ग्लोबल


बंगलादेश: मंगलबार प्रधानमन्त्री पदको शपथ खाँदै तारिक, यसपटक परम्पराभन्दा भिन्न हुनेछ कार्यक्रम

बंगलादेश: मंगलबार प्रधानमन्त्री पदको शपथ खाँदै तारिक, यसपटक परम्पराभन्दा भिन्न हुनेछ कार्यक्रम

बीएनपी अध्यक्ष तारिक रहमान


नेपालखबर
फागुन ३, २०८२ आइतबार १५:५८, काठमाडौँ

बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले मंगलबार (फेब्रुअरी १७) देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ खाने भएका छन्।

शपथ समारोह यसपटक बंगलादेशको परम्पराभन्दा भिन्न गरी राष्ट्रपति भवनको सट्टा ढाकाको राष्ट्रिय संसद् परिसरस्थित दक्षिण प्लाजामा आयोजना गरिने भएको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार शपथ कार्यक्रममा बंगलादेशले अधिकांश सार्क सदस्य देशहरूलाई आमन्त्रण गर्ने तयारी गरिरहेको छ।

सार्कको सुरुवात बंगलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानले गरेका थिए, जो तारिकका बुबा थिए।

यसका साथै चीन, मलेसिया, साउदी अरेबिया र टर्कीजस्ता मित्र राष्ट्रका नेताहरूलाई पनि शपथमा बोलाउने योजना रहेको जनाइएको छ। 

बीएनपी अध्यक्ष तारिक रहमानले शनिबार अब बंगलादेश सरकारको विदेश नीति जनताको हित रक्षामा केन्द्रित हुने र कुनै एकल देशमा आधारित नहुने बताएका थिए। 

बिहीबार (फेब्रुअरी १२ तारिख) भएको चुनावमा आफ्नो पार्टीले दुईतिहाइभन्दा बढी सिट जितेपछि बीएनपी अध्यक्ष तारिक रहमानले शनिबार पहिलोपटक सञ्चारमाध्यमसँग कुरा गरेका थिए। 

त्यस क्रममा उनले सार्क बंगलादेशले नै सुरु गरेको बताउँदै यसलाई पुनर्जीवित गराउने चाहना रहेको जानकारी दिए। 

उनले सरकार गठन गरिसकेपछि अन्य देशसँग कुरा गरेर संगठनलाई पुन: सक्रिय पार्न प्रयास गरिने बताए। 

उनले भने, ‘देशमा कुनै पनि हालतमा कानुनी व्यवस्था कायम राखिनेछ।शान्ति-सुरक्षामा खलल हुने कुनै पनि गतिविधि सहन गरिने छैन र कानुन सबैलाई समान रूपमा लागु हुनेछ।’

तारिक रहमानले देशवासीहरूलाई एकताबद्ध रहन अपिल पनि गरे।

उनले भने, ‘बाटो र विचार फरक हुन सक्छन्, तर देशको हितमा सबै एकताबद्ध हुनुपर्छ। राष्ट्रिय एकता देशको शक्ति हो र विभाजन कमजोरी।’

तारिकले थपे, ‘आजदेखि वास्तविक अर्थमा स्वतन्त्रता र अधिकार पुनर्स्थापित भएको छ।’

बंगलादेशका जनतालाई बधाई दिँदै उनले सबै कठिनाइ पार गरेको र देशमा लोकतन्त्रका लागि मार्ग प्रशस्त गरेको बताए। 

पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीका छोरा हुन् तारिक

तारिक रहमान बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्।

उनी सन् १९८८ मा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) मा आबद्ध भएका थिए। 

सन् २००१ को चुनावमा उनले आफ्नो संगठनात्मक कामका लागि मान्यता प्राप्त गरे, तर २००६ पछि उनलाई भ्रष्टाचार मुद्दा लगाइयो र २००७ मा पक्राउ गरियो।

रिहापछि उनी उपचारका लागि भन्दै सन् २००८ मा परिवारसहित लन्डन (बेलायत) गए तर उतै बसे। 

सन् २०२४ मा विद्यार्थी आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिना देशै छाडेर भागेपछि मात्र तारिक गत डिसेम्बर २५ तारिख स्वदेश (बंगलादेश) फर्किएका हुन्। 

१७ वर्षसम्म विदेशमा बसेर देश फर्केको ५ दिनमै उनकी बिरामी आमा खालिदा जिया बितेपछि बीएनपी अध्यक्ष बनेका तारिक लगत्तै भएको चुनावमा पार्टी भारी बहुमतले विजयी भएपछि अब देशको पनि प्रमुख बन्ने भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad