भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई सोमबार न्युयोर्कको अदालतमा उपस्थित गराइएको छ।
सुनुवाइका क्रममा मदुरोले आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका छन्।
मदुरोले अदालतमा भने, ‘मैले कुनै अपराध गरेको छैन, म एक सभ्य व्यक्ति हुँ।’
अदालतमा सोमबार पहिलो सुनुवाइ सकिएको र अब अर्को सुनुवाइ आगामी मार्च १७ मा हुनेछ।
द गार्जियनका अनुसार, मदुरोविरुद्ध अमेरिकामा कोकिन तस्करी गराएको, खतरनाक हतियार राखेकोलगायत चार गम्भीर अभियोग लगाइएका छन्। मदुरो र उनकी श्रीमती फ्लोरेसलाई सँगै अदालतमा हाजिर गराइएको थियो।
सुनुवाइमा क्रममा मदुरोको खुट्टामा साङ्ला बाँधिएको थियो।
उनी र उनकी श्रीमती एउटै टेबलमा बसेका थिए र हेडफोन लगाएका थिए ताकि उनीहरूले आफ्नै भाषामा के भनिएको छ भनेर बुझ्न सकून्।
न्यायाधीशले उनीहरूविरुद्धका आरोप अदालतमा पढेर सुनाएका थिए।
मदुरोलाई हिरासत कक्षबाट हेलिकप्टरमा लगिएको थियो। हेलिकप्टर अदालतनजिकैको हेलिप्याडमा अवतरण गराइएको थियो। त्यसपछि तुरुन्तै भ्यानमा हालेर मदुरो दम्पतीलाई अदालत पुर्याइएको थियो।
मदुरोलाई गत शनिबार राति अमेरिकी सेनाले भेनेजुएलामा हवाई हमला गरी निवासबाटै थुतेर अमेरिका लगेको थियो।
Shares

प्रतिक्रिया