अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विषयमा केही बलिया विकल्पबारे विचार गरिरहेको बताएका छन्।
बीबीसीका अनुसार पत्रकार सम्मेलमा ट्रम्पलाई अमेरिकाले इरानविरुद्ध कारबाही गर्न लागेको हो कि भनेर सोधिएको थियो।
जवाफमा उनले भने, ‘(इरानमा) त्यस्ता मानिस मारिएका छन्, जसलाई मार्न हुँदैनथ्यो। तपाईं त्यहाँका नेताहरूका बारेमा कुरा गर्नुहुन्छ भने मलाई थाहा छैन- उनीहरू नेता हुन् वा हिंसाद्वारा मात्र शासन गर्छन्।’
ट्रम्पले थपे, ‘तर हामी र हाम्रो सेनाले यसलाई धेरै गम्भीरतापूर्वक निगरानी गरिरहेका छौँ र हामी केही धेरै बलिया विकल्प विचार गरिरहेका छौँ।’
इरानमा जारी सरकारविरोधी प्रदर्शनका बीच ट्रम्पले त्यहाँ अमेरिकी सैन्य हस्तक्षेपको चेतावनी दिएका छन्।
इरानले भने अमेरिकाले त्यसो गरेमा इजरायल र त्यहाँ रहेका अमेरिकी सैन्य अड्डा निसानामा पर्ने चेतावनी दिएको छ।
यसअघि अमेरिकाका अधिकारीहरूले राष्ट्रपति ट्रम्पलाई त्यहाँ सम्भावित सैन्य हमलाका विकल्पबारे ब्रिफिङ गरेका थिए।
यसैबीच इरानी संसद्का सभामुख मोहम्मद बाघेर कालिबाफले भनेका छन्, ‘अमेरिकाले प्रदर्शनकारीहरूको पक्ष लिँदै इरानमा आक्रमण गर्यो भने अमेरिकी सेना र इजरायल दुवै इरानको निसानामा पर्नेछन्।’
इरानमा २ हप्तादेखि जारी विरोध प्रदर्शनमा अहिलेसम्म कम्तीमा २१७ प्रदर्शनकारी मारिएको दाबी टाइम पत्रिकाले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै गरेको छ।
अनि समाचार एजेन्सी एपीले अहिलेसम्म २ हजार ६०० भन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
देशमा बढेको महँगी र कमजोर आर्थिक अवस्थाविरुद्ध गत डिसेम्बर २८ देखि इरानमा सरकारविरुद्ध प्रदर्शन भइरहेको हो।
Shares

प्रतिक्रिया