बंगलादेशकी पूर्व तथा पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा आज (मंगलबार) निधन भएको छ।
उनी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की प्रमुख पनि थिइन्।
धेरै वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखाको समस्याबाट पीडित उनी २० दिनदेखि भेन्टिलेटरमा थिइन्।
उपचारका क्रममा स्थानीय समयअनुसार आज बिहा ६ बजे खालिदाको मृत्यु भएको उनको परिवारका सदस्य तथा पार्टीका नेताहरूले बताएका छन्।
खालिदा १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुईपटक बंगलादेशको प्रधानमन्त्री भएकी थिइन्। उनी १९८१ मा बंगलादेशका राष्ट्रपति बनेका जियाउर रहमानकी पत्नी थिइन्।
श्रीमान्को हत्यापछि राजनीतिमा प्रवेश गरेकी खालिदा जियाले बीएनपीको नेतृत्व सम्हालेकी थिइन्। र, सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्।
सन् २००८ देखि लन्डनमा बसेका उनका जेठा छोरा तथा बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान यही डिसेम्बर २५ मा बंगलादेश फर्किएका छन्। अर्थात् उनी १७ वर्षपछि स्वदेश फर्किएका थिए।
खालिदाका कान्छा छोरा अराफत रहमानको भने हृदयघातका कारण सन् २०१५ मै मृत्यु भइसकेको छ।
खालिदा जियाले सोमबार (डिसेम्बर २९ मा) मात्र चुनावका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन्।
स्वास्थ्य अत्यन्तै नाजुक हुँदाहुँदै पनि बीएनपीले चुनाव लड्ने निर्णय गरेकी थिइन्।
उनी बोगुरा-७ बाट चुनाव लड्दै थिइन्। यो क्षेत्र पार्टीका संस्थापक तथा खालिदा जियाका पति जियाउर रहमानको घर भएको ठाउँ हो। खालिदाले यस सिटबाट १९९१, १९९६ र २००१ मा तीनपटक चुनाव जितेकी थिइन्।
बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना देशै छाडेर भागेपछि मोहम्मद युनुसको अन्तरिम सरकारले आगामी फेब्रुअरी १२ का लागि निर्वाचन घोषणा गरेको छ।
खालिदा जियाको पार्टीद्वारा ७ दिनको शोक घोषणा
बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले आफ्ना अध्यक्ष खालिदा जियाको निधनमा सात दिनको शोक घोषणा गरेको छ। पार्टीका वरिष्ठ सहमहासचिव रुहुल कबिर रिजवीले मंगलबार ढाकाको एभरकेयर अस्पतालमा यो घोषणा गरेका हुन्।
उनले शोक अवधिमा नयाँपल्टनस्थित बीएनपीको केन्द्रीय कार्यालय र देशभरका सबै पार्टी कार्यालयहरूमा कालो झण्डा फहराइने बताए। पार्टीका नेता तथा कार्यकर्ताहरूले सात दिनसम्म कालो पट्टी लगाउनेछन्।
यस अवधिमा देशभरका पार्टी कार्यालयहरूमा विशेष प्रार्थना र कुरान पाठ गरिनेछ। खालिदा जियाका लागि शोक सन्देश लेख्न शोक पुस्तिका राखिनेछन्। शोक पुस्तिका बीएनपीको नयाँपल्टनस्थित मुख्यालय, गुलसनस्थित अध्यक्षको कार्यालय र जिल्लास्तरीय पार्टी कार्यालयमा राखिनेछ।
खालिदाको शव उनकै पतिको चिहाननजिक गाडिने
खालिदा जियाको अन्त्येष्टि बुधबार (डिसेम्बर ३१) गरिनेछ।
बीडी न्युजका अनुसार, अन्त्येष्टि समारोह ढाकाको मानिक मिया एभिन्युमा रहेको जिया गार्डेनमा आयोजना गरिनेछ, जहाँ उनका पति तथा पूर्वराष्ट्रपति जियाउर रहमानको चिहान छ। खालिदा जियालाई पनि त्यसको छेउमा गाडिनेछ।
विदेशी डाक्टरको टोलीले गरिरहेको थियो उपचार
खालिदालाई नोभेम्बर २३ मा ढाकाको एभरकेयर अस्पतालमा भर्ना गरिएको थियो। तर उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। विदेशी डाक्टरहरूको टोली उनको उपचारमा खटिएको थियो।
उनको अवस्था बिग्रँदै गएपछि डाक्टरहरूले उनलाई आईसीयूमा सारेका थिए र डिसेम्बर ११ देखि भेन्टिलेटरमा राखेका थिए।
खालिदाका छोरा तारिक रहमानले डिसेम्बर २५ र त्यसपछि डिसेम्बर २७ मा अस्पतालमा उनलाई भेटेका थिए।
Shares

प्रतिक्रिया