बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले आफ्नी आमाको मृत्युदण्डको सजायसँग सम्बन्धित सबै कुरा गैरकानुनी भएको दाबी गरेका छन्।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सोमबार शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। यो निर्णयपछि बंगलादेशले भारतबाट शेख हसिनाको सुपुर्दगीको माग गरेको छ।
समाचार एजेन्सी एएनआईले उनका छोरा सजीव वाजेदसँग शेख हसिनाको सुपुर्दगी र बंगलादेशको राजनीतिक संकटमा भारतको भूमिकाबारे कुरा गरेको छ।
वाजेदले भनेका छन्, 'भारत सधैँ असल मित्र रहेको छ। संकटको समयमा भारतले मेरी आमाको ज्यान बचायो। यदि उनले बंगलादेश नछाडेको भए, अतिवादीहरूले उनको हत्या गर्ने योजना बनाएका थिए। त्यसैले मेरी आमाको ज्यान बचाएकामा म प्रधानमन्त्री मोदीको सरकारप्रति सधैँ आभारी रहनेछु।'
शेख हसिनाको सुपुर्दगीबारे उनले भने, 'सुपुर्दगीका लागि न्यायिक प्रक्रिया पालना गर्नु आवश्यक छ। बंगलादेशमा कुनै निर्वाचित सरकार छैन, यो असंवैधानिक र अवैध सरकार हो।'
उनले भनेका छन्, 'मेरी आमालाई दोषी ठहराउन र उनको मुद्दा छिटो चलाउन कानुन संशोधन गरिएको थियो। तपाईं संसद् बिना कानुन संशोधन गर्न सक्नुहुन्न; यसको अर्थ कानुन गैरकानुनी रूपमा संशोधन गरिएको थियो।'
यस्तै वाजेदले आफ्नी आमाका पक्षमा बहसका लागि वकिल राख्ने अनुमति पनि नदिइएको बताएका छन्।
उनलेे भनेका छन्, 'हाम्रा वकिललाई अदालतमा प्रवेश गर्न पनि अनुमति थिएन।'
उनको दाबी छ, 'जब सबै कुरा अवैध रूपमा भएको छ, कुनै पनि देशले सुपुर्दगी गर्ने छैन, सुपुर्दगीका लागि उचित प्रक्रिया पालना गर्नुपर्छ।'
Shares

प्रतिक्रिया