थाइल्यान्डका नवनिर्वाचित प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आइतबार पदभार ग्रहण गरेका छन्।
थाई समाचार एजेन्सीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरमा प्रधानमन्त्री अनुतिन राजा महा वजिरालोङकोर्नको तस्बिरअगाडि झुकेका छन्।
‘महामहिम राजाले अबदेखि श्री अनुतिन चार्नविराकुललाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्नुभएको छ’, थाइल्यान्डको संसद्को तल्लो सदनका महासचिव अर्पथ सुखानुन्थले बैंककस्थित अनुतिनको भुमजाइथाई पार्टीको मुख्यालयमा आयोजित समारोहमा शाही आदेश वाचन गर्दै घोषणा गरे।
५८ वर्षीय अनुतिनले यसअघि उपप्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीका रूपमा काम गरिसकेका छन्।
उनी दुई वर्षको अवधिमा देशका तेस्रो प्रधानमन्त्री बनेका हुन्।
चार महिनाभित्र संसद् भंग गरेर चुनाव गराउने सर्तमा उनले बढी प्रभावशाली र प्रगतिशील पिपुल्स पार्टीको समर्थनमा सत्ता हात पारेका हुन्।
गत शुक्रबार सदनमा भएको मतदानबाट अनुतिन चार्नविराकुल प्रधानमन्त्री चुनिएका हुन्। भुमजैथाई पार्टीका नेता उनले ४९२ सांसदमध्ये ३११ मत प्राप्त गरेका हुन्।
अनुतिनले उदारवादी ‘पिपल्स पार्टी’को समर्थनमा लोकप्रिय ‘फ्यु थाई’ पार्टीका उमेदवार चैकासेम नितिसिरीलाई हराएका हुन्। चैकासेमले जम्मा १५२ मत पाए। २७ सांसद भने तटस्थ बसे।
योसँगै अनुतिनले लोकप्रिय सिनावात्रा परिवारको फेउ थाई पार्टीलाई सत्ताबाट हटाएका छन्।
सो पार्टीले सन् २०२३ को चुनावदेखि नै कार्यकारी सत्तामा पकड जमाइरहेको थियो।
तर यसको वंशानुगत नेत्री पेटोङटार्न सिनावात्रालाई गत महिना अदालतको आदेशमार्फत प्रधानमन्त्री पदबाट बर्खास्त गरिएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया