ग्लोबल


लालु यादवकी छोरी रोहिणीले राजनीतिसँगै परिवार त्याग्ने घोषणामा के भन्छन् भाजपा नेता?

लालु यादवकी छोरी रोहिणीले राजनीतिसँगै परिवार त्याग्ने घोषणामा के भन्छन् भाजपा नेता?

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार ५:३६, काठमाडौँ

आरजेडी नेता तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवकी छोरी रोहिणी आचार्यले आफ्नो परिवारसँगै राजनीति छाड्ने घोषणा गरेकी छन्।

रोहिणी आचार्यले सञ्चारमाध्यमसँग भनेकी छन्, ‘मेरो कुनै परिवार छैन। अब तपाईं गएर सञ्जय, रमिज र तेजस्वी यादवलाई सोध्नुहोस्। मेरो कुनै परिवार छैन। मलाई परिवारबाट निकाल्ने उनीहरू नै हुन्, किनकि उनीहरू जिम्मेवारी लिन चाहँदैनन्। सिंगो देश र संसारले प्रश्न गरिरहेको छ- पार्टी किन यो अवस्थामा पुग्यो?’

यसअघि रोहिणी आचार्यले सामाजिक सञ्जालमार्फत पनि राजनीति र आफ्नो परिवारसँग नाता तोडिएको उल्लेख गरेकी थिइन्।

उनले लेखेकी छन्, ‘म राजनीति छाड्दै छु र आफ्नो परिवारसँग सम्बन्ध तोड्दै छु। सञ्जय यादव र रमिजले मलाई यसो गर्न भनेका हुन्। सबै दोष म लिइरहेको छु।’

भारतीय राज्य बिहारमा भर्खरै सम्पन्न विधानसभा चुनावमा राष्ट्रिय जनता दल (आरजेडी) को लज्जास्पद हारपछि रोहिणीले उक्त घोषणा गरेकी हुन्। 

चुनावमा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले २०२ सिट जित्दा कंग्रेस नेतृत्वको महागठबन्धन तथा राष्ट्रिय जनता दल (आरजेडी) भने ३४ सिटमा सीमित भएका छन्। अन्य दलले ७ सिट जितेका छन्।

उल्लेखनीय छ- बिहार विधानसभा चुनावको केही समयअघि मात्र लालु यादवले आफ्ना जेठो छोरा तेज प्रतापलाई पार्टी र परिवार दुवैबाट निष्कासन गरेका थिए।

यसपछि उनले जनशक्ति जनता दल गठन गर्दै महुआ विधानसभा सिटमा चुनाव लडे, तर हारे मात्र होइन, तेस्रो स्थानमा झरे

रोहिणी आचार्यले गत वर्ष सारण लोकसभा सिटमा चुनाव लडेकी थिइन्, तर भाजपा उम्मेदवार राजीव प्रताप रुडीसँग हारेकी थिइन्।

बीबीसी हिन्दीका अनुसार राजनीतिसँगै परिवार पनि त्याग्ने उनको घोषणाबारे सोध्दा राजीवप्रताप रुडीले भने, ‘यो पारिवारिक मामिला हो। उनी केही निराशा महसुस गरिरहेका हुन सक्छन्। तर मलाई लाग्छ- आरजेडी र परिवार टुक्रिरहेका छन् र संकेत राम्रो छैन।’

‘म उनको पार्टी वा परिवारबारे टिप्पणी गर्न चाहन्नँ। तर आरजेडीमाथि ठूलो संकट आइपरेको छ र पार्टी पूर्ण रूपमा विघटन भएको छ।’

बिहार भाजपा प्रदेश अध्यक्ष दिलीप जयसवालले भने, ‘यो लालु यादवको परिवारको आन्तरिक मामिला हो। म अनुरोध गर्दछु- परिवार टुक्रिनु हुँदैन। यदि एक व्यक्तिका कारण परिवार टुक्रिरहेको छ भने यो ठिक होइन।’

"लालु यादव र राबडी देवीले यो परिवारलाई बचाउनुपर्छ। यो पारिवारिक मामिला हो, त्यसैले यसमा धेरै टिप्पणी गर्नु उचित छैन।"

भाजपा नेता सञ्जय जयसवालले भने, ‘तेजस्वी यादवको पैसा व्यवस्थापन गर्नेहरू परिवारसँग नजिक भएका छन्। यदि तपाईंले अनुचित माध्यमबाट पैसा कमाउनुभयो भने तपाईंको परिवार सबैभन्दा पहिले विघटन हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad