आफ्ना राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने कुरा गरिरहेका बेला अमेरिकी संसद्को एउटा टोली डेनमार्कको भ्रमणमा छ।
आर्कटिकमा रहेको डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्न ट्रम्पले दबाब बढाइरहेका बेला अमेरिकाका सांसदहरूले डेनमार्क भ्रमण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
बीबीसीका अनुसार अमेरिकी सांसदको ११ सदस्यीय प्रतिनिधिमण्डलले डेनमार्कका सांसदका साथै त्यहाँका प्रधानमन्त्री मेट फ्रेडरिकसेन र ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनसँग भेट गर्नेछ।
ट्रम्पलाई आफ्नो योजनाबाट पछि हटाउने प्रयास असफल भएका बेला अमेरिकी सांसद्हरू उक्त भ्रमणमा निस्किएका हुन्।
ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्यान्ड गाभ्नैपर्ने दाबी गरिरहेका छन्। यदि अमेरिकाले ग्रिनल्यान्ड कब्जा गरेन भने यो काम रुस र चीनले गर्ने तर्क उनले गरिरहेका छन्।
तर डेनमार्क र ग्रिनल्यान्ड दुवैले ट्रम्पको योजनाको विरोध गरिरहेका छन्।
ग्रिनल्यान्ड कम जनसंख्या भएको तर प्राकृतिक स्रोत-सम्पन्न क्षेत्र हो, जुन उत्तर अमेरिका र आर्कटिकको बिचमा छ।
Shares

प्रतिक्रिया