ग्लोबल


आफू जीवितै रहेको प्रमाण दिन पत्रकार सम्मेलन गर्दै नेतन्याहुले बताएका मुख्य ७ कुरा

आफू जीवितै रहेको प्रमाण दिन पत्रकार सम्मेलन गर्दै नेतन्याहुले बताएका मुख्य ७ कुरा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
चैत ६, २०८२ शुक्रबार १०:२१, काठमाडौँ

इरानसँग जारी युद्धका बिच आफ्नो मृत्युको हल्ला फैलिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार राति अबेर पत्रकार सम्मेलन गरी खण्डन गरेका छन्। अर्थात् उनले आफू जीवितै रहेको प्रमाण पेस गरेका छन्। 

पत्रकार सम्मेलनमा उनले भने, ‘म जीवित छु।’

यस क्रममा नेतन्याहुले अब इरानसँग युरेनियम समृद्ध गर्ने वा ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने क्षमता नरहेको दाबी पनि गरे। 

उनले भने, ‘हामी जितिरहेका छौँ र इरान ध्वस्त हुँदै छ। हामीले १०० भन्दा बढी इरानी क्षेप्यास्त्र प्रक्षेपक साथै धेरै हतियार उत्पादन गर्ने कारखाना ध्वस्त पारेका छौँ।’

उनले अगाडि भने, ‘हामी इरानमा व्यापक आक्रमण गर्दै छौँ र यसले अब संसारलाई ब्ल्याकमेल गर्न सक्दैन। यसको नेतृत्व सकिएको छ।’

यी हुन् नेतन्याहुको भनाइका प्रमुख ७ बुँदा

-म जीवित छु, तपाईंहरू सबै यसको साक्षी हुनुहुन्छ। सायद मेरो मृत्युको हल्लाको खण्डन गर्न।

-२० दिनको युद्धपछि इरानसँग अब युरेनियम समृद्ध गर्ने र ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने क्षमता छैन। 

-हामीले युद्धका लागि तीन उद्देश्य राखेका छौँ: इरानको आणविक खतराको अन्त्य गराउने, ब्यालिस्टिक क्षेप्यास्त्रको जोखिम खत्तम पार्ने र इरानी जनताका लागि स्वतन्त्रता सिर्जना गर्ने।

-अमेरिका र इजरायलले संयुक्त रूपमा इरानलाई नष्ट गरिरहेका छन्। हामी जितिरहेका छौँ। इरानको नेतृत्वमा दरार आइरहेको छ।

-इरानको साउन पार्स ग्यास फिल्डसँग जोडिएको प्रशोधन प्लान्टमा आक्रमण इजरायलले एक्लैले गरेको थियो, यसमा अमेरिका संलग्न थिएन।

-ट्रम्प आफ्नै इच्छाले युद्धमा सामेल भए। के कसैलाई लाग्छ- कसैले ट्रम्पलाई केही गर्न बाध्य पार्न सक्छ?

-शासन परिवर्तनका लागि हवाई हमला मात्र पर्याप्त छैन; जमिनबाट पनि कारबाही आवश्यक हुन सक्छ, तर इरानी जनता आफैँ उठ्नुपर्छ।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ। 

बदलामा इरानले इजरायलका साथै अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा पनि ड्रोन/क्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि युद्ध फैलिएको छ। 

यसबिच इजरायलले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको पनि हत्या गरेको छ।

यसपछि आक्रोशित इरानका सैन्य प्रमुख अमिर हतामीले यसको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।

इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।

तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाएको छ।

इजरायलले अब उनलाई पनि मारिने धम्की दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad