ग्लोबल


एपस्टिन फाइलमा ट्रम्पकी पत्नीको वृत्तचित्र निर्देशक पनि युवतीसँग देखिए

एपस्टिन फाइलमा ट्रम्पकी पत्नीको वृत्तचित्र निर्देशक पनि युवतीसँग देखिए

युवतीसँग जेफ्री एपस्टिन बायाँ र निर्देशक ब्रेट रेटनर (दायाँ)


नेपालखबर
माघ १९, २०८२ सोमबार ७:५३, काठमाडौँ

यौन अपराध मुद्दामा जेल बसेकै बेला मृत्यु भएका अमेरिकी नागरिक जेफ्री एपस्टिनसँग सम्बन्धित एकपछि अर्को फाइल जारी गरिरहेको अमेरिकाको न्याय विभागले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी अर्थात् अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको नयाँ वृत्तचित्रका निर्देशकको तस्बिर सार्वजनिक गरेको छ। 

तस्बिरमा सोफामा बसेका निर्देशक ब्रेट रेटनर र एपस्टिनले एक/एक युवतीलाई अँगालो मारिरहेका छन्। दुवै युवतीको पहिचान भने गोप्य राखिएको छ।

निर्देशक रेटनरले यसअघि फिल्म शृङ्खला ‘रस आवर’ र ‘एक्स-मेन: द लास्ट स्ट्यान्ड’ निर्देशन गरिसकेका छन्।

तस्बिर कहिले खिचिएका थिए भन्ने कुरा स्पष्ट छैन। यद्यपि उक्त तस्बिर डिसेम्बरमा जारी गरिएका केही तस्बिरजस्तै स्थानमा देखिन्छ।

यस विषयमा प्रतिक्रिया लिन निर्देशक ब्रेट रेटनरका प्रतिनिधिलाई सम्पर्क गरिएको बीबीसीले जनाएको छ। 

जारी तस्बिर जेफ्री एपस्टिनसँग सम्बन्धित लाखौँ फाइलका अंश हुन्।

यो प्रकरणमा माइक्रोसफ्टका सह-संस्थापक तथा अर्बपति बिल गेट्स पनि मुछिएका छन्।

यस्तो छ एपस्टिन प्रकरणको पूरा कथा

यो कथा सन् २००५ मा तब सुरु भयो जब फ्लोरिडामा एक १४ वर्षीया बालिकाकी आमाले प्रहरीमा जाहेरी दर्ता गरिन्।

जाहेरीमा उनले भनेकी थिइन्, मेरी छोरीलाई मसाजको बहानामा एपस्टिनको विलासी घरमा बोलाइयो र यौन सम्बन्ध राख्न दबाब दिइयो।

जाहेरीअनुसार घर फर्केपछि पीडित बालिकाले आफ्ना आमा-बाबुलाई यो कुरा सुनाइन्।

जेफ्री एपस्टिनविरुद्ध त्यो पहिलो आधिकारिक जाहेरी थियो।

तर प्रहरीले अनुसन्धान गर्ने क्रममा उनले यो मात्र नभएर यस्तै प्रकृतिका अन्य अपराध पनि गरेको कुरा खुल्यो।

बिस्तारै एपस्टिनविरुद्ध यस्तै आरोप लगाउने ५० जना नाबालिग पहिचान भए।

पामबिच प्रहरी विभागले यो विषयलाई गम्भीरतापूर्वक लिएर धेरै महिनासम्म अनुसन्धान गर्‍यो। यसपछि एपस्टिनविरुद्ध आपराधिक अनुसन्धान सुरु भयो।

अनुसन्धानले म्यानहट्टन र पामबिचमा एपस्टिनका विलासी आवास रहेको खुलासा भयो। जहाँ एपस्टिनले धेरै जना प्रमुख सेलेब्रिटी सहभागी गराई हाई-प्रोफाइल पार्टी आयोजना गर्थे। 

जुन पार्टीमा उनले कलिला किशोरीहरूलाई निजी जेट ‘लोलिता एक्सप्रेस’ चढाएर ल्याउँथे।

अनि पैसा र गहना वा धम्की दिएर उनीहरूलाई जबरजस्ती शारीरिक सम्बन्ध राख्न लगाउँथे। यस कार्यमा उनलाई प्रेमिका एवं पार्टनर गाइजलेन म्याक्सवेलले सहयोग गर्थिन्।  

 

आफ्नी प्रेमिकासँग जेफ्री एपस्टिन (फाइल फोटो)

यद्यपि दोषी ठहरिए पनि उनले लामो समय जेल बस्नु परेन। 

उनको प्रभाव यति थियो कि सन् २००८ मा उनलाई केवल १३ महिनाको सजाय त सुनाइयो यसमा पनि उनी जेल बाहिर काम गर्न पाउँथे।

को थिए जेफ्री एपस्टिन?

जेफ्री एपस्टिन न्युयोर्कका एक करोडपति फाइनान्सर थिए। उनको उठबस प्रमुख राजनीतिकर्मी र सेलेब्रिटीसँग हुन्थ्यो। 

उनीविरुद्ध सुरुमा सन् २००५ मा एक नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोप लाग्यो। २००८ मा उनी दोषी ठहरिए र १३ महिना जेल सजाय भोगे।

यसपछि सन् २०१९ मा उनलाई यौन बेचबिखनको आरोपमा फेरि पक्राउ गयो। तर मुद्दा चलाउनुअघि नै उनले जेलमै आत्महत्या गरे।

उनको गर्लफ्रेन्ड म्याक्सवेललाई भने सन् २०२१ मा उनलाई सहयोग गरेको कसुरमा दोषी ठहर्‍याइएको थियो। उनी अहिले २० वर्षको जेल सजाय भोगिरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad