अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जा किन जरुरी छ भन्ने विषयमा व्याख्या गरेका छन्।
शुक्रबार ह्वाइट हाउसमा तेल तथा ग्यास कम्पनीका शीर्ष कार्यकारीहरूसँगको बैठकमा उनले अमेरिकाले ग्रिनल्यान्ड अधिग्रहण गरेन भने रुस र चीनजस्ता देशले कब्जा गर्ने दाबी गरेका हुन्।
ट्रम्पले भने, ‘ग्रिनल्यान्ड अधिग्रहण गर्नु जग्गा किन्ने विषय होइन, यो रुस र चीनलाई टाढा राख्ने कुरासँग सम्बन्धित छ। हामी त्यस्ता देश छिमेकी बनेको हेर्न सक्दैनौँ।’
उनले आफू ग्रिनल्यान्डसँग सहज सम्झौता गर्ने पक्षमा रहेको तर यो सम्भव नभए कठोर उपाय अपनाउन बाध्य हुने बताए।
ट्रम्पले भने, ‘अमेरिकाले ग्रिनल्यान्ड सजिलो बाटोबाट अधिग्रहण गर्न सकेन भने अन्य थप कठोर उपाय अपनाउनुपर्नेछ। तर हामी ग्रिनल्यान्डका विषयमा केही न केही गर्नेछौँ। चाहे उनीहरूलाई मन परोस् वा नपरोस्।’
यद्यपि उनले डेनमार्कप्रति नरम कुरा पनि गरे।
पत्रकारहरूसँग ट्रम्पले भने, ‘म डेनमार्कको ठूलो प्रशंसक हुँ। उसले मसँग धेरै राम्रो व्यवहार गरेको छ।’
ग्रिनल्यान्डका जनतालाई सिधै पैसा दिएर अमेरिकामा सामेल हुन मनाउने योजना हो कि भनेर सोध्दा ट्रम्पले भने, ‘अहिले म ग्रिनल्यान्डका लागि पैसा दिनेबारे कुरा गरिरहेको छैन। हुन पनि सक्छ पछि।’
यस क्रममा उनले ग्रिनल्यान्डनजिकै रुस र चीनका नौसैनिक गतिविधि बढिरहेको पनि बताए।
ट्रम्पले भने, ‘हामी रुस वा चीनलाई ग्रिनल्यान्ड कब्जा गर्न दिने छैनौँ।’

उनले आफूलाई चीन र रुस दुवै मन पर्ने उल्लेख गर्दै भ्लादिमिर पुटिन र सी चिनफिङसँग राम्रो सम्बन्ध रहेको पनि बताए।
‘तर उनीहरूलाई ग्रिनल्यान्ड दिन सक्दिनँ’, ट्रम्पले भने।
भिडिओ-
.@POTUS: "We are going to do something on Greenland, whether they like it or not, because if we don't do it, Russia or China will take over Greenland — and we're not going to have Russia or China as a neighbor. I would like to make a deal the easy way." pic.twitter.com/O3wH89icOp
— Rapid Response 47 (@RapidResponse47) January 9, 2026
यसैबीच ग्रिनल्यान्ड कब्जा गर्ने विषयमा डेनमार्कले भने कडा प्रतिक्रिया दिएको छ।
सीएनएनको रिपोर्टअनुसार डेनमार्कको रक्षा मन्त्रालयले भनेको छ- यदि कुनै विदेशी शक्तिले हाम्रो क्षेत्रमा आक्रमण गर्छ भने सैनिकहरूले तुरुन्तै जवाफ दिनेछन् र आदेशको प्रतीक्षा नगरी गोली चलाउनेछन्।
बिनाआदेश हमला गर्ने नियम पहिलोपटक १९४० मा लागु गरिएको थियो, जब जर्मनीले डेनमार्कमा आक्रमण गर्यो। त्यतिबेला सञ्चार प्रणाली ठप्प भएको थियो। जसले गर्दा सैनिकहरू के गर्ने भन्ने कुरामा अन्योलमा परेका थिए।
डेनमार्कको रक्षा मन्त्रालयले यो नियम आज पनि लागु रहेको बताएको हो।
ग्रिनल्यान्ड एट्लान्टिक महासागरको एक टापु हो र ३०० वर्षदेखि यो डेनमार्कसँग सम्बन्धित छ। यहाँको विदेश र रक्षा नीति डेनमार्कले हेर्छ।
ग्रिनल्यान्ड कब्जा गर्दा अमेरिकालाई हुने फाइदा
अद्वितीय भौगोलिक स्थान: ग्रिनल्यान्डको एक अद्वितीय भौगोलिक स्थान छ। यो उत्तरी अमेरिका र युरोपको बीचमा एट्लान्टिक महासागरको केन्द्रनजिक छ। यसकारण यसलाई मध्य-एट्लान्टिक क्षेत्रमा एक महत्त्वपूर्ण स्थान मानिन्छ।
रणनीतिक सैन्य महत्त्व: ग्रिनल्यान्ड युरोप र रुसबीच सैन्य र मिसाइल निगरानीका लागि महत्त्वपूर्ण छ। अमेरिकासँग पहिले नै थुले एयर बेस छ, जुन मिसाइल चेतावनी र रुसी/चिनियाँ गतिविधि निगरानीका लागि आवश्यक छ।
चीन र रुसमा नजर: आर्कटिक क्षेत्रमा रुस र चीनका गतिविधि बढ्दै गएका छन्। ग्रिनल्यान्ड नियन्त्रणमा लिएर अमेरिका यस क्षेत्रमा आफ्नो भूराजनीतिक पकड बलियो बनाउन चाहन्छ।
प्राकृतिक स्रोत: ग्रिनल्यान्डमा दुर्लभ खनिज, तेल, ग्यास र तत्त्वहरूको ठूलो भण्डार रहेको विश्वास गरिन्छ, जुन भविष्यमा आर्थिक र प्राविधिक हिसाबले महत्त्वपूर्ण छन्। चीनले यसको ७०-९० प्रतिशत नियन्त्रण गर्छ, त्यसैले अमेरिका आफ्नो निर्भरता कम गर्न चाहन्छ।
नयाँ सामुद्रिक व्यापार मार्ग: विश्वव्यापी तापक्रम वृद्धिका कारण आर्कटिकमा बरफ पग्लिरहेको छ, जसका कारण नयाँ ढुवानी मार्ग खुलिरहेका छन्। ग्रिनल्यान्ड कब्जा गर्दा अमेरिकालाई यी मार्गमा प्रभुत्व जमाउन र आर्कटिक क्षेत्रमा रुस र चीनको अग्रता रोक्न मद्दत पुग्छ।
अमेरिकी सुरक्षा नीति: अमेरिकाले ग्रिनल्यान्डलाई आफ्नो राष्ट्रिय सुरक्षाको ‘फ्रन्ट लाइन’ मान्छ। त्यहाँ आफ्नो प्रभाव बढाएर अमेरिका भविष्यमा हुने सम्भावित खतरा पहिल्यै रोक्न चाहन्छ।
Shares

प्रतिक्रिया