ग्लोबल


अध्यक्ष खालिदा जियाको निधनलगत्तै बीएनपीबाट निकालिए यी ९ नेता

अध्यक्ष खालिदा जियाको निधनलगत्तै बीएनपीबाट निकालिए यी ९ नेता

रुमिन फरहाना (फाइल फोटो)


नेपालखबर
पुस १६, २०८२ बुधबार ८:४६, काठमाडौँ

अध्यक्ष खालिदा जियाको निधन भएकै दिन मंगलबार बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले नौ जना नेतालाई निष्कासन गरेको छ। यसमा पार्टीका राष्ट्रिय कार्यकारिणीका अन्तर्राष्ट्रिय मामिलाका सहसचिव रुमिन फरहाना पनि छिन्। 

बीबीसी बंगलाका अनुसार, बीएनपीले निष्कासन गरेका नेताहरूलाई पार्टीको निर्णय उल्लंघन गरेको र स्वतन्त्र रूपमा संगठनात्मक गतिविधि सञ्चालन गरेको आरोप लगाएको छ।

पार्टीका वरिष्ठ सहमहासचिव रुहुल कबिर रिजवीले मंगलबार विज्ञप्ति जारी गरी ९ नेता निष्कासन गरिएको जानकारी दिएका हुन्। 

निष्कासित नेताहरूको सूचीमा बीएनपी कार्यकारी समितिका सदस्य मोहम्मद गियास उद्दिन, नेताहरू मोहम्मद शाह आलम, हसन मामुन र अब्दुल खालेक, केन्द्रीय विद्यार्थी पार्टीका पूर्वउपाध्यक्ष र बंगलादेश हिन्दु बौद्ध क्रिस्चियन कल्याण मोर्चाका महासचिव, बीएनपी ढाका महानगर उत्तरका पूर्वसंयोजक तरुण डे, सिल्हेट जिल्ला उपाध्यक्ष मामुनुर रसिद र ब्राह्मणबारिया बञ्चरामपुर उपजिल्ला अध्यक्ष मेहदी हसन छन्।

विज्ञप्तिमा उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ।

निष्कासित नेतामध्ये धेरै जना पार्टीको टिकटबिना स्वतन्त्र रूपमा चुनाव लड्दै छन्।

पार्टीको निर्णयविपरीत चुनाव लड्न लागेका कारण उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको बताइएको छ।

यसअघि रुमिन फरहानाले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने घोषणा गरेकी थिइन् र पार्टीबाट राजीनामा दिएको पनि घोषणा गरेकी थिइन्।

बंगलादेशमा आगामी फेब्रुअरी १२ मा आम निर्वाचन हुँदै छ। उक्त चुनावका लागि बंगलादेशकी पूर्वप्रधानमन्त्रीसमेत रहेकी बीएनपी अध्यक्ष खालिदा जियाले पनि उम्मेदवारी दर्ता गराएकी थिइन्। तर त्यसको भोलिपल्टै मंगलबार बिहान उनको निधन भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad