ग्लोबल


युद्ध लम्ब्याउन अमेरिकासँग पर्याप्त हतियार नभएको चीनका सैन्य विज्ञको अनुमान

युद्ध लम्ब्याउन अमेरिकासँग पर्याप्त हतियार नभएको चीनका सैन्य विज्ञको अनुमान

नेपालखबर
फागुन १८, २०८२ सोमबार १८:२, काठमाडौँ

चिनियाँ सैन्य विश्लेषकले इरानमाथि जारी आक्रमण लामो समय लान अमेरिका र इजरायलसँग पर्याप्त हतियार नभएको बताएका छन् । प्रतिष्पर्धी देशसँग आक्रमक कुटनीतिक प्रहारका लागि सञ्चालनमा ल्याईएको मानिने चिनियाँ मिडिया ग्लोबल टाईम्सले सैन्य विज्ञ  झाङ जुनशेको भनाई उधृत गर्दै यस्तो बताएको छ । 

ग्लोबल टाईम्सका अनुसार झाङ जनशेले वर्तमान उच्च तीव्रताको बमबारी लामो समयसम्म निरन्तर गर्न अमेरिकालाई कठिन हुन सक्ने बताएका छन्। उनले अमेरिकी रक्षा औद्योगिक क्षमतामा आएको गिरावटले गोला–बारुद छिटो पुनःपूर्ति गर्न नसक्ने अवस्था सिर्जना गरेको दाबी गरेका छन्। साथै, अन्य सम्भावित जोखिमका लागि रणनीतिक भण्डारण सुरक्षित राख्नुपर्ने भएकाले सम्पूर्ण स्रोत इरानविरुद्ध प्रयोग गर्न नसकिने उनको भनाइ छ।

वर्तमान अवस्थामा अमेरिका लामो समयसम्म उच्च तीव्रताको युद्धका लागि पूर्ण रूपमा तयार नदेखिएको पनि उनको विश्लेषण छ। यदि द्वन्द्व लम्बिएमा अमेरिकी सैन्य क्षमतामाथि गम्भीर दबाब पर्न सक्ने र दीर्घकालीन लडाकु तयारीमा नकारात्मक प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ। अमेरिकाले इरानसँगको द्वन्द्व चार–पाँच हप्तासम्म लम्बिन सक्ने अनुमान गरेको छ । त्यतिञ्जेलमा इरानको सम्पूर्ण शक्ति ध्वास्त पारिसक्ने अमेरिकाको तयारी रहेको अनुमान छ । 

वासिङ्टनले इरानसँगको द्वन्द्व चार हप्तासम्म लम्बिन सक्ने संकेत दिएसँगै अमेरिकी हतियार भण्डारणको अवस्थाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चासो बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार स्थानीय समयानुसार अमेरिकी सेना आवश्यक परे इरानमाथिको आक्रमण “चारदेखि पाँच हप्तासम्म” जारी राख्ने तयारीमा रहेको बताएका छन्। उनले इजरायल र अमेरिका दुवैले युद्धको तीव्रता कायम राख्न सक्ने दाबी गर्दै थप अमेरिकी क्षतिको सम्भावनाबारे पनि चेतावनी दिएका छन्। तर, उक्त वक्तव्यमा पेन्टागनले हतियार भण्डारण घट्ने चिन्ताबारे कुनै उल्लेख गरिएको थिएन।

इरान–इजरायल आक्रमण सुरु हुनुअघि नै अमेरिकी सञ्चारमाध्यमहरूले हतियार भण्डारण कमजोर बन्दै गएको विषय उठाएका थिए। अमेरिकन सेनाका संयुक्त चिफ्स अफ स्टाफका अध्यक्ष डान केनले मध्यपूर्वमा साना वा मध्यम स्तरका आक्रमणका लागि अमेरिकी सेना परिचालन गरिएको भए पनि त्यसमा उच्च जोखिम र गोला–बारुद भण्डारणमा नकारात्मक प्रभाव पर्ने बताएका थिए।

वाल स्ट्रिट जर्नलले आइतबार प्रकाशित गरेको रिपोर्टअनुसार अमेरिका इरानका मिसाइल र ड्रोन क्षमता ध्वस्त पार्न तीव्र रूपमा सक्रिय छ। तर, इरानको जवाफी आक्रमण रोक्न आवश्यक अवरोधक मिसाइल (इन्टरसेप्टर) सकिन सक्ने चिन्ता व्यक्त गरिएको छ। स्टिम्सन सेन्टरकी वरिष्ठ अनुसन्धानकर्ता केली ग्रिएकोले जारी आक्रमणमा प्रयोग भइरहेको हतियारहरू “छिट्टै सकिन सक्ने” बताउँदै अहिलेको प्रयोग दर उत्पादन क्षमताभन्दा तीव्र रहेको टिप्पणी गरेकी छन् ।

इजरायलले पनि आफ्ना गोला–बारुद आपूर्तिबारे चिन्ता व्यक्त गरेको छ। वाल स्ट्रिट जर्नलका अनुसार इजरायलमा ‘एरो–३’ हवाई प्रतिरक्षा मिसाइलको भण्डारण न्यून रहेको एक अमेरिकी अधिकारीले बताएका छन्। युक्रेन–रूस द्वन्द्वका क्रममा अमेरिकाले युक्रेनलाई अत्याधिक सैन्य सहयोग गरेका कारण पनि हाल ऊसँग पर्याप्त मिसाईल नरहेको बताईन्छ ।  सन् २०२५ जुलाईमा पेन्टागनले अमेरिकी हतियार भण्डारण अत्यधिक घटेको भन्दै युक्रेनतर्फ पठाइने केही हवाई प्रतिरक्षा मिसाइल र उच्च सटीकता हतियारको ढुवानी रोकेको थियो। पेन्टागनका नीति प्रमुख एल्ब्रिज कोल्बीको पहलमा गरिएको समीक्षा पछि तोपका गोला, हवाई प्रतिरक्षा मिसाइल र अन्य सटीक हतियारको संख्या घट्दै गएको निष्कर्ष निकालिएको थियो।

यता केहि सञ्चार माध्यहरुले चीनबाट इरानलाई अत्याधुनिक मिसाईल प्रविधि हस्तान्तरण गरिएको दाबी गरेका छन् । इरान आक्रमण शुरु हुनु केहि दिनअघि नै चीनले युद्धपोतहरु ध्वास्त पार्ने क्षमता भएका सिएम ३०२ सुपरसोनिक मिसाईल इरानलाई हस्तान्तरण गरेको बताईएको छ । यद्यपी यसको स्वतन्त्र पुष्टि हुनसकेको छैन । यो सुपरसोनिक मिसाईलले अब्रहमलिङ्कन जस्ता अमेरिकाको अत्याधुनिक युद्धपोतको प्रतिरक्षात्मक प्रणालीसमेत पार गर्नसक्ने बताईन्छ । इरानले केहि सोमबार अमेरिकाको युद्धपोत अब्राहमलिङ्कनमा आक्रमण गरेको दाबी गरेको थियो । तर अमेरिकाले यसको खण्डन गरेको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad