युद्ध अन्त्यका लागि अमेरिकाको १५ बुँदे प्रस्ताव अस्वीकार गरेको इरानले अहिले वार्ता गर्ने कुनै मनसाय नरहेको बताएको छ।
इरानको सरकारी टीभीलाई अन्तर्वार्ता दिँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले केही दिनदेखि अमेरिकाले विभिन्न मध्यस्थकर्ताहरूमार्फत सन्देश पठाउन थालेको बताएका छन्।
‘अमेरिकाले सन्देश मित्र राष्ट्रहरूमार्फत पठाएको छ र इरानले आफ्नो अडान प्रस्तुत गर्दै चेतावनीसहित जवाफ दिएको छ, विदेशमन्त्री अराघचीले भनेका छन्, ‘यो न वार्ता हो न त सौदाबाजी, न त त्यस्तै केही।’
उनले थपेका छन्, ‘इरानको नीति अहिले पनि आफ्नो सुरक्षा गर्ने नै हो र अहिले वार्ता गर्ने कुनै मनसाय छैन।’
अराघचीले यो इजरायलको युद्ध भएको उल्लेख गर्दै यसबाट अमेरिकासँगै यस क्षेत्रका जनताले मूल्य चुकाइरहेको बताएका छन्।
यसअघि इरानले अमेरिकाको १५ बुँदे प्रस्तावको जवाफमा पाँच सर्त पूरा भए मात्र युद्ध अन्त्य हुन सक्ने बताएको थियो।
यी हुन् इरानले राखेका ५ सर्त:
- शत्रुबाट भइरहेका आक्रमण र हत्याको पूर्ण अन्त्य।
- इरानविरुद्ध फेरि आक्रमण नगर्ने समाधान
- युद्धबाट भएका हानि-नोक्सानीको क्षतिपूर्ति दिने ग्यारेन्टी
-- सबै मोर्चामा र यस क्षेत्रभरि संलग्न सबै समूहका लागि युद्ध अन्त्य
-होर्मुज स्ट्रेटमा इरानको अधिकार हुने कुरामा अन्तर्राष्ट्रिय स्तरबाट मान्यता र सुनिश्चितता
अमेरिकाले युद्ध अन्त्यका लागि प्रस्तुत गरेको १५ बुँदे योजना यस्तो छ:
-इरानको आणविक कार्यक्रम बन्द र आणविक हतियार विकास नगर्ने ग्यारेन्टी
-युरेनियम संवर्धन सीमित गरिनुपर्ने वा पूर्ण रूपमा रोकिनुपर्ने र स्टक आईएईएलाई हस्तान्तरण गरिनुपर्ने
-ब्यालिस्टिक र क्रुज मिसाइल कार्यक्रम कडा नियन्त्रण वा कटौती
-होर्मुज स्ट्रेट पूर्ण रूपमा खोल्ने र विश्वव्यापी ढुवानीका लागि सुरक्षित बनाउने
-सबै आणविक स्थलमा अन्तर्राष्ट्रिय एजेन्सीको पूर्ण र बिनासर्त पहुँच
-नातान्ज, फोर्डो र इस्फहानजस्ता प्रमुख आणविक आधार सीमित गर्ने वा बन्द गर्ने
-हेजबुल्लाह र अन्य सहयोगी मिलिसियालाई समर्थन कम वा बन्द गर्ने
-क्षेत्रमा सैन्य गतिविधि र आक्रमण घटाउने
-वार्ता अघि बढाउन निश्चित अवधिको लागि युद्धविराम लागु गर्ने
-भविष्यमा युद्ध दोहोरिन नदिने अन्तर्राष्ट्रिय ग्यारेन्टी
-समुद्री र ऊर्जा पूर्वाधार सुरक्षाको सुनिश्चितता
-इरानको क्षेप्यास्त्र दायरा र प्रयोग आत्मरक्षाका लागि मात्र सीमित गर्ने
-बदलामा इरानविरुद्धका आर्थिक प्रतिबन्ध पूर्ण वा चरणबद्ध रूपमा हटाउने
-नागरिक आणविक कार्यक्रम र ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग प्रदान गर्ने
-मध्यपूर्वमा स्थिरता र शान्तिका लागि दीर्घकालीन रोडम्याप कार्यान्वयन गर्ने
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
साथै इरानले गरेका आक्रमणका कारण इजरायल तथा अमेरिकी आधार रहेका खाडीका मुलुकहरूमा पनि मानवीय तथा भौतिक क्षति भएका छन्।
Shares

प्रतिक्रिया