ग्लोबल


पाँच युरोपेली देशको आरोप: पुटिनले नभाल्नीलाई भ्यागुतामा पाइने विष दिएर मारेका थिए

पाँच युरोपेली देशको आरोप: पुटिनले नभाल्नीलाई भ्यागुतामा पाइने विष दिएर मारेका थिए

नेपालखबर
फागुन ३, २०८२ आइतबार ९:४४, काठमाडौँ

बेलायतसहित युरोपका पाँच मुलुकले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्ना प्रतिद्वन्द्वी एलेक्सी नभाल्नीलाई 'एपिबेटिडाइन विष' पिलाएर मारेको आरोप लगाएका छन्।

बेलायत, फ्रान्स, जर्मनी, स्विडेन र नेदरल्यान्ड्सले युरोपेली प्रयोगशालामा परीक्षण गरिएका नभाल्नीको शरीरका नमुनामा एपिबेटिडाइन नामक विष फेला परेको दाबी गरेका हुन्। 

बेलायतको विदेश कार्यालयले नभाल्नीको शरीरबाट लिइएका नमुनामा एपिबेटिडाइन नामक विष भेटिनु कुनै सामान्य कारण नभएको बताएको छ।

म्युनिख सुरक्षा सम्मेलनमा बेलायतका विदेश सचिव यवेट कुपरले भने, ‘एलेक्सी नभाल्नी जेलमा हुँदा उनीविरुद्ध यो घातक विष प्रयोग गर्ने साधन, उद्देश्य र अवसर केवल रुस सरकारसँग मात्र थियो।’

नेसनल जियोग्राफिकका अनुसार, यो विष दक्षिण अमेरिकामा पाइने विषालु भ्यागुता (डार्ट फ्रग) को छालामा पाइन्छ। यो विषले पहिले पक्षाघात गराउँछ, त्यसपछि सास फेर्न गाह्रो हुन्छ र अन्ततः पीडादायी मृत्यु गराउन सक्छ।

यस विषयमा बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले पनि इन्स्टाग्राममा लेखेका छन्, ‘एलेक्सी नभाल्नीले उत्पीडनको सामना गर्दा अपार साहस देखाए। सत्यलाई उजागर गर्ने उनको दृढ संकल्पले स्थायी विरासत छाडेको छ।’

उनले अगाडि लेखेका छन्, ‘म हाम्रा जनता, हाम्रा मूल्य-मान्यता र हाम्रो जीवनशैलीलाई रुसको खतरा र पुटिनको हत्यारा मनसायबाट जोगाउन सक्दो गरिरहेको छु।’

एउटा डार्ट फ्रगको विषले १० जनालाई मार्न सक्छ 

डार्ट फ्रग लगभग दुई इन्च लामो हुन्छ, तर यसको शरीरमा लगभग १० वयस्क मानिसलाई मार्न पुग्ने विष हुन्छ। यस भ्यागुताको छालाबाट निकालिएको विषलाई एपिबेटिडाइन भनिन्छ।

यो एक न्युरोटक्सिन अर्थात् स्नायु प्रणालीलाई प्रत्यक्ष असर गर्ने विष हो। यसलाई रासायनिक हतियारका रूपमा पनि चिनिन्छ। डार्ट फ्रगको विषलाई पृथ्वीको सबैभन्दा घातक विषमध्ये एक मानिन्छ।

यो मोर्फिनभन्दा लगभग २०० गुणा बढी शक्तिशाली छ। यसले पक्षाघात, श्वासप्रश्वासमा गम्भीर समस्या गराउँदै पीडादायी मृत्यु गराउन सक्छ।

एपिबेटिडाइन प्राकृतिक रूपमा भ्यागुतामा पाइन्छ, तर यो प्रयोगशालामा पनि उत्पादन गर्न सकिन्छ। युरोपेली वैज्ञानिकहरूले यो प्रयोगशालामा तयार पारिएको शंका गरेका छन्। 

आर्कटिक जेलमै बितेका थिए नभाल्नी

आर्कटिक जेलमा १९ वर्षको जेल सजाय भोगिरहेका नभाल्नीको सोही क्रममा २०२४ फेब्रुअरी १६ मा मृत्यु भएको थियो। जतिबेला उनी ४७ वर्षका थिए। 

नभाल्नी भ्रष्टाचारविरोधी अभियन्ता र रुसको सबैभन्दा मुखर विपक्षी नेता थिए। 

नभाल्नीलाई यसअघि पनि सन् २०२० मा नोभिचोक नामक विषयुक्त सुई लगाएर मार्ने कोसिस गरिएको थियो। यसपछि उपचारका लागि जर्मनी गएका उनलाई रुस फर्किनासाथ विमानस्थलमै गिरफ्तार गरिएको थियो। 

रुसमा पुटिनको २६ वर्षे शासन

पुटिन पहिलोपटक सन् २००० मा रुसको राष्ट्रपति बने। यसअघि सन् १९९९ मा उनलाई रुसका प्रथम राष्ट्रपति बोरिस येल्तसिनले प्रधानमन्त्री बनाएका थिए। पुटिनले २००० देखि २००८ सम्म लगातार दुई कार्यकाल रुसको राष्ट्रपति रहे।

रुसको संविधान अनुसार, यसपछि पुटिन लगातार तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्न पाएनन्। 

फलस्वरूप सन् २००८ मा पुटिनका सबैभन्दा ठुला समर्थकध्ये एक दिमित्री मेदवेदेव राष्ट्रपति बने।

यस अवधिमा पुटिन फेरि एकपटक प्रधानमन्त्री बने। 

सन् २०१२ मा तत्कालीन राष्ट्रपति मेदवेदेवले आफ्नो पार्टीमा पुटिनलाई फेरि राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गराए।

यसपछि पुटिनले सन् २०१२ मा चुनाव जिते र फेरि राष्ट्रपतिका रूपमा रुसको सत्तामा फर्किए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad