आज मंसिर ४ अर्थात् नोभेम्बर २० का दिन शपथ खाएसँगै नितिश कुमार लगातारजस्तै भारतको बिहार प्रदेशको दसौँपटक मुख्यमन्त्री बनेका छन्।
उनको पार्टी जनता दल युनाइटेड (जेडीयू) सम्मिलित राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले गत हप्ता सम्पन्न बिहार विधानसभा चुनावमा दुईतिहाइभन्दा बढी सिट जितेर फेरि सत्तामा फर्किएपछि नितिशले मुख्यमन्त्री पदमा निरन्तरता पाएका हुन्।
बिहार विधानसभाका २४३ सिटमध्ये एनडीएले २०२ सिट जितेको हो।
नितिश पहिलोपटक मुख्यमन्त्री बन्दा...
नितिशले बिहारको मुख्यमन्त्रीका रूपमा पहिलोपटक सन् २००० मा शपथ खाएका थिए। जतिबेला उनी समता पार्टीको हिस्सा थिए। तर उनको त्यो कार्यकाल केवल ७ दिन टिक्यो। किनकि सरकारले सत्तामा रहिरहन संसद्मा पर्याप्त गणितीय संख्या जुटाउन सकेन।
यसपछि सन् २००५ मा आफ्नो पार्टी जेडीयूलाई भाजपासँग गठबन्धन गर्दै पूर्ण बहुमत प्राप्त गरे र सत्तामा फर्किए। २०१० मा गठबन्धनले अझ बलियो जनादेशका साथ सत्ता कायम राख्यो, नितिशलाई फेरि बिहार सरकारको नेतृत्वमा पुर्यायो।
जब भाजपासँगको सम्बन्ध तोडियो...
सन् २०१३ मा नरेन्द्र मोदीलाई प्रधानमन्त्री पदको उम्मेदवार घोषणा गरिएपछि नितिश कुमारले भाजपासँगको सम्बन्ध तोडेका थिए। तर प्रतिद्वन्द्वी राष्ट्रिय जनता दल र कंग्रेसको बाहिरी समर्थनमा सत्तामा रहिरहे। २०१४ को लोकसभा चुनावमा उनको पार्टीले एक्लै चुनाव लड्यो र हार्यो। यो पराजयको नैतिक जिम्मेवारी लिँदै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिए र तत्कालीन पार्टीका सहकर्मी जितन राम मांझीलाई सत्ताको बागडोर सुम्पिए।
नितिशको शक्ति परीक्षण
मुख्यमन्त्रीका रूपमा मांझीको कार्यकाल लगभग एक वर्ष मात्र टिक्यो, किनकि नितिश कुमार सन् २०१५ को चुनावअघि सत्तामा फर्किए र आरजेडी र कंग्रेससँग महागठबन्धन बनाए। महागठबन्धनले चुनाव जित्यो र नितिश फेरि मुख्यमन्त्री बने।
फेरि भाजपासँगै
सन् २०१७ मा नितिशले महागठबन्धनसँगको सम्बन्ध तोडेर आफ्नो सरकार भंग गरे। त्यसको केही समयपछि भाजपासँग गठबन्धन गर्दै उनी फेरि मुख्यमन्त्री बने। २०२० मा एनडीएले साधारण बहुमत हासिल गर्यो। जेडीयूको सिट ४३ मा झर्यो र भाजपाको सिट ७४ पुग्यो, तर चुनावपछि गठबन्धनले नितिशलाई नै मुख्यमन्त्री कायम राख्ने निर्णय गर्यो।
२०२२ मा नितिशले फेरि सरकार भंग गरे, भाजपासँगको सम्बन्ध तोडे र फेरि आरजेडी र कंग्रेससँग गठबन्धन गरे। त्यसको केही समयपछि उनले आफ्ना पूर्वप्रतिद्वन्द्वीहरूको समर्थनमा फेरि मुख्यमन्त्रीका रूपमा शपथ खाए। यो सरकार मुस्किलले १७ महिना टिक्यो, किनकि नितिशले फेरि महागठबन्धनसँगको सम्बन्ध तोडेर २०२४ को सुरुमा भाजपासँग गठबन्धन गरे। त्यसपछि उनी फेरि मुख्यमन्त्री बने।
अहिले फेरि भाजपासहितको एनडीएले चुनाव जितेपछि उनी दसौँपटक बिहारको मुख्यमन्त्री बने।
यस्तो छ अहिलेको बिहार मन्त्रिपरिषद्
मुख्यमन्त्री: नितिश कुमार (जनता दल युनाइटेड- जेडीयू)
२६ मन्त्रीको सूची
भाजपा
सम्राट चौधरी
विजय कुमार सिन्हा
दिलीप जैसवाल
मंगल पाण्डे
रामकृपाल यादव
नितिन नवीन
सञ्जय सिंह टाइगर
अरुण शंकर प्रसाद
सुरेन्द्र मेहता
नारायण प्रसाद
रमा निषाद
लखेन्द्र सिंह रोशन
श्रेयसी सिंह
प्रमोद कुमार
जनता दल युनाइटेड
विजयकुमार चौधरी
बिजेन्द्र प्रसाद यादव
श्रवण कुमार
अशोक चौधरी
लेशी सिंह
मदन साहनी
सुनिल कुमार
मोहम्मद जमा खान
लोक जनशक्ति पार्टी (रामविलास)
सञ्जय कुमार
सञ्जय कुमार सिंह
हिन्दुस्तानी अवाम मोर्चा
सन्तोष सुमन (जितनराम माझीका छोरा)
राष्ट्रिय लोक मोर्चा
दीपक प्रकाश (उपेन्द्र कुशवाहाका छोरा)
(भारतीय सञ्चारमाध्यमको सहयोगमा)
Shares

प्रतिक्रिया