बंगलादेशको इन्कलाब मञ्चका प्रवक्ता सरिफ उस्मान हादीको शव शुक्रबार सिंगापुरबाट स्वेदश ल्याइएको छ।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार उनको शव सिंगापुरबाट बंगलादेश एयरलाइन्सको विमानबाट शुक्रबार साँझ बंगलादेश ल्याइएको हो।
गत वर्ष तत्कालीन शेख हसिना सरकारविरुद्ध भएको विद्यार्थी आन्दोलनका प्रमुख नेताहरूमध्ये एक हादी यही डिसेम्बर १२ मा चुनाव प्रचारका क्रममा गोली लागेर गम्भीर घाइते भएका थिए।
उपचारका लागि सिंगापुर लगिएका उनको बिहीबार मृत्यु भएको थियो।
बंगलादेशमा आगामी फेब्रुअरी १२ का लागि तोकिएको आम निर्वाचनमा ढाका-८ संसदीय निर्वाचन क्षेत्रका सम्भावित उम्मेदवार उस्मानलाई दंगाकारीहरूले गोली हानेका थिए।
राजधानी ढाकाको विजयनगर पानी ट्यांकी क्षेत्रको बक्स कल्भर्ट रोडमा रहेका बेला गोली लागेर घाइते उनलाई सुरुमा ढाका मेडिकल कलेज लगिएको थियो। त्यहाँ तीन दिन उपचार गरेपछि उनलाई सिंगापुर लगिएको थियो, तर पनि उनको ज्यान बच्न सकेन।
उनको मृत्युसँगै बंगलादेशमा फेरि हिंसा भड्किएको छ।
Shares

प्रतिक्रिया