अमेरिकाका अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध हमलाका लागि विभिन्न किसिमका गुप्तचर तथा सैन्य तरिकाबारे जानकारी गराएका छन्।
यो जानकारी अमेरिकाको रक्षा मन्त्रालयका दुई अधिकारीले दिएको सीबीएस न्युजले उल्लेख गरेको छ।
स्रोतका अनुसार इरानमा हस्तक्षेपका लागि लामो दूरीको क्षेप्यास्त्र एक विकल्प बनेको छ, तर अधिकारीहरूले साइबर अपरेसन र मनोवैज्ञानिक अभियानको विकल्प पनि प्रस्ताव गरेका छन्।
इरानबारे छलफल गर्न मंगलबार ह्वाइट हाउसमा ट्रम्पको राष्ट्रिय सुरक्षा टोलीको बैठक बस्ने भएको स्रोतले जनाएको छ। तर त्यसमा राष्ट्रपति ट्रम्प आफैँ उपस्थित हुनेछन् कि हुने छैनन् भन्ने कुरा स्पष्ट भइसकेको छैन।
सोमबार राति मात्र ट्रम्पले इरानसँग व्यापार सम्बन्ध भएका देशहरूविरुद्ध २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन्।
यस्तै यसअघि उनले इरानमा जारी सरकारविरोधी प्रदर्शनहका बिच त्यहाँका विषयमा ‘बलियो विकल्प’ विचार गरिरहेको बताएका थिए।
यसैबिच इरानका विदेशमन्त्री अब्बास अराघचीले भने आफ्नो मुलुक अमेरिकासँग वार्ता वा युद्ध दुवैका लागि तयार रहेको बताएका छन्।
देशमा बढेको महँगी र कमजोर आर्थिक अवस्थाको विरोधमा गत डिसेम्बर २८ देखि इरानमा जनप्रदर्शन भइरहेको हो।
यस क्रममा ठाउँठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप पनि भइरहेका छन्।
जारी प्रदर्शनमा अहिलेसम्म ५९९ जनाको मृत्यु भइसकेको इरानस्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
Shares

प्रतिक्रिया