इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग वार्ताका लागि अनुमति दिइएको बताएका छन्।
पेजेस्कियानले सामाजिक सञ्जालमार्फत अमेरिकासँग वार्ताको ढोका खुला गरिएको जानकारी दिएका हुन्।
उनले एक्समा लेखेका छन्, ‘मैले मेरो विदेशमन्त्रीलाई यदि अनुकूल अर्थात् धम्की र अव्यावहारिक अपेक्षामुक्त वातावरण छ भने मर्यादा, सावधानी र व्यावहारिकताको सिद्धान्तमा आधारित निष्पक्ष र सन्तुलित वार्ता अगाडि बढाउन निर्देशन दिएको छु।’
उनले मित्र राष्ट्रहरूबाट आएका अनुरोधलाई ध्यान दिँदै वार्ताका लागि अमेरिकाका राष्ट्रपतिबाट आएको प्रस्तावमा जवाफ दिइरहेको पनि उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘वार्ता हाम्रो राष्ट्रिय हितको दायराभित्र रहेर गरिनेछ।’
यसअघि एक्सियोसले इरानका विदेशमन्त्री अब्बास अराघ्ची र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ शुक्रबार इस्तानबुलमा भेटवार्ता गर्ने उल्लेख गरेको थियो।
यद्यपि यसभन्दा ठिकअघि ट्रम्पले पनि इरानसँग कुराकानी भइरहेको बताएका थिए।
Shares

प्रतिक्रिया