ग्लोबल


ट्रम्पले विरोध प्रदर्शनमा हस्तक्षेप गर्ने चेतावनी दिएपछि इरानको कडा जवाफ

ट्रम्पले विरोध प्रदर्शनमा हस्तक्षेप गर्ने चेतावनी दिएपछि इरानको कडा जवाफ

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
पुस १९, २०८२ शनिबार ८:२६, काठमाडौँ

आफ्नो देशमा जारी जनप्रदर्शनमा मानिस मारिएको भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्तक्षेप गर्ने चेतावनी दिएपछि इरानले कडा जवाफ दिएको छ। 

इरानमा महँगीको विरोधमा झन्डै एक हप्तादेखि प्रदर्शन जारी छ भने सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा ७ जनाको मृत्यु भइसकेको छ। 

जसप्रति आक्रोश व्यक्त गर्दै अमेरिकाका राष्ट्रपति ट्रम्पले शान्तिपूर्ण प्रदर्शनमा गोली हानेर मानिस मार्ने क्रम नरोकिए अमेरिका चुप लागेर नबस्ने चेतावनी दिएका थिए। 

उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका थिए, ‘यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई गोली हान्ने र निर्ममतापूर्वक मार्ने क्रम जारी राख्यो भने अमेरिका उनीहरूको उद्धारमा आउनेछ।’

उक्त अभिव्यक्तिको कडा निन्दा गर्दै इरानको विदेश मन्त्रालयले आन्तरिक मामिलामा ‘हस्तक्षेप’ भनेको छ।

बीबीसी फारसी सेवाका अनुसार इरानको विदेश मन्त्रालयले ट्रम्पको भनाइको जवाफ दिँदै भनेको छ, ‘यस प्रकारको गैरजिम्मेवार रबैया इरानप्रति अमेरिकाको धम्की र गैरकानुनी मनोवृत्तिको विस्तार हो। यसले संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त र मान्यताको घोर उल्लंघन गर्ने मात्र होइन, इरानी नागरिकविरुद्ध हिंसा र आतंकवादलाई उक्साएको पनि छ।’

इरानको विदेश मन्त्रालयले चेतावनी दिँदै अगाडि भनेको छ, ‘यस्तो अवस्थाले सम्पूर्ण क्षेत्रलाई अझ अस्थिर बनाउन सक्छ र यसबाट उत्पन्न हुने परिस्थितिका लागि अमेरिकी सरकार पूर्ण रूपमा जिम्मेवार हुनेछ।’

देशको बिग्रँदै गएको आर्थिक अवस्था र महँगीको विरोधमा इरानमा झन्डै एक हप्तादेखि प्रदर्शनहरू भइरहेका छन्। यस क्रममा इरानका धेरै सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेका छन्।

जसमा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ। धेरै जनालाई पक्राउ पनि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad