इरानविरुद्ध अमेरिका आक्रामक हुँदै गएको छ।
सीएनएनको दाबीअनुसार अमेरिकाले यसै हप्ता इरानमा हमला गर्न सक्छ। अब राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम अनुमति लिन मात्र बाँकी छ।
अमेरिकाले २००३ को इराक युद्धपछि मध्यपूर्वमा आफ्नो सबैभन्दा ठुलो वायु सेना तैनाथ गरेको छ।
रिपोर्टअनुसार, अमेरिकाले एफ-३५, एफ-२२, एफ-१५ र एफ-१६ सहित उन्नत लडाकु विमानका धेरै स्क्वाड्रन तैनाथ गरेको छ।
ठुला स्तरका हवाई अपरेसनका लागि आवश्यक कमान्ड र नियन्त्रण विमान पनि तैनाथ गरिएको छ।
हालैका हप्तामा यस क्षेत्रमा वायु रक्षा प्रणाली पनि स्थापना गरिएको छ।
अमेरिकी समाचार एजेन्सी एक्सियोसको रिपोर्टअनुसार अमेरिकाले सैन्य कारबाही गर्यो भने यो धेरै हप्तासम्म चल्ने ठुलो अपरेसन हुनेछ।
रिपोर्टमा भनिएको छ, ‘यो अपरेसन गत महिना भेनेजुएलामा गरिएको सीमित कारबाही भन्दा धेरै ठुलो हुनेछ र यो इजरायलसँग सहकार्य गरेर गर्ने सम्भावना छ। जसको लक्ष्य इरानका आणविक र क्षेप्यास्त्र पूर्वाधार हुन सक्छन्।’
युद्धको उच्च सम्भावना: इजरायली अधिकारी
इजरायलको सैन्य गुप्तचर एजेन्सीका पूर्वअधिकारी आमोस याडलिनले दुई देशबिच युद्ध हुने सम्भावना पहिलेभन्दा बढेको बताउँछन्।
उनले भने, ‘स्थिति द्रुत गतिमा बिग्रँदैछ, तर एक महाशक्तिले केही दिनमा युद्ध सुरु गर्दैन। कूटनीतिक बाटो अझै समाप्त भइसकेको छैन।’
याडलिनका अनुसार धेरैले आक्रमणको विरोध गर्छन् र यसो गरेर अमेरिका के हासिल गर्न चाहन्छ भन्ने कुरा स्पष्ट छैन। तर राष्ट्रपति ट्रम्प दृढ देखिन्छन्।
उनले भने, ‘सबै विकल्प खुला छन् भन्ने ट्रम्पको भनाइले वास्तविक सैन्य तयारीलाई संकेत गर्छ।’
द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयास जारी
अमेरिका र इरानबिचको मनमुटाव हटाई द्वन्द्व हुन नदिन कूटनीतिक प्रयास जारी छ।
मंगलबार मात्र ट्रम्पका सल्लाहकार, जारेड कुसनर र स्टिभ विटकफले जेनेभामा इरानका विदेशमन्त्री अब्बास अराघ्चीसँग लगभग तीन घण्टा वार्ता गरेका थिए।
दुवै पक्षले वार्तामा केही प्रगति भएको बताए पनि ठोस निष्कर्ष निस्केन।
अमेरिकाका अधिकारीले केही प्रमुख मुद्दामा अझै सहमति हुन नसकेको बताएका छन्।
अमेरिका उपराष्ट्रपति जेडी भान्सले केही मुद्दामा वार्ता राम्रो भएको बताए।
तर इरान धेरै मुद्दामा राष्ट्रपति ट्रम्पका सर्त स्वीकार गर्न तयार नदेखिएको उनको भनाइ छ।
अमेरिकाले मध्यपूर्वमा बढायो सैन्य तैनाथी
रिपोर्टहरूका अनुसार अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाएको छ।
उसले त्यस क्षेत्रमा दुई विमान वाहक, लगभग दर्जन युद्धपोत, सयौँ लडाकु जेट र धेरैवटा हवाई रक्षा प्रणाली तैनाथ गरेको छ।
ओपन-सोर्स ट्र्याकिङका अनुसार, हतियार र गोलाबारुद बोकेका १५० भन्दा बढी कार्गो उडान यस क्षेत्रमा आइपुगेका छन्। एफ-३५, एफ-२२ र एफ-१६ सहित ५० भन्दा बढी लडाकु विमान मध्यपूर्वमा पठाइएको छ।
ट्रम्पका एक सल्लाहकारका अनुसार केहीले राष्ट्रपतिलाई इरानसँग युद्ध नगर्न सल्लाह दिइरहेका छन्, तर आगामी हप्ता सैन्य कारबाही हुने सम्भावना ९० प्रतिशत छ।
Shares

प्रतिक्रिया