ग्लोबल


अमेरिकासँग जारी युद्ध अन्त्य गर्न इरानले पठायो पाकिस्तानलाई शान्ति प्रस्ताव

अमेरिकासँग जारी युद्ध अन्त्य गर्न इरानले पठायो पाकिस्तानलाई शान्ति प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी सर्वोच्च नेता मोज्तबा खामेनी


नेपालखबर
चैत २४, २०८२ मंगलबार ८:४१, काठमाडौँ

इरानले अमेरिकासँग जारी युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने लक्ष्य राखेर पाकिस्तानलाई शान्ति प्रस्ताव पठाएको छ। दुई देशबिचको वार्तामा पाकिस्तानले मध्यस्थता गरिरहेको छ। 

समाचार एजेन्सी आईआरएनएका अनुसार इरानी प्रतिनिधिमण्डलले अमेरिकाको प्रस्तावमा जवाफ दिएको हो।

आईआरएनएको रिपोर्टअनुसार इरानको नेतृत्वले लगभग दुई हप्तासम्म गहन समीक्षापश्चात् आफ्नो प्रतिक्रिया पठाएको हो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि आज मंगलबारसम्मको समयसीमा दिएपछि इरानले प्रतिक्रिया दिएको हो।

ट्रम्पले मंगलबारसम्म होर्मुज स्ट्रेट नखोलिए इरानका पावर प्लान्ट र पुल ध्वस्त पारिने धम्की दिएका छन्।

अप्रिल ६ मा इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले मध्यस्थकर्ताहरूमार्फत सन्देश आदानप्रदान भएको पुष्टि गरेका छन्। तर अमेरिकाको १५-बुँदे योजना अस्वीकार गरेको दाबी गरेका छन्। 

आईआरएनएले लेखेको छ, ‘इरानको दश-अनुच्छेदको जवाफमा विगतका अनुभव उद्धृत गर्दै युद्धविरामको विचार अस्वीकार गरेको छ। बरु यसको सट्टा इरानले आफ्ना सर्तमा स्थायी समाधानमा जोड दिएको छ।’

समाचार एजेन्सीका अनुसार इरानको दस्तावेजमा क्षेत्रीय द्वन्द्वको अन्त्य, होर्मुज स्ट्रेटमा सुरक्षित आवतजावतको सम्झौता, पुनर्निर्माण र प्रतिबन्ध हटाइनुपर्नेजस्ता धेरै माग छन्।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति पत्रकार सम्मेलन गरी इरानलाई कडा चेतावनी दिएका छन्। 

उनले भनेका छन्, 'यदि अमेरिकाले चाह्यो भने एकै रातमा सिंगो इरानलाई ध्वस्त पार्न सक्छ। आवश्यक परेमा त्यो रात भोलि पनि हुन सक्छ।'

ट्रम्पले पत्रकार सम्मेलनमा भनेका ५ प्रमुख कुरा...

इरानलाई धम्की : यदि अमेरिकाले चाहेमा एक रातमै सिंगो इरानलाई ध्वस्त पार्न सक्छ। आवश्यक परेमा यस्तो कारबाही भोलिकै राति पनि हुन सक्छ।

उद्धार अभियान : इरानमा फसेका अमेरिकी सैनिकलाई उद्धार गर्न अमेरिकाले १५५ सैन्य विमानसहित उद्धार अभियान सञ्चालन गरेको थियो। यसमा लडाकु जेट, बमवर्षक र उद्धार विमान सामेल थिए।

इरानमा हजारौँ हमला : बितेका ३७ दिनमा अमेरिकाले इरानमा १३ हजारभन्दा बढी निसानामा आक्रमण गरिसकेको छ र १० हजारभन्दा बढी लडाकु उडान गरिएको छ।

सूचना लिक गर्नेलाई धम्की : इरानमा फसेको दोस्रो पाइलटबारे मिडियालाई समाचार चुहाउने व्यक्तिलाई खोजिनेछ। आवश्यक परेमा मिडिया कम्पनीविरुद्ध पनि कारबाही गर्न सकिन्छ।

अमेरिकी विमान खसालिएको स्वीकार : इरानले अमेरिकी एफ-१५ विमान खसाल्यो, तर यो शत्रुको भाग्य थियो अर्थात् यो केवल एक भाग्यशाली प्रहार थियो।

पत्रकार सम्मेलनको भिडिओ:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad