ad ad

ग्लोबल


पुटिनले भारत र मोदीले रुस भ्रमण नगर्नुको अर्थ के हो?

पुटिनले भारत र मोदीले रुस भ्रमण नगर्नुको अर्थ के हो?

नेपालखबर
पुस १०, २०८० मंगलबार १२:५, काठमाडौँ

भारतका विदेशमन्त्री एस. जयशंकर रुसको पाँच दिने भ्रमणमा छन्।

दुई देशबीचको वार्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नभएको यो लगातार दोस्रो वर्ष हो। त्यसैले जयशंकरको भ्रमण चर्चामा छ।

भारत र रुसबीच शीर्ष नेताको स्तरमा वार्षिक सम्मेलन हुने गरेको छ। जसमा एक वर्ष रुसी राष्ट्रपति भारत आउँछन् भने अर्को वर्ष भारतीय प्रधानमन्त्री रुस जान्छन्। रुस र भारतमा गरी दुई देशबीच हालसम्म २१ वटा वार्षिक सम्मेलन भइसकेका छन्। 

यद्यपि पछिल्लो सम्मेलन ६ डिसेम्बर २०२१ मा नयाँ दिल्लीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा रहेका बेला भएको थियो। कोभिड महामारीका कारण यो वार्षिक बैठक २०२० मा हुन सकेन।

गत वर्ष फेब्रुअरीमा युक्रेन युद्ध सुरु भयो, त्यसपछि प्रधानमन्त्री मोदीले २०२२ मा रुस भ्रमण गरेनन्। यसैबीच, भ्लादिमिर पुटिन पनि यस वर्ष सेप्टेम्बरमा जी–२० देशहरूको सम्मेलनमा भाग लिन भारत आएनन्। प्रधानमन्त्री मोदीको अन्तिम रुस भ्रमण सेप्टेम्बर २०१९ मा भएको थियो।

किन स्थगन भयो प्रधानमन्त्री मोदीको भ्रमण?

२०१९ मा जापानमा भएको जी–२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री मोदी (बीचमा), रुसका राष्ट्रपति भ्लादिमिर पुटिन (बायाँ) र चीनका राष्ट्रपति सी चिनफिङ (दायाँ)

यसपटक वार्षिक सम्मेलनमा सहभागी हुन रुस जाने पालो प्रधानमन्त्री नरेन्द्र मोदीको थियो। तर उनी लगातार दोस्रो वर्ष पनि यसमा सहभागी भएनन्। यो वर्ष सकिन चार दिन मात्रै बाँकी छ।

तर, यसको ठोस कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन।

तर रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै बैठकको ‘मिति’ तय गर्नु सबैभन्दा ठूलो चुनौती रहेको बताइएको छ।

रुसबाट कूटनीतिक करियर सुरु गरेका एस जयशंकर अहिले रुसी नेताहरूलाई भेट्न मस्को पुगेका छन्। भ्रमणका क्रममा उनले सेन्ट पिटर्सबर्ग पनि जानेछन्।

तर, इन्डियन एक्सप्रेसको रिपोर्टले प्रधानमन्त्री मोदी रुस नजानु र विदेशमन्त्री एस जयशंकर त्यहाँ पुग्नुको पछाडिको संकेत बताउँदै लेखेको छ, ‘अमेरिकी प्रतिबन्धको सामना गरिरहेको रुसको भ्रमण नगरेर प्रधानमन्त्री मोदीले पश्चिमलाई संकेत दिइरहेका छन्, जहाँ जयशंकरको भ्रमणले दिल्लीले आफ्नो पुरानो रणनीतिक साझेदारलाई छाडेको छैन भन्ने रुसलाई संकेत हो।’

गत वर्ष, जब भारतीय प्रधानमन्त्री मोदीले रुस भ्रमण गरेनन्, धेरै मिडिया रिपोर्टले यसलाई युक्रेनमा आणविक हतियार प्रयोग गर्ने रूसको धम्कीसँग जोडे। ब्लुमबर्गले आफ्नो रिपोर्टमा भ्लादिमिर पुटिनले युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्ने धम्की दिएपछि प्रधानमन्त्री मोदीले रुसमा हुने सम्मेलन रद्द गरेको दाबी गरेको थियो।

तर समाचार एजेन्सी रोयटर्सले केही स्रोतलाई उद्धृत गर्दै यो दाबी अस्वीकार गरेको छ।

रोयटर्सले आफ्नो रिपोर्टमा भनेको छ, ‘सम्मेलनमा भाग नलिने निर्णय धेरै पहिले नै लिइएको थियो र परमाणु कोणसँग यसको कुनै सम्बन्ध छैन।’

यस वर्षको एक रिपोर्टमा ब्लुमबर्गले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै प्रधानमन्त्री मोदीले जी–२० सम्मेलनमा रुस र चीनका राष्ट्रपति अनुपस्थित भएकामा दुःख व्यक्त गरेको उल्लेख गरेको छ। 

जी–२० शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री मोदीको भेटवार्तापछि ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद् इन्डो–प्यासिफिक संयोजक कर्ट क्याम्पबेलले भनेका थिए, ‘हाम्रा भारतीय साझेदारका लागि उनीहरू यहाँ नआउनु ठूलो निराशाको कुरा हो। हामी यहाँ छौँ, आभारी छौँ।’ 

पुटिन भारत नआउँदा प्रश्न


युक्रेनमा रुसी आक्रमणपछि पुटिनले धेरै देशको भ्रमण गरे तर भारत आएनन्। उनले चीन, साउदी अरेबिया, यूएई र मध्य एसियाका धेरै देश भ्रमण गरे तर भारत भ्रमण गरेनन्। यस्तो अवस्थामा धेरै किसिमका प्रश्न उठिरहेका छन्।

थिंक ट्याङ्क कार्नेगी मस्कोका पूर्व निर्देशक दिमित्री ट्रेनिनले द डिप्लोम्याटलाई दिएको अन्तर्वार्तामा चीन र रुसको बढ्दो निकटताले भारतमा निश्चित रूपमा प्रभाव पार्ने बताएका थिए।

दिमित्री ट्रेनिनले सोही अन्तर्वार्तामा भनेका थिए, ‘सैद्धान्तिक रूपमा भारत चीनको जस्तै रुसको रणनीतिक साझेदार हो। तर रुस र भारतबीचको व्यापार चीन र रुसको तुलनामा व्यापारको दशांश हो। भारत अमेरिकाको नजिक हुँदै गइरहेको छ र यो रुसका लागि मुद्दा बन्नु हुँदैन। भारत आफ्नो वैदेशिक सम्बन्धलाई कुनै एक देशमा सीमित राख्न चाहँदैन।’

दिमित्रीले भने, ‘रुसबाट भारतलाई हतियार आपूर्तिको क्षेत्रमा अमेरिकाको हस्तक्षेप बढ्दै गएको देखिन्छ। भारत र रुसमा दुईवटा समस्या छन्। पहिलो, दुई देशबीचको सम्बन्धमा पर्याप्त विश्वास भए पनि सरकारी स्तरमा सहयोग बढी छ। निजी क्षेत्रमा विस्तार भएन भने यो सम्बन्ध धेरै फराकिलो हुनेछैन।’

‘भारतको अर्थतन्त्रमा सरकारको त्यति नियन्त्रण छैन, जति निजी क्षेत्रको छ। यस्तो अवस्थामा दुई देशबीचको सम्बन्ध सरकारी दायराभन्दा बाहिर जानुपर्छ। दोस्रो समस्या भनेको चीन र भारतबीच द्वन्द्व बढ्दै गएको छ। दुवै देश रुसका घनिष्ठ साझेदार हुन् तर रुस मध्यस्थता गर्ने अवस्थामा छैन।’

चीनले आफ्नो परराष्ट्र नीतिलाई ‘थ्रि नो’द्वारा परिभाषित गरेको छ। यी तीन कुरा हुन्, ‘(नो अलायन्स) कुनै गुट छैन, (नो कन्फ्रटेसन) कुनै टकराव छैन र (नो टार्गेटिङ थर्ड पार्टीज) कुनै तेस्रो पक्षप्रति लक्षित छैन। यी तीनै ‘नो’ डेङ सियाओपिङको समयका हुन्। तर भारत र चीनबीच द्वन्द्व छ तर रुस यसमा कुनै पनि पक्ष लिन चाहँदैन।’ 

भारत र रुसबीचको द्विपक्षीय व्यापार बढेर सन् २०२२ को अप्रिलसम्ममा २७ अर्ब डलर पुगेको छ तर यो पूर्णतया एकतर्फी छ। रुसका लागि भारतीय राजदूत पवन कपुरले पनि यो कुरा स्वीकार गरेका छन्।

पवन कपूरले रुस–भारत व्यापार संवाद फोरममा २७ अर्ब डलरमध्ये भारतको निर्यात दुई अर्ब डलर मात्रै भएको बताएका थिए। आर्थिक वर्ष २०२१-२२ मा भारत र रुसबीचको द्विपक्षीय व्यापार १३ अर्ब डलर थियो।

१३ अर्बदेखि २७ अर्ब डलरसम्मको सबैभन्दा ठूलो योगदान भारतको तेल र मल आयातको हो। गत वर्ष फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि भारतले रुसबाट सस्तो तेल लिन थालेको थियो।

भारत र रुसको सम्बन्ध

जयशंकरले रुस भ्रमणका क्रममा विशेष ट्विट गरेका छन्। उनले आफ्नो बाल्यकालको सम्झना सार्वजनिक गरेका छन्।

यो सन् १९६२ मा रुसमा अन्तरिक्ष यात्रीहरूको सम्मानमा आयोजित कार्यक्रमका लागि एक प्रवेश पास थियो। त्यतिबेला जयशंकर ७ वर्षका मात्र थिए।

यससँगै जयशंकरले आफ्नो वर्तमान भ्रमणको तस्बिर पनि ट्विट गर्दै लेखेका छन्, ‘कसरी सुरु भयो र अहिले कसरी चलिरहेको छ?’

कूटनीतिज्ञका रूपमा जयशंकरले सन् १९७८ मा मस्कोस्थित भारतीय दूतावासमा पहिलो पोस्टिङ पाएका थिए।

यस भ्रमणका क्रममा जयशंकरले रुसका उपप्रधानमन्त्री तथा उद्योग-व्यापारमन्त्री डेनिस मान्तुरोभसँग भेट गर्नेछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो दुई वर्षमा धेरै देशको भ्रमण गरे। तर रुस नजानु बढी महत्वपूर्ण मानिएको छ। 

रक्षा क्षेत्रमा रुससँग भारतको लामो र व्यापक सहयोग छ। रुसी रक्षा उपकरणमा भारतको निर्भरता पनि लुकेको छैन।

भारत अझै पनि रक्षा क्षेत्रमा ६० देखि ७० प्रतिशत सामानका लागि रुसमाथि निर्भर छ । तर, भारतले यो अवस्थालाई बदल्ने प्रयास गरिरहेको छ।

रुस–युक्रेन युद्ध सुरु भएदेखि भारतले पनि रुसबाट सहुलियत दरमा कच्चा तेल खरिद गरिरहेको छ र यसमार्फत देशमा बढ्दो तेलको मूल्यलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ।

द हिन्दूको एक रिपोर्टमा भनिएको छ– बैठकमा रुपैयाँ–रुबल भुक्तानी संयन्त्रमा भएको अनियमितताबारे छलफल हुनेछ। साथै दुई देशबीच व्यापार, ऊर्जा, रक्षा र कनेक्टिभिटीका विषयमा द्विपक्षीय वार्ता हुनेछ।

रुसले युक्रेनमा गरेको आक्रमणको भारतले खुलेर विरोध गरेको छैन।

यद्यपि, यसले बोउचामा भएको नरसंहारको निन्दा गरेको छ र रुसी नेताहरूले गरेको आणविक हमलाको धम्कीको बारेमा चिन्ता पनि व्यक्त गरेको छ।

अर्कातर्फ पुटिनले भारतको अडानको धेरै पटक प्रशंसा गरेका छन्। उनले कैयौँ अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक रूपमै तारिफ गरेका छन्।

भारतले यो संकट कूटनीति र वार्ताबाट समाधान गर्नुपर्ने कुरा पटक–पटक भनिरहेको छ। भारतीय प्रधानमन्त्री मोदीले गत वर्ष सेप्टेम्बरमा पुटिनलाई ‘यो युद्धको समय होइन’ भनेका थिए।

आणविक उर्जाको शान्तिपूर्ण उपयोगको क्षेत्रमा रुस भारतको महत्वपूर्ण सहयोगी पनि हो।

कुडनकुलम आणविक ऊर्जा प्लान्ट (केएनपीपी) यस क्षेत्रमा भारत र रुसबीचको एक प्रमुख परियोजना हो। केएनपीपीको पहिलो र दोस्रो एकाइ सञ्चालन भइसकेका छन्। यसैबीच ३,४,५ र ६ नम्बर युनिटमा काम भइरहेको छ। अन्तरिक्ष क्षेत्रमा भारत र रुसबीचको सहकार्य पनि वर्षौं पुरानो हो। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .