमा एक रातमै सिंगो इरानलाई ध्वस्त पार्न सक्छ। आवश्यक परेमा यस्तो कारबाही भोलिकै राति पनि हुन सक्छ।
उद्धार अभियान : इरानमा फसेका अमेरिकी सैनिकलाई उद्धार गर्न अमेरिकाले १५५ सैन्य विमानसहित उद्धार अभियान सञ्चालन गरेको थियो। यसमा लडाकु जेट, बमवर्षक र उद्धार विमान सामेल थिए।
इरानमा हजारौँ हमला : बितेका ३७ दिनमा अमेरिकाले इरानमा १३ हजारभन्दा बढी निसानामा आक्रमण गरिसकेको छ र १० हजारभन्दा बढी लडाकु उडान गरिएको छ।
सूचना लिक गर्नेलाई धम्की : इरानमा फसेको दोस्रो पाइलटबारे मिडियालाई समाचार चुहाउने व्यक्तिलाई खोजिनेछ। आवश्यक परेमा मिडिया कम्पनीविरुद्ध पनि कारबाही गर्न सकिन्छ।
अमेरिकी विमान खसालिएको स्वीकार : इरानले अमेरिकी एफ-१५ विमान खसाल्यो, तर यो शत्रुको भाग्य थियो अर्थात् यो केवल एक भाग्यशाली प्रहार थियो।
इरानको शीर्ष नेतृत्व सखाप
अमेरिका-इजरायले संयुक्त आक्रमणको पहिलो दिन गत फेब्रुअरी २८ मै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारी मारेको थियो।
त्यसयता इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी, नौसेना कमान्डर अलिरेजा ताङसिरी, नौसेना गुप्तचर निर्देशनालयका प्रमुख बहनाम रेजाई र अहिले गुप्तचर संगठनका प्रमुख माजिद खादेमी पनि मारिएका छन्।
बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।
जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या भने ५ हजार नाघिसकेको छ।
Shares

प्रतिक्रिया