ग्लोबल


उत्तर कोरियाको सत्तारूढ पार्टीले सम्मेलन गर्ने, के छ किमको योजना?

उत्तर कोरियाको सत्तारूढ पार्टीले सम्मेलन गर्ने, के छ किमको योजना?

नेपालखबर
माघ २५, २०८२ आइतबार १५:११, सियोल

उत्तर कोरियाले यस महिनाको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको प्रमुख राजनीतिक सम्मेलन आयोजना गर्ने भएको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ।

उक्त सम्मेलनमा नेता किम जोङ उनले आगामी पाँच वर्षका लागि आन्तरिक तथा विदेश नीतिका प्रमुख लक्ष्य र दिशा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमको उपस्थितिमा पार्टीको राजनीतिक ब्युरोको बैठक बसेको थियो र फेब्रुअरीको अन्त्यमा सम्मेलन गर्ने निर्णय गरिएको हो।

यद्यपि सम्मेलनको ठ्याक्कै मिति र एजेन्डाबारे तत्काल विवरण सार्वजनिक गरिएको छैन। किमले यसअघि सन् २०१६ र सन् २०२१ मा यस्तै कंग्रेस आयोजना गरेका थिए। 

पछिल्ला वर्षहरूमा उत्तर कोरियाले तीव्र रूपमा आणविक र क्षेप्यास्त्र कार्यक्रम विस्तार गरेको छ भने युक्रेन युद्धपछि रुससँगको सम्बन्ध गहिरिँदा संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको तनाव बढेको छ।

विश्लेषकहरूका अनुसार सम्मेलन किमको अधिनायकवादी नेतृत्वको कडाइका साथ नियोजित प्रदर्शन हुने सम्भावना छ र केही दिनसम्म चल्न सक्छ।

हालै किमले हतियार परीक्षणको निरीक्षण गर्नुका साथै सैन्य र आर्थिक परियोजनाहरूको भ्रमण गरेका छन्, जसलाई राज्य मिडियाले सैन्य क्षमता सुदृढीकरण र विकासमा उनको नेतृत्वसँग जोडेर प्रस्तुत गरेको छ।

किमले सम्मेलनमार्फत आत्मनिर्भरता र जन परिचालनमा आधारित आर्थिक विकासलाई तीव्र बनाउने योजना तथा आणविक क्षमतायुक्त सेनालाई थप विस्तार गर्ने नीति घोषणा गर्ने अनुमान गरिएको छ।

यसमा परम्परागत हतियार प्रणालीको आधुनिकीकरण र तिनलाई आणविक क्षमतासँग एकीकृत गर्ने कार्यक्रम समावेश हुन सक्छ।

विज्ञहरूका अनुसार किमले मस्को र बेइजिङसँगको नजिकको सम्बन्धमा आधारित कडा विदेश नीति पनि जोड दिनेछन्। किमले ‘नयाँ शीतयुद्ध’को धारणा अघि सार्दै दक्षिण कोरियाप्रति अझ कडा दृष्टिकोण लिन सक्ने सम्भावना छ।

संयुक्त राज्य अमेरिकासँग कूटनीति पुनः सुरु गर्ने किमको इच्छाबारे स्पष्टता छैन।

सन् २०१९ मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर वार्तापछि प्रतिबन्धका विषयमा असहमति बढेपछि सम्बन्ध बिग्रिएको थियो।

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि प्रस्तावित संवादलाई किमले अस्वीकार गर्दै वासिङ्टनले उत्तर कोरियाको आणविक निरस्त्रीकरणको माग त्याग्नुपर्ने अडान दोहोर्‍याएका छन्।

आफ्नो शासनकालको १५औँ वर्षमा प्रवेश गरेका किम सन् २०२१ को अघिल्लो कंग्रेसको तुलनामा अहिले बलियो अवस्थामा देखिएका छन्।

दक्षिण कोरियाली विश्लेषकहरूका अनुसार चीनसँगको व्यापारमा क्रमिक सुधार र रुसलाई हतियार आपूर्तिबाट प्राप्त आम्दानीका कारण उत्तर कोरियाको अर्थतन्त्र पछिल्ला वर्षहरूमा केही सुधार भएको सङ्केत देखिएको छ। (रासस/एपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad