ग्रिनल्यान्डमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको विरोधमा शनिबार ग्रिनल्यान्डमा सयौँ मानिस सडकमा उत्रिएका हुन्।
उनीहरूले ग्रिनल्यान्ड गाभ्ने ट्रम्पको भनाइप्रति आक्रोश व्यक्त गरेका थिए।
प्रदर्शनकारीहरूले ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ भन्ने नारा लगाएका थिए।
हिउँले सेताम्मे सडकको पर्वाह नगरी प्रदर्शनकारीहरूले ग्रिनल्यान्डको राजधानी नुउकस्थित डाउनटाउनबाट अमेरिकी वाणिज्य दूतावाससम्म मार्च गरेका थिए।
उनीहरूले राष्ट्रिय झण्डा र विरोधका पोस्टर बोकेका थिए।
प्रहरीका अनुसार यो अहिलेसम्मकै ठुलो प्रदर्शन थियो, जसमा नुउकको जनसंख्याको लगभग एक चौथाइ मानिस सहभागी भएका थिए।
ग्रिनल्यान्ड कब्जा गर्ने आफ्नो योजनाको विरोध गरेका आठ युरोपेली देशमा १० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेपछि ग्रिनल्यान्डमा ट्रम्पविरुद्ध आक्रोश अझ बढेको हो।
यसैबिच युरोपेली संघ (ईयू) का सांसदले अमेरिकासँग भएको व्यापार सम्झौता अनुमोदन रोक्ने तयारी गरिरहेका छन्।
युरोपेली पिपुल्स पार्टी (ईपीपी) का अध्यक्ष म्यानफ्रेड वेबरले शनिबार सामाजिक सञ्जालमार्फत ग्रिनल्यान्डविरुद्ध ट्रम्पले दिएको धम्कीका कारण अमेरिकासँगको व्यापार सम्झौता अनुमोदन गर्न असम्भव भएको बताएका छन्।
ग्रिनल्यान्डमा ट्रम्पविरुद्ध प्रदर्शनका ५ तस्बिर





Shares

प्रतिक्रिया