ग्लोबल


युक्रेनसँग सहमति गर्न पुटिनलाई २ साताको अल्टिमेटम

युक्रेनसँग सहमति गर्न पुटिनलाई २ साताको अल्टिमेटम

नेपालखबर
भदौ ७, २०८२ शनिबार ११:३३, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसलाई २ साताको समयसीमा (अल्टिमेटम) दिएका छन्। 

ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ कुनै ठोस प्रगति भएन भने रुसविरुद्ध कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका हुन्। 

यही अगस्ट १५ मा अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेको एक हप्तापछि ट्रम्पले उक्त अभिव्यक्ति दिएका हुन्। 

शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘म चाँडै निर्णय गर्नेछु। यो धेरै महत्त्वपूर्ण निर्णय हुनेछ, चाहे त्यो ठूलो मात्रामा प्रतिबन्ध होस्, कर होस् वा दुवै। अथवा हामी यो पनि भन्न सक्छौँ- यो अमेरिकाको लडाइँ होइन, यो तपाईंको लडाइँ हो।’

उनले युक्रेनस्थित अमेरिकी कारखानामा रुसले हालै गरेको आक्रमणप्रति आक्रोश पनि व्यक्त गरे। आक्रमणबाट कारखानामा आगलागी भएको थियो र धेरै कर्मचारी घाइते भएका थिए।

ट्रम्पले भने, ‘म यसबाट खुसी छैन, युद्धसँग सम्बन्धित कुनै पनि कुराबाट।’

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले थपे, ‘रुस-युक्रेन युद्धमा जे भइरहेको छ त्यसबाट म खुसी छैन। यो कुन दिशामा जान्छ भन्ने कुरा अर्को दुई हप्तामा स्पष्ट हुनेछ।’

ट्रम्पले रुसका राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटघाटका विषयमा पनि बताए। 

उनले भने, ‘म चाहन्छु- दुई नेता सँगै बसून्। यदि उनीहरूले यसो गरेनन् भने मैले यसो किन भयो भनेर हेर्नुपर्छ।’

यस क्रममा ट्रम्पले आफ्नै कार्यकालमा सात युद्ध रोकेको र तीन सम्भावित युद्ध टारेको दाबी पनि गरे। 

यसअघि युक्रेन युद्धकै विषयमा ट्रम्पसँग छलफल गर्न अगस्ट १८ मा युक्रेनका राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरू ह्वाइट हाउस पुगेका थिए।

उक्त भेटवार्तापछि ट्रम्पले पुटिन-जेलेन्स्की बैठकका लागि चाँजोपाँचो मिलाउन सुरु गरिएको बताएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad